‘ड्यास माओवादी’लाई ‘अंश’ दिन ‘प्रचण्ड–माओवादी’ हिच्किचायो, सम्पत्ति नपाए भण्डाफोर गरिने

६ मंसिर २०६९, बुधबार ०९:०७ मा प्रकाशित

काठमाडौं, ६ मंसिर । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘दुश्मन शक्ति’सँग मात्र होइन ‘मित्र शक्ति’सँग गरेको वाचाबन्धन पनि पूरा नगरेको नेकपा–माओवादीका नेता तथा कार्यकर्ताहरूले ठान्न थालेका छन् । पार्टी शान्तिप्रक्रियामा आएपछि मात्र नभई युद्धकालमै गरिएका दर्जनौँ वाचा तथा सहमति पनि पूरा नगरेको उनीहरूको भनाइ छ । पार्टी अध्यक्षले गरेका वाचा पूरा नभएकोले आफूहरूले पार्टी छाडी नयाँ पार्टीको स्थापना गर्नुपरेको उनीहरूले सार्वजनिक अभिव्यक्ति नै दिएका छन् ।
अध्यक्ष प्रचण्डले पार्टीको सम्पत्ति बाँडफाँड गर्ने, लाजिम्पाटको महल छाडेर साधारण घरमा बस्ने, आफ्नो र आफन्तको नाममा रहेका सम्पूर्ण सम्पत्ति सार्वजनिक गर्ने, अयोग्य लडाकुहरूलाई पार्टीकोषबाटै रकम वितरण गर्ने, जनयुद्धकालमा गरेका सबै वाचा पूरा गर्ने, सुविधायुक्त सवारीसाधन नचढ्ने (अहिले सुविधायुक्त प्राडो चढ्ने गर्छन्) जस्ता प्रतिबद्धता जनाएका थिए । तर, ती कुनै पनि प्रतिबद्धता उनले पूरा गरेनन् । नेकपा–माओवादीका सचिव देव गुरुङले भने, ‘एमाओवादीका अध्यक्ष प्रचण्डले गरेको दर्जनौँ वाचा र प्रतिबद्धता पूरा भएको छैन । बरु तानाशाही शैलीमा उनी अघि बढ्न खोजिरहेका छन्,’ उनले थपे ।
प्रचण्डबाट ठूला मात्र नभएर सामान्य विषय पनि पूरा हुन नसकेको गुरुङको भनाइ छ । उनले थपे, ‘जनतालाई गुमराहमा राख्ने कामबाहेक अरू केही हुन सकेन ।’ प्रचण्डको शैलीबाट जनता निराश भएको र उनको साथ छाड्दै गएको गुरुङको भनाइ थियो । उनले स्थानीय जनतासँग गरेको वाचा मात्र नभएर आफूहरूसँग गरिएको प्रतिबद्धता पनि पूरा नगरेको बताए । गुरुङको भनाइ थियो, ‘हामीलाई पार्टीको नाममा रहेको सम्पत्ति बाँड्ने भनिएको थियो, तर, त्यो आजसम्म पूरा हुन सकेको छैन ।’ पार्टीको सम्पत्तिका बारेमा नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले नै एमाओवादी अध्यक्ष प्रचण्डसँग आफूहरूलाई पनि बाँड्न भनेका थिए । वैद्यको प्रस्ताव स्वीकार्दै प्रचण्डले पनि सम्पत्ति बाँड्ने प्रतिबद्धता जनाएका थिए । नेकपा–माओवादीका सचिवसमेत रहेका गुरुङले प्रतिशतकै आधारमा भए पनि आफ्नो भागमा आउने सम्पत्ति पाउनुपर्ने बताए । उनले थपे, ‘अब केही समय पर्खन्छौँ, त्यतिन्जेल पनि आफूहरूले सम्पत्ति नपाए भण्डाफोर अभियानमा लाग्छौँ ।’
सम्पत्ति बाँडफाँड गर्न उनीहरूले कार्यदल नै बनाएका थिए । तर, कार्यदलले पनि कुनै काम गर्न सकेको छैन । कार्यदलमा एमाओवादीबाट कृष्ण्ँबहादुर महरा, अग्नि सापकोटा र नेकपा–माओवादीबाट देव गुरुङ र हितमान शाक्य सदस्य रहेका छन् । कार्यदलका सदस्य तथा एमाओवादी प्रवक्ता अग्नि सापकोटाले भने, ‘हाम्रो पार्टीबाट करिब तीस प्रतिशत साथीहरू अलग भएका छन्, त्यसै अनुपातमा भौतिक सम्पत्ति विभाजन हुन्छ ।’ उनले थपे, ‘अहिले राजनीतिक कार्यक्रममा बढी व्यस्त हुनुपरेकाले सम्पत्ति बाँड्ने काम रोकिएको हो ।’
‘प्रतिशतका आधारमा पार्टीको सबै चल–अचल सम्पत्ति प्रतिशतका आधारमा बाँड्ने भन्ने सैद्धान्तिक सहमति भएको छ,’ उनले भने, ‘सैद्धान्तिक सहमति भएपछि केन्द्र, राज्य र जिल्ला तहमा त्यसैगरी सम्पत्ति बाँडफाँड हुन्छ ।’ सापकोटाका अनुसार नेकपा–माओवादीले पेरिसडाँडाको ३० प्रतिशत घरजग्गा पाउँछ तर, कसरी भाग लगाउने भन्ने कुनै टुङ्गो छैन ।
पार्टी कार्यालय रहेको घर, घर रहेको जग्गा र बाहिरको मोटरसाइकल पार्किङ गर्दै आएको जग्गा एमाओवादीको मजदुर सङ्गठन अखिल नेपाल ट्रेड युनियन महासङ्घको नाममा छ । पार्टी कार्यालयबाहिर क्यान्टिन रहेको १२ आना जग्गा भने नेकपा–माओवादीमा गएका उद्योग व्यापार महासङ्घका अध्यक्ष शिव कट्टेलको नाममा छ । कट्टेलको नाममा रहेको जग्गा खरिद गर्दा ललितपुरको लालीगुराँस सहकारीको नामबाट ऋण लिइएको थियो । पार्टी विभाजन भएसँगै चुलिएको विवादका कारण सहकारीको ऋण तिर्ने विषय पनि विवादमै छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार