टुडिखेलको घोडे जात्रा

९ चैत्र २०६८, बिहीबार २३:५२ मा प्रकाशित

काठमाडौं, ९ चैत । राष्ट्रपति डा.रामवरण यादव सैनिक मञ्च टुडिखेल जानुभई नेपाली सेनाले त्यहाँ आज आयोजना गरेको परम्परागत घोडेजात्रा कार्यक्रमको अवलोकन गरेका छन् । राष्ट्रपति डा. यादव नेपाली सेनाका परमाधिपति हुनुहुन्छ ।

समारोहमा राष्ट्रपति डा. यादवले त्यस अवसरमा प्रस्तुत गरिएको शो जम्प प्रतियोगितामा प्रथम हुने सहसेनानी राजेन्द्र बानियाँ र द्वितीय हुने हुद्दा राजेन्द्र थापा तथा म्युजिकल राइडमा प्रथम हुने सहसेनानी विक्रमदेव थापा र द्वितीय हुने सहसेनानी उमेश पुरीलाई पुरस्कार प्रदान गरेका थिए ।

समारोहमा घोडा दौड प्रतियोगिताअन्तर्गत टाँगन, चार्जर, शो जम्प, क्रस टेन्ट पेगिङ, हर्ष बल, फायर जम्पसहित विभिन्न १९ किसिमका खेल प्रस्तुत गरिएको थियो ।

टुँडिखेलको दक्षिण–पूर्वस्थित रूखमा बस्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको र त्यसबाट पीडित सहरवासीले उसलाई मारे पनि प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भयले गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने सिलसिलामा घोडेजात्रा पर्व प्रारम्भ भएको मानिन्छ ।

सहरका कुनै पनि बालबालिकामाथि अनिष्ट नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइने चलन रहिआएको छ । सोही घटनाको सम्झनामा काठमाडौँ उपत्यकामा प्रत्येक वर्ष चैतकृष्ण औँसीका दिन परम्परागत घोडेजात्रा पर्व मनाइँदै आइएको छ ।

उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री डा.बाबुराम भट्टराई, प्रधानन्यायाधीश खिलराज रेग्मी, सभामुख सुवास नेम्वाङ समारोहमा उपस्थित भई घोडेजात्रा कार्यक्रमको अवलोकन गरेका थिए ।

नेपाल सरकारका मन्त्रीहरू, सभासद्, संवैधानिक निकायका प्रमुख एवम् पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख एवम् समाजका विभिन्न क्षेत्रका विशिष्ट महानुभाव घोडेजात्रा हेर्न सैनिकमञ्च टुँडिखेल पुगेका थिए ।

घोडेजात्रा हेर्न टुँडिखेल वरपर सर्वसाधारणको घुइँचो लागेको थियो । सैनिकमञ्च टुँडिखेलमा भएको घोडेजात्रा कार्यक्रमको टेलिभिजन, एफएमलगायतका विद्युतीय सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गरेका थिए ।

सरकारले काठमाडौँ उपत्यकाभित्रका सबै सरकारी कार्यालयलाई आज सार्वजनिक बिदा दिएको छ । (रासस)

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको