‘एन्टी करप्सन मुभमेन्ट’का नाममा झाले मच्चाए ‘आतङ्क’

५ मंसिर २०६९, मंगलवार ०७:४६ मा प्रकाशित

काठमाडौं, ५ मंसिर । अस्थीर राजनीतिले मुलुकलाई चौतर्फी आक्रमण गरिरहेको मौका छोपेर विभिन्न वहाना र आवरणमा स्वार्थलाभ गर्नेको संख्या पनि ह्वात्तै बढिरहेको छ । आफूलाई भ्रष्टाचार विरोधी भन्दै उल्टो भ्रष्टाचारको मार्गमा लम्कीरहेका सञ्जीव उर्फ सञ्जय झाले थुप्रै व्यक्ति तथा संस्थालाई आतंकित तुल्याएको खुलासा भएको छ । उनका शंकाष्पद गतिविधि प्रहरीले पनि चाल पाएको छ ।
जासुसी क्यामेरा तथा भ्वाइस रेकर्डर लगायतका विद्युतिय उपकरणसहित भ्रष्टाचार विरोधीको आवरणमा हिँड्ने महोत्तरीतिर घर भएका सञ्जय झाले विभिन्न निकायका व्यक्ति तथा पदाधिकारीलाई आतंकित तुल्याउने गरेको जानकारी प्राप्त भएको छ । केही दिन अघि मात्रै मेनपावर व्यवसायीको आवरणमा तत्कालिन श्रममन्त्री कुमार वेलवासेलाई समेत झाकै गिरोहले मेनपावर दर्ताका नाममा जासुसी क्यामेरामार्फत रेकर्ड गरेर फसाउन सफल भएको हो । सुन्नमा आएअनुसार निवर्तमान मन्त्री वेलवासेसँग झाको मोलतोल नमिलेपछि मात्रै त्यो कान्तिपुर दैनिकमार्फत् समाचारका रुपमा बाहिर आएको हो । ‘मुभमेन्ट अफ एन्टी करप्सन–नेपाल’का अध्यक्ष सञ्जय झा यतीबेला जावलाखेलस्थित अल्का अस्पतालका गाइनोक्लोजिष्ट डा. नूतन शर्माको पछि लागेका छन् । डा. शर्माका विभिन्न अवस्थाका सम्वाद दृश्य रेकर्ड गर्न सफल भएका झाले त्यहीँ दृश्य देखाएर उनीसँग लामो समयदेखि मोलतोल गरिरहेका छन् । अल्का अस्पताल स्रोतका अनुसार डा. शर्माले पचास लाख दिन तयार भए पनि झाले वार्गेनिङ एमाउन्ट अझै उचाइमा पुराएका छन् । झाको वार्गेनिङमा सहमती जनाउन तयार नभएपछि डा. नूतन शर्मा यतीबेला भारततिर लागेकी छिन् । भ्रष्टाचार विरोधी अभियानको नाममा अर्काको गोप्यता जासुसी गर्दै हिँड्ने झाले मेडीकल काउन्सिलमा समेत पुगेर अन्य थुप्रै डाक्टरको शैक्षिक योग्यताका प्रमाणपत्रका सन्दर्भमा समेत कुरा उठाएको स्वयम् उनैले बताए । ‘तर, त्यहीँका पदाधिकारीले त्यस्ता प्रमाणपत्रधारीलाई संरक्षण गरेको छ,’ झा भन्छन् ।
यहीबीच, मेडीकल काउन्सीलका अध्यक्ष डा. दामोदर गजुरेलसँग सम्पर्क गर्दा उनी त्यहाँ पनि विभिन्न वहानामा धाउने गरेको जानकारी दिए । उनले भने, ‘उनी यहाँ पनि आएका थिए, केही डाक्टरका बारेमा यस्तो÷उस्तो भनेर भन्दै थिए ।’ डाक्टरलाई नै आतंकित तुल्याइएको बारे जिज्ञासा राख्दा डा. गजुरेलको भनाइ थियो, ‘हामीलाई त्यस्तो लिखित रुपमा कहीँकतैबाट आएको छैन, यदी आयो भने छानविन गर्छाैं ।’ उहाँले थप्नु भयो, ‘मेडीकल काउन्सीलले त जनतालाई डाक्टर दिने हो । डाक्टरलाई त्यस्तो आतंकित तुल्याउने काम भएको छ भने चिकित्सक संघ, जसको अध्यक्ष किरण श्रेष्ठ हुनुहुन्छ, यस्ता गुनासा त्यहाँबाट हेरिन्छ ।’
यता, भ्रष्टाचार विरोधीको आवरणमा जासुसी क्यामेरा लिएर उल्टै आर्थिक बद्मासीको नियत राख्ने सञ्जय झा र उनको संस्थाको गतिविधि शंकास्पष्द मात्रै नरहेर कानून विपरित रहेको प्रहरी प्रवक्ता डीआईजी केशव अधिकारीले बताउनु भयो । ‘कसैले गल्ती या अपराध नै गरेको छ भने पनि सम्वन्धित सरकारी निकायको अनुमती बेगर कसैले कसैको गोपनीयताको अधिकार हनन् गर्नु या गर्न खोज्नु कानुन विपरित हो’, प्रहरी प्रवक्ताको भनाइ छ । त्यस्ता व्यक्ति या संस्थामाथि कारवाही हुने उहाँले बताउनु भयो ।
त्यसो त जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको भ्रष्टाचार विरुद्धको अभियान नेपाल नामक संस्थाका क्रियाकलापमा बद्मासी देखिए कारवाही हुने प्रमुख जिल्ला अधिकारी चुडामणि शर्माले बताउनु भयो । उहाँका अनुसार संस्था दर्ता भयो भन्दैमा कानूनले नै नदिएको अधिकार प्रयोग गर्न पाइन्न । खासै नाम नसुनिएका व्यक्तिलाई आवरणमा ल्याएर संस्था दर्ता गरिएको छ । सञ्जय झा आफू अध्यक्ष रहेको तदर्थ समितिमा समीर राना, नवराज केसी, राजकुमार श्रेष्ठ, राजु ढकाल, शुकदेव चापागाई, मोहम्मद अ‍ैयूव खान, निरु श्रेष्ठ, परमेश्वर थापा, रमेश तण्डुकार, श्यामहरि थापा मगर रहेका छन् । संस्थाका सदस्य नाम मात्रै रहेको र केही व्यक्ति विशेषसँग मिलोमतो गरी उसले आर्थिक चलखेल गर्ने गरेको बुझिएको छ । प्रहरीका केही सदस्य समेत झाको सम्पर्कमा रहेको बताइएको छ ।
समाचार स्रोतका अनुसार कहीँकतै झाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईवी)को समेत नाम लिन पछि पर्दैनन् । कसैलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोग र कोही कसैलाई मानवअधिकार आयोगको समेत डर धम्की दिने गरेको बुझिएको छ । भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार, सतर्कता केन्द्र, राजस्व अनुसन्धान र स्वयम प्रहरी नै सक्रिय रहेको अवस्थामा दुई–चार जना व्यक्ति विशेषले जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता गरेर भ्रष्टाचार जस्तो विशाल रोगको निराकरणमा लाग्ने आँट गर्न खोज्नुको अर्थ के हो ? त्यस्ता व्यक्ति विशेष कसको इशारामा केका लागि सञ्चालित छन्, खोजीको विषय हुनै पर्छ । यदी बदमासी नियत देखियो भने कारवाहीको दायरामा पनि ल्याउनै पर्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । ऐतिहासिक एवं पर्यटकीय नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । नमोबुद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिक

नुवाकोट। राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकमा अझै जग्गाको समस्या समाधान हुनसकेको छैन । निर्माण सम्पन्न गर्ने समय आधा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भइ कार्यरत १६१३ कर्मचारीको एकैपटक सरुवा

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निमाणमा उल्लेखनीय सफलता हासिल गरेको छ । एकातर्फ परम्परागत मौलिक शैलीमा निर्माण सामग्रीका प्रयोग गरेर बनाइएका