के गर्दै छन्, एमाले अनुशासन आयोगका पदाधिकारीहरु

४ मंसिर २०६९, सोमबार १०:०६ मा प्रकाशित

काठमाडौं, ४ मंसिर । प्रयाः चर्चामा रहने गरेको नेकपा एमालेको अनुशासन आयोग यतिबेला गुमनाम छ । कहिले पार्टी अध्यक्ष त कहिले पार्टीबाट प्रधानमन्त्री भएकालाई समेत समेत स्पष्टीकरण सोधेर हैरान गर्ने आयोग अहिले हराएको छ ।
पार्टी नेताहरूबीच घोचपेच चलेका बेला दिनहुँ बैठक बसेर ध्यानाकर्षण गराउने र स्पष्टीकरण सोध्ने आयोगको पछिल्लो बैठक २३ कात्तिकमा बसेको थियो । उक्त बैठकले केही समयअघि निधन भएका पार्टीका केन्द्रीय सदस्य डिल्लीबहादुर महतप्रति श्रद्धाञ्जली अर्पण गर्‍यो र आयोगको क्षेत्राधिकारसम्बन्धी आन्तरिक विषयमा अनौपचारिक छलफल मात्र चलाएको थियो ।
‘तत्काल छिनोफानो गरिहाल्नुपर्ने गम्भीर समस्या थिएनन्, पार्टी केन्द्रीय सदस्य डिल्लीबहादुर महतको निधनमा तीन दिन शोक मनाउने निर्णयअनुरूप पार्टी शोकमै थियो । महतप्रति श्रद्धाञ्जली दिनेबाहेक केही औपचारिक निर्णय भएन,’ आयोग सचिव हरि सापकोटाले भने, ‘तल्ला तहका केही सामान्य विवाद र आयोगकै आन्तरिक व्यवस्थापन गर्ने विषयमा अनौपचारिक छलफल भयो ।’
बैठकमा दाङ, चितवन, मकवानपुरलगायत चार जिल्लाका जिल्ला अधिवेशनमा भएको विवादबारे अनौपचारिक छलफल भएको थियो । त्यस्तै, अखिल भारत नेपाली प्रवासी संघको अधिवेशनमा भएको विवादबारे पनि बैठकमा छलफल चलाइएको थियो । तल्ला तहमा देखिएका सामान्य विवादको विधानसम्मत निराकरण कसरी गर्ने भन्नेमा केही अनौपचारिक छलफल भएको सचिव सापकोटाले बताए ।
ठूला विवाद हुँदा तत्काल बैठक बसेर अनुशासन र पार्टी पद्धतिको पक्षमा ध्यानाकर्षण गराउने र आवश्यक परे कारबाहीसमेत गर्ने गरेको आयोगले केन्द्रीय विवाद नभएका बेला आफ्नै अधिकारक्षेत्रबारे पनि छलफल चलाएको हो । उक्त आयोग पार्टीको स्वतन्त्र निकाय भएकाले त्यसले पार्टीका अन्य स्वतन्त्र आयोगमा हुने अनुशासन उल्लंघनका विषयलाई हेर्न मिल्छ कि मिल्दैन भन्नेबारे पनि बैठकमा छलफल चलेको थियो । अनुशासन आयोगजस्तै एमालेमा स्वतन्त्र आयोगका रूपमा लेखा परीक्षण आयोग र निर्वाचन आयोग छन् ।
‘केन्द्रीय कमिटीलगायत अन्य निकायमा हुने अनुशासनको रेखदेख गर्ने काम त अनुशासन आयोगको हो,’ सापकोटाले भने, ‘पार्टीका निकायभन्दा भिन्नै स्वतन्त्र हैसियतमा रहेका आयोगमा हुने अनुशासन उल्लंघन अनुशासन आयोगले हेर्नुपर्नेरनपर्ने विषयमा डिबेट चलेको छ ।’
आयोगले पार्टी त्यागेका तत्कालीन उपाध्यक्ष अशोक राईलगायत नेताको सदस्यता सूचीबाट हटाउन संगठन विभागलाई निर्देशन गर्ने पनि अनौपचारिक निर्णय गरेको थियो ।
पार्टीको आठौँ महाधिवेशनपछि एमालेमा दुई गुटबीच विवाद बढ्दै गएपछि त्यस अवधिमा आयोगले दिनहुँजसो बैठक बसी पार्टी पद्धतिअनुरूप हिँड्न नेताहरूलाई नै ध्यानाकर्षण गराउँदै आएको थियो । महाधिवेशनमा अध्यक्ष झलनाथ खनाल र उनका प्रतिद्वन्द्वीका रूपमा उभिएका नेता केपी शर्मा ओलीबीचको विवाद तल्लो तहसम्म विस्तार हुँदै गएपछि केही जिल्लामा समानान्तर कमिटीसमेत बनेका थिए । गत वर्ष माघमा नेताहरूबीच आन्तरिक एकता सुदृढ गर्ने सहमति भएपछि आयोग फुर्सदिलो बन्दै आएको हो ।
शक्तिशाली न्यायिक निकायका रूपमा पार्टी महाधिवेशनले निर्वाचित गरेको आयोगलाई पार्टीमा स्वतन्त्र न्यायालयका रूपमा अथ्र्याइन्छ । आयोगले पार्टी अध्यक्ष खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता ओली, उपाध्यक्ष वामदेव गौतम र विद्या भण्डारीसँग समेत विभिन्न प्रकरणमा स्पष्टीकरण सोधेको थियो ।
गत वर्ष १७ साउनमा तत्कालीन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष खनालले एमाओवादीका नयाँ मन्त्रीहरूलाई शपथ खुवाएको भन्दै पार्टीको अनुशासन र पद्धतिविपरीत गैरजिम्मेवार काम गरेको ठहर गर्दै आयोगले स्पष्टीकरण सोधको थियो । यस्तै, तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले नेतृत्व गरेको सरकारको सार्वजनिक रूपमै राजीनामा मागेको भन्दै उपाध्यक्ष गौतमसँग पनि आयोगले स्पष्टीकरण लिएको थियो । प्रधानमन्त्रीको निर्वाचनमा तटस्थ बस्ने पार्टी निर्णयविपरीत तत्कालीन प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता नेपाल र अर्का नेता ओलीले कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्नुपर्छ भनी अभिव्यक्ति दिएको भन्दै पार्टी निर्णयविपरीत नबोल्न आयोगले निर्देशन दिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय

काठमाडौं । राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनसहितको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रमलाई निवर्तमान अध्यक्ष कमल