बजेटमा सहमति जुटाउन मंगलबार बिहानै राष्ट्रपतिले चार नेता भेट्ने

२७ कार्तिक २०६९, सोमबार २१:३५ मा प्रकाशित

काठमाडौं, २७ कात्तिक । राजनीतिक अन्योल र बजेट बारेको बढ्दो विवादबीच संकटको निकास खोज्न प्रमुख राजनीतिक दलका नेताहरु र राष्ट्रपतिबीच भोली मंगलबार बिहान छलफल हुने भएको छ । राष्ट्रपतिसमक्ष बजेट ब्रिफ गर्ने सरकारी योजना तुहिएपछि राष्ट्रपतिले नै प्रमुख चार दलका शीर्षनेताहरुसँग पुनः छलफल गर्ने प्रस्ताव गर्नुभएको बुझिएको छ ।
सरकारका एक मन्त्रीका अनुसार बजेटबारे राष्ट्रपतिलाई जानकारी गराएर अध्यादेशमार्फत् बजेट ल्याउने प्रक्रिया सोमबार नै सुरु गर्ने सोचमा सरकार थियो । तर, शीतल निवास पुगेका अर्थमन्त्री वर्षमान पुनसँगको भेटमा राष्ट्रपतिले दलहरुबीच न्युनतम् सहमतिविना बजेट ल्याउन नहुनेमा पुनः जोड दिएका थिए ।
राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालका अनुसार संविधानमा प्रस्ट व्यवस्था नभएको र यस्तो संगीन अवस्थामा कसरी बजेट ल्याउने भन्नेमा सरकार गम्भीर हुनुपर्ने सुझाव राष्ट्रपतिले अर्थमन्त्रीलाई दिएका थिए । सबैको सहमति जुटाएर मात्र बजेट ल्याउनुपर्नेमा राष्ट्रपतिको अडान देखेपछि नाजवाफ बनेर अर्थमन्त्री शितलनिवासबाट फर्किएको बुझिएको छ ।
उता, विपक्षी नेताहरुलाई बजेटबारे मनाउने प्रचण्डको प्रयास सोमबार पनि जारी रह्यो । उनले कांग्रेस र एमालेका शीर्ष नेताहरुसँग छलफल गर्ने सफलता त पाए तर पूर्ण बजेट ल्याउनेमा विपक्षीको सहयोग जुटाउन नसकेपछि उनी खिन्न बन्न पुगेका थिए ।
सिंहदरबारमा भएको तीन प्रमुख दलका नेताको बैठकमा नेपाली कांग्रेसले सरकारका विषयमा सहमति बनेपछि मात्र बजेट ल्याउने विषयमा अघि बढ्न सकिने आफ्नो अडान दोहोरयाएको थियो । बैठकमा एमाले अध्यक्ष झलनाथ खनालले पनि पहिला सरकार परिवर्तनमा सहमति जुट्नुपर्ने तर्क गरेको थिए ।
सरकारले साढेचार खर्बको बजेट ल्याउने तयारी गरिरहेको समाचार केही दिनदेखि सार्वजनिक भइरहेका छन् । तर, सहमति नजुटेपछि बजेट ल्याउने काम तिहारपछिका लागि सार्न सरकार बाध्य बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको