बजेटमा सहमति खोज्दै एमाओवादी अध्यक्ष प्रचण्ड

२६ कार्तिक २०६९, आईतवार १२:३४ मा प्रकाशित

काठमाडौँ, २६ कात्तिक । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बजेटमा सहमति जुटाउन पूर्व अर्थमन्त्रीहरुसँग छलफल गर्नुभएको छ । आइतबार दाहालको निजि निवास लाजिम्पाटमा भएको छलफलमा पूर्वअर्थमन्त्रीहरुले बजेट राष्ट्रको लागि आवश्यक हुदाँ सहमति जुटाएर नै बजेट जारी गर्न सुझाव दिएका थिए । अध्यक्ष दाहालले प्रतिपक्षी दलहरुले बजेटमा राजनीति गरेको भन्दै बजेट ल्याउने काममा अवरोध नगर्न आग्रह गर्नुभएको थियो । अरु विषयमा राजनीतिक सहमति जुट्न नसकेपनि बजेटमा राजनीतिक सहमति जुटाउन र समर्थन गर्न उहाँले पूर्व अर्थमन्त्रीहरुसँग आग्रह समेत गर्नुभएको अर्थमन्त्री वर्षमान पुनले जानकारी दिनुभयो । अर्थमन्त्री पुनले भन्नुभयो, ‘आजको छलफल महत्वपूर्ण रहेको छ, छलफलबाट आशा पलाएको छ, राष्ट्रको आवश्यकता र चाहनाअनुसार नै बजेट ल्याउनुपर्दछ भन्नेमा सबै पूर्व अर्थमन्त्रीहरुको सहमति रह्यो ।’ बजेट जस्तो सम्बेदनशील विषयमा सहमति गरेर जाने कुरामा सहमति रहेको थियो, तैपनि उहाँहरुले ‘रिजरर्भेसन’ भने राख्नुभयो, छलफलपछि अर्थमन्त्री पुनले जानकारी दिनुभयो । सरकारले भोलि सोमबार राष्ट्रपति डा रामवरण यादव समक्ष बजेट अध्यादेश पेश गर्ने तयारी गरेको छ । सोही विषयमा अध्यक्ष दाहालले सरकारको नेतृत्व गरेको दलको अध्यक्षको हैसियतले छलफल गर्नुभएको मन्त्री पुनको भनाइ छ । छलफलमा पूर्वअर्थमन्त्रीहरुले एमाओवादीलाई राजनीतिक तहमा सहमति गरेर मात्र बजेट ल्याउन सुझाव दिएका थिए । छलफलमा सहभागी काँग्रेस नेता एवम् पूर्व अर्थमन्त्री डा रामशरण महतले आफूहरुले सहमति गरेर बजेट ल्याउन एमाओवादी अध्यक्ष दाहाललाई सुझाव दिएको बताउनुभयो । महतले भन्नुभयो, ‘बजेट राष्ट्रका लागि आवश्यक छ, आर्थिक सङ्कट मुलुकमा उत्पन्न गर्नु हुँदैन तर बजेट ल्याउन राजनीतिक दलहरु बीचमा सहमति हुनु आवश्यक छ, काँग्रेसको तर्फबाट मैले यही धारणा राखेको छु ।’ महतले एमाओवादी अध्यक्ष दाहाल पनि सहमतिका आधारमा बजेट ल्याउने पक्षमा रहेको आफूले पाएको बताउनुभयो । यस्तै छलफलमा सहभागी पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेटका विषयमा दलहरुसँग छलफल गरेर मात्रै प्रक्रिया अगाडि बढाउन एमाओवादीसँग आग्रह गरेको बताउनुभयो एमाओवादी अध्यक्ष दाहालले आजै नेपाली काँग्रेस र एमाले लगायतका विपक्षी दलका शीर्ष नेताहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ । पूर्व अर्थमन्त्रीहरुसँगको छलफल सकारात्मक रहेकाले शिर्ष नेताहरुसँग बजेटकै विषयमा सहमति जुटाउनका लागि छलफल गर्न लागिएको अर्थमन्त्री पुनले जानकारी दिनुभयो । छलफलमा प्रधानमन्त्री डा बाबुराम भट्टराई, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ ,राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीसमेत उपस्थित हुनुहुन्थ्यो । सरकारले गत असारमा पेस गरेको तृतीयांश बजेटको समय सीमा सकिने भएकाले आगामी मङ्सीरको सुरुमै बजेट ल्याउनु पर्ने आवश्यकता रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकारले नेपाल प्रहरीमा ३ वटा दर्जा (पद) थपेको छ । प्रहरी कर्मचारीको मनोवल बढाउनका लागि भन्दै सहायक तहमा

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको थप ७ लाख २५ हजार डोज खोप ल्याइएको छ । कोभ्याक्स संयन्त्रमार्फत नेपालले प्राप्त गर्ने ६०

काठमाडौं ।सानै उमेरमा कांग्रेस महाधिवेशन प्रतिनिधि बन्ने सूचीमा १९ वर्षीया करिना पुरी पनि थपिएकी छन् । करिना पुरी महाधिवेशन प्रतिनिधिका

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनको निर्वाचन सम्बन्धी परराष्ट्र मत्रालयले गरेको सबै निर्णय र पत्राचारहरु कार्यान्वयन नगर्न अदालतले आदेश दिएको