आसन्न संकट र अतिवादी सल्बलाहट- प्रदीप ज्ञवाली

१० चैत्र २०६८, शुक्रबार १९:३३ मा प्रकाशित

ल राजतन्त्रका बिषयमा दुई धु्रवमा उभिएका पूर्व पञ्चहरूका पार्टी– राप्रपा, राजपा र राप्रपा नेपालबीच पार्टी एकताको अभियानमा नाटकीय तीव्रता।
ल वर्तमान सरकारलाई जसरी पनि हटाइछाड्ने र संविधानसभाबाट ‘जनसंविधान’ नबने सडकबाटै त्यस्तो संविधान घोषणा गर्ने र ‘जनविद्रोह’मा उत्रिने माओवादी वैद्य पक्षको घोषणा।
ल आफूले भने जस्तो ‘स्वायत्त मधेस प्रदेश’ सहितको सङ्घीयता भएन भने आफूहरूलाई मान्य नहुने र त्यस अवस्थामा काठमाडौंलाई ‘नाकाबन्दी गरिदिने’ कतिपय मधेसी नेताको ध्रम्की।
ल २०४७ सालको संविधान ब्युँताउनु पर्ने शेरबहादुर देउवाको जिकिर।

जेठ १४ आउन सत्तरी दिनभन्दा कम समय बाँकी रहँदा देखा पर्न थालेका यस्ता सल्बलाहटले गर्ने स्पष्ट सङ्केत हो– हामी सङ्कटको मुखतिर धकेलिंदै छौं। भुइँचालोको पूर्व सङ्केत पाएका कमिलाहरू त्यसभन्दा अगावै रुख चढ्न थाल्दै त्यसबारे जानकारी दिन्छन् रे! संविधान बन्दैन भन्ने पूर्वानुमान गर्दै जेठ १४ पछिको अवस्थामा आ–आफ्नो मोर्चा सम्हाल्ने गरी दक्षिणपन्थी र उग्रवामपन्थी अतिवादीहरू, अनि बिखण्डनकारी र यथास्थितिवादी प्रवृत्तिको यो सल्बलाहट अस्वाभाविक चाहिं होइन। त्यसरी नै, यी उत्तरी र दक्षिणी धु्रवहरूबीच जसरी–तसरी जेठ १४ को समयसीमा घर्काउन पाए त्यसपछिको अस्तव्यस्ततामा आफ्ना स्वार्थहरूको रोटी सेकाउन पाइन्थ्यो भनेर अप्रत्यक्ष संवाद–सम्पर्क तीव्र हुनु पनि कुनै अनौठो होइन।
अस्वाभाविक र अनौठो परिघटना त यो हो– सङ्कटले ढोका ढक्ढक्याइसक्दा पनि शान्ति प्रक्रिया र परिवर्तनका संवाहक हाम्रा अभियन्ताहरूको निरपेक्षता, उदासीनता र निष्पृहता। उनीहरूको हाउभाउ र कृयाकलाप हेर्दा यस्तो लाग्छ – मानौं,मुलुकका सामु कुनै सङ्कट छैन, राजनीतिको काँधमा कुनै अप्ठ्यारो चुनौती नै छैन। सबै सामान्य, सबै नियमित। यो भयानक अज्ञानता हो कि चरम लापर्बाही? कि पर्दा पछाडि कुनै खिचडी पाकिरहेको छ?
जेठ १४ भित्र संविधान बनेन भने मुलुक बहुआयामिक, बहुकोणात्मक, बहुधु्रवीय र बहुआयामिक द्वन्द्वमा फँस्ने जोखिम स्पष्ट नै छ। परिवर्तनको जनादेशलाई संस्थागत गर्न नसक्दा र जनताको भावनालाई सम्मान गर्न नसक्दा जनता क्षुव्ध र खिन्न छन्। उनीहरू राजनीतिक नेतृत्वप्रति आक्रोशित छन्। आफ्ना अयोग्यताका कारण राजनीतिक नेतृत्व स्वयंले जनतालाई अपील गर्ने, समेट्ने र अगुवाइ गर्ने राजनीतिक र नैतिक क्षमता निकै हदसम्म गुमाएको छ। अनि, राजनीतिक नेतृत्वले खालि गरेको यो रिक्तता पूर्ति गर्न यतिबेला कतिपय दलहरू आफैले मलजल हालेका जातीय–क्षेत्रीय– सांस्कृतिक र गैरराजनीतिक तत्वहरू सग्बगाइरहेका छन् र कतिपय सन्दर्भमा उनीहरू पार्टीभन्दा बलियो देखिन थालेका छन्। तर बेखबर जस्तै देखिएको छ राजनीतिक नेतृत्व यो बदलिंदो शक्ति सन्तुलन बारे।
माओवादीलाई लाग्दो हो– संविधानसभाको डुँगा डुबिहालेछ भने पनि डुब्ने त एमाले र काङ्गे्रसमात्रै त हुन् नि, मसँग त ‘विद्रोह’ को लाइफज्याकेट छ, त्यही लगाएर पार हुन्छु। तर यो भ्रम मात्रै हो। ‘विद्रोह’ का मु्ख्य स्रोतका रूपमा रहेका लडाकुहरू छिन्नभिन्न, खिन्न र स्वप्नभङ्गतााको अवस्थामा छन्– अब कुनै नेताको सङ्कीर्ण स्वार्थ पूर्तिका लागि उनीहरू बलि चढ्न सहजै तयार हुनेछैनन्। अर्को आधार थियो माओवादीप्रति जनतामा रहेको अलिकति आशा, अलिकति सद्भाव र अलिकति भ्रम, जुन पहिले प्रचण्डको नेतृत्व र अहिले डा. बाबुराम भट्टराईको कार्यसम्पादन देखेरै पर्दा उघि्रसक्यो। अर्को आधार थियो अरुका अन्तरविरोधभित्र खेल्ने र आफूभित्रका सङ्कट समाधान गर्ने सामर्थ्यमा। तर अरुभित्र खेल्दाखेल्दै माओवादी आफैभित्रका अन्तरविरोधका कारण यतिधेरै अप्ठ्यारोमा छ कि पार्टी भावनात्मक हिसाबले मात्र होइन भौतिक हिसाबले समेत चिराचिरा परेको छ। अनि, हिजो जुन जुन अन्तर्राष्ट्रिय शक्तिहरू उसका लागि सहयोगका हात बढाउन तयार थिए–उनीहरू पनि खिन्नखिन्न छन्, माओवादीलाई अर्को बाटो हिड्न उनीहरूबाट कुनै सहानुभ्ूति र सहयोग प्राप्त हुने गुञ्जायस छैन।
अनि, के को बलमा विद्रोहको यो सपना र ध्रम्की?
काङ््ग्रेसलाई लाग्दो हो– सङ्कटबाट पार हुने जादुका् छडी आफूसँग छ। सायद राज्यका परम्परागत शक्तिहरूको साथ पाउने आशा, उही पुरानै ‘प्रजातान्त्रिक शक्ति’को ब्राण्ड र माओवादी अराजकताको विकल्प बोकेर अगाडि बढ्दा अन्तर्राष्ट्रिय शक्तिहरूको पनि सद्भाव रहने विश्वास उसको मनमा हुन सक्छ। तर सबैले हेक्का राख्नु पर्ने बिषय हो–माओवादी अतिवादको पक्षमा कोही पनि छैन, तर त्यसप्रति प्रतिक्रिया मात्रै जनाएर कह्ीँ पनि पुगिदैन। उग्रवामपन्थी अतिवादको विकल्प यथास्थितिवाद हुन सक्दैन। बाह्र बु््ँदे सहमतिबाट सुरु भएको शान्ति र लोकतान्त्रीकरणको प्रक्रियालाई अधुरै छाडेर या अलपत्र पारेर उसले पनि आफूलाई सङ्कटबाट जोगाउन सक्दैन।
नेकपा (एमाले)का हकमा पनि कुरा उही हो– शान्ति र संविधानको गन्तव्यमा पुग्दा नै यसका मुद्दाहरू स्थापित हुने हुन्, यसको अनुपस्थितिमा हुने राजनीतिक धु्रवीकरणको सबैभन्दा चर्को मूल्य एमालेले नै बेहोर्नु पर्छ। ऊ त्यो धु्रवीकरणको न दक्षिणपन्थी कित्तामा उभिन सक्छ, न उग्रवामपन्थी लहडमा कुनै ‘विद्रोह’को. पछाडि नै। त्यस्तो स्थितिको चेपुवामा पर्नबाट जोगिन पनि शान्ति र संविधानलाई गन्तव्यमा पुर्‍याउनु बाहेक अर्को कुनै बाटो छैन।
त्यसैले, सम्पूर्ण शक्ति लगाएर शान्ति र संविधानलाई निष्कर्षमा पुर्‍याउनु र मुलुकलाई आसन्न सङ्कटबाट जोगाउन बाँकी दिनका प्रत्येक पललाई अधिकतम सदुपयोग गर्नु नै एकमात्र बाटो हो। माओवादी गैरजिम्मेवार देखिएको छ, तर उसको चर्को आलोचना गर्नु या उसले अगाडि सारेको कुनै प्रस्तावका वरिपरि प्रतिक्रिया दिएर मात्र पुग्दैन।
यस्तो वातावरणको निर्माण आवश्यक भइसकेको छ, जसबाट माओवादीलाई शान्ति र संविधानबाट बाहिर जानबाट रोक्न सकियोस् र आसन्न सङ्कटबाट मुलुकलाई जोगाउँदै दुर्घटनातिरको यात्राबाट सुरक्षित गर्न सकियोस्।

प्रतिक्रिया
सम्बन्धित खवर

समयको गति पनि कस्तो ? पच्छ्याउदा, पच्छ्याउदै हामी कतिबेला छुट्छौं थाहै हुन्न । आज हामी जुन गतिमा छौं । भोलि

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, भिएना, अस्ट्रिया: थोरै घाम लाग्ने युरोपमा घाम लागेको दिन मन फुरुंग हुन्छ।  केहि दिन अघि घाम लागेको

भक्त वाग्ले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एकिकरण हुंदाका दुई पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र मध्ये व्यवस्थित,अनुशासित र विधिमा