भरियो कुलेखानी, प्राधिकरणलाई भयो हल्का राहत

२५ कार्तिक २०६९, शनिबार १६:५२ मा प्रकाशित

कुलेखानी, २५ कात्तिक । कुलेखानी जलाशययुक्त आयोजनामा पानी भरिँदा प्राधिकारणलाई राहत मिलेको छ । वर्षामा परेको पानीका आधारमा कुलेखानी जलाशय नभरिने र आगामी हिउँदमा १९ घन्टासम्म लोडसेडिङ हुने प्रक्षेपण गरिरहेको प्राधिकरणका लागि जलाशय भरिएपछि शाख जोगिएको हो ।
१९ घन्टासम्म लोडसेडिङ गर्नुपर्दा उपभोक्ता, राजनीतिक दल तथा अन्य संघरसंस्थाबाट पाउने विरोध र खस्कने शाखलाई कुलेखानी भर्नाले आगामी हिउँदमा लोडसेडिङ घट्ने हुनाल शाख जोगिने भएको छ भने दिनको ५ घन्टा मात्र बिजुली आएपछि प्राधिकरण मर्नलागेको निकायजस्तो बन्ने खतरामा पनि प्राण भरिएको छ । ‘हामीले १५ सय २२ मिटर मात्र भर्ने लक्ष्यका साथ आगामी हिउँदमा १९ घन्टासम्म लोडसेडिङ हुने अनुमान लगाएका थियौं तर यो भरिनाले प्राधिकरणका लागि ठूलो राहत भएको छ, प्राधिकरणका सबै कर्मचारी खुसी भएका छौँ,’ प्राधिकरण भारप्रेषण केन्द्रका प्रमुख भुवन क्षेत्रीले भने, ‘विद्युत् सेवा दिने प्राधिकरणका लागि कुलेखानी मेरुदण्ड नै हो, हिउँदमा लोडसेडिङ घटाउन ठूलो राहत पुग्नेको छ ।’
कुलेखानीबाहेक सबै आयोजना रन अफ दर रिफर आयोजना भएका र हिउँदमा एक तिहाइ मात्र विद्युत् उत्पादन हुने भएकाले कुलेखानीलाई देशकै सबैभन्दा महत्त्वपूर्ण जलविद्युत् आयोजना मानिन्छ । प्राधिकरण सबैको ध्यान कुलेखानी जलाशययुक्त आयोजनामा रहेकाले भरिएपछि चर्को आलोचना खेप्नुपर्ने अवस्थाबाट प्राधिकरण र ऊर्जा मन्त्रालयले मुक्ति पाएका छन् ।
भदौमा समेत पानी नभरिएर जलाशय नभर्ने देखिएपछि पानी पारिदिन्छु र जलाशय भरिदिन्छु भनेर एक ज्योतिष पनि लगिएको थियो । प्राधिकरणका इन्जिनियर र महाप्रबन्धकलाई भेटेर डंगोल थरका ती ज्योतिषले पानी पारिदिने बताएपछि हिउँदको लोडसेडिङ चर्को अनुमानसँगै चिन्तित बनेका प्राधिकरणका पदाधिकारीले जलाशययुक्त आयोजनामा पठाएका थिए तर पानी परेन । असोजको पहिलो साता तीन दिनसम्म परेको अविरल वर्षाले भने जलाशययुक्त आयोजना भर्नका लागि सहयोग पुगेको सहायक इन्जिनियर धु्रवबहादुर बस्नेतले बताए ।
वर्षा याममा समेत कम चलाएर र विगत एक महिनादेखि नचलाइएको र केन्द्रले आगामी हिउँदको भयावह लोडसेडिङका लागि जलाशयमा पानी संकलन सुरु गरेको थियो । सात किलोमिटर ठूलो जलाशयमा अहिले पूरै एक हजार पाँच सय ३० मिटर भरिएर र थप आधा मिटरका लागि बोरा राखिएकामा नौ सेन्टिमिटर भरिएको छ । कुलेखानी आयोजनाका अनुसार अहिले प्रत्येक दिन पाँच सेन्टिमिटर पानी बढिरहेको छ । आगामी कात्तिक २८ गते लक्ष्मीपूजाको अवसर पारेर त्यो दिनदेखि जलाशयुक्त आयोजना विद्युत् उत्पादन गरिने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार करिब ५७ हजार रुपैयाँ पुगेको छ। सरकारले लिएको सार्वजनिक ऋण १७ खर्ब २९ अर्ब

कञ्चनपुर । लगातार चार दिनसम्मकोे वर्षा पछि घाम लाग्न सुरु भएको छ । कञ्चनपुरका किसान झरीले निथ्रुक्क भिजाएको धान सुकाउनमा

तनहुँ । पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला पर्‍यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी