छ नेता मात्र इमानदार !

२३ कार्तिक २०६९, बिहीबार ०९:१० मा प्रकाशित

काठमाडौ, २३ कात्तिक । राजनीतिकर्मीहरूको विश्वसनीयतामा ह्रास आउँदै गएपछि जनतामा राजनीतिप्रति नै वितृष्णा बढ्दो छ । कुनै पनि नेता र दलले मुलुकको सङ्कट मोचन गर्न सक्ने आशा गर्न छोडिएको छ । दलहरू मिलून् र समाधानको ढोका खोलून् भन्ने जनचाहनामा तुषारापात भएपछि आमनेपाली जनता यतिबेला अप्रत्यासित घटनाको प्रतीक्षा गर्न विवश छन् । देशलाई सम्हाल्न सक्ने सामथ्र्य नेपाली राजनीतिले गुमाउँदै गएकोले जनता यसरी अप्रत्यासित घटना उत्पत्तिको प्रतीक्षा गर्ने मानसिकता बनाउन पुगेका हुन् । राजनीतिकर्मी, राजनीतिक दल र राजनीतिप्रति नै यसरी वितृष्णा पैदा हुनु भनेको प्रजातन्त्रमाथि सङ्कट उत्पत्तिको आधार तयार हुनु हो, जुन आधार यहाँ खडा भइनै सकेको छ । यसरी आमराजनीतिप्रतिको विश्वसनीयतामा सङ्कट पैदा भएको भए पनि केही राजनीतिकर्मीहरूलाई भने अपेक्षाकृत इमानदार मानिँदै छ, को छन् त त्यस्ता इमानदारहरू, जसप्रति जनतामा अझै पनि आशाको धुकधुकी कायम छ, यहाँ त्यसैको सङ्क्षिप्त चर्चा गर्ने प्रयास गरिएको छ ।
०६३ को राजनीतिक परिवर्तनपछि एकाएक चम्किएका नेता प्रचण्ड हुन् र उनले नेपालको शान्ति, स्थिरता र समृद्धि प्राप्तिमा चामत्कारिक योगदान पु¥याउने आशा राखिएको थियो । एउटा जोखिमपूर्ण हिंसात्मक पृष्ठभूमिको जगबाट उत्पन्न भएका प्रचण्डमा केही रचनात्मक क्षमता थियो भने उनका लागि ०६३ यताको समय केही गर्नका लागि स्वर्ण अवसरका रूपमा उपलब्ध थियो । सिङ्गै मुलुकले प्रचण्डको मुख ताकिरहेको थियो, तर आफूलाई शान्ति र समृद्धि प्राप्तिका निम्ति समर्पण गर्नुपर्नेमा प्रचण्डचाहिँ केवल सत्ताको मुख ताकिरहे । आफ्नो बोली, व्यवहार र क्रियाकलापका कारण
प्रचण्डले ६ वर्षको अवधिमा आफ्नो छवि रसातलमा पु¥याए र इमानदारविहीन नेताको पहिचान बनाए । दुःखका साथ भन्नुपर्छ– धेरैले आशा राखेका नेता प्रचण्ड कालान्तरमा देशकै एक नम्बरका इमानदारविहीन प्रमाणित हुने स्थिति बन्यो । बोल्ने, बोलेका कुरा कहिल्यै पूरा नगर्ने, सम्झौता गर्ने तर त्यसको पालना गर्न कहिल्यै उत्सुक र इच्छुक नहुने स्वभावका कारण इमानदारविहीन दोस्रो नम्बरमा पनि प्रचण्ड नै पर्न पुगेको महसुस जनताले गरेका छन् । सत्ताका निम्ति देशलाई समेत दाउमा राख्न नहिचकिचाउने आफ्नो क्रियाकलाप र सोचका कारण तेस्रो गैरइमानदार नेताको प्रतिस्पर्धामा पनि प्रचण्ड नै अगाडि देखिएको जनठहर छ । चौथो नम्बरका इमानदारविहीन नेताको रूपमा भने नेपाली काङ्गे्रसका शेरबहादुर देउवालाई लिन थालिएको छ । सत्तालाई आफ्नो बपौती ठान्ने, सत्ताका निम्ति जोसुकैस“ग जस्तोसुकै सम्झौता गर्न पनि अग्रसर रहने, प्रधानमन्त्री पदका लागि आफै“लाई मात्र योग्य ठान्ने र हरेक अवस्थामा आफैँलाई अगाडि सारिरहने, सिद्धान्त र विचारलाई परित्याग गरी पदलाई नै प्रमुख गन्तव्य बनाउने देउवा आर्थिक रूपमा अस्वाभाविक किसिमले सम्पन्नता आर्जन गरेर विवादास्पद बनेका छन् । त्यसैले चौथो नम्बरका गैरइमानदार नेताको पहिचान बनाउन देउवा पूर्ण रूपले सफल भएको मानिन्छ । विद्यमान राजनीतिमा बेइमानीका निम्ति प्रचण्डलाई पछ्याउन सक्ने एक मात्र ‘प्रजातन्त्रवादी’ नेता देउवा बन्न सकेका छन् । गैरइमानदार र देउवासँग तुलना गर्न योग्य अरू कुनै पनि नेता देखिएका छैनन् । तथापि पाँचौँ नम्बरका बेइमान नेतामा विजय गच्छदारको नाम लिनु उपयुक्त हुने धेरैको ठम्याइ छ ।
इमानदारहरूको चर्चा गर्नुपर्दा अहिलेसम्म राष्ट्रपति डा. रामवरण यादव, काङ्गे्रस सभापति सुशील कोइराला, नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे, नेकपा–माओवादीका नेता मोहन वैद्य किरण, राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसी र नेकपा मसालका नेता मोहनविक्रम सिंह अग्रपङ्क्तिमा रहेको महसुस जनताले गरेका छन् । यद्यपि डा. रामशरण महत, विद्या भण्डारी, केपी ओली, माधवकुमार नेपाल, रामचन्द्र पौडेल, झलनाथ खनाल, रामबहादुर थापा बादल र डा. बाबुराम भट्टराईलगायतलाई पनि इमानदारहरूकै लहरमा राखेर हेर्ने गरिन्छ । तर, प्रधानमन्त्री भइसकेपछिको व्यवहारले डा. बाबुराम भट्टराई इमानदारहरूको सूचीबाट हट्ने खतरा बढेको छ । उनीमाथि राष्ट्रियतामाथि नै धोखाधडी गरेको गम्भीर आरोप लागिरहेको छ ।
मन्त्री भूमिकामा रहँदा डा. रामवरण यादवका क्रियाकलापलाई सहज मानिँदैनथ्यो, उनी पनि यदाकदा विवादको घेरामा तानिने गर्दथे । तर, राष्ट्रपति बनिसकेपछि भने उनले आफूमाथि प्रश्न उठ्ने ठाउँ दिएका छैनन् । प्रचण्ड–बाबुरामहरूले राजनीतिक कारणबाट डा. यादवलाई विवादास्पद तुल्याउन प्रयास गरेका भए पनि जनताका बीचमा एक इमानदार नेताको छवि बनाउने सफलता उनलाई प्राप्त भएको छ । खासगरी उनी राष्ट्रवादी भावनाको भएको विश्वास जनताले गरेका छन् र राष्ट्रियतामाथि डा. यादवबाट कुनै प्रकारको धोखाधडी नहुने विश्वास गरिन्छ ।
गतिशीलताको अभाव खट्किए पनि काङ्गे्रस सभापति सुशील कोइरालाको इमानदारीमाथि प्रश्न उठाउन अहिलेसम्म कसैले पनि सकेका छैनन् । कोइरालाको छवि एक खाँटी प्रजातन्त्रवादी, राष्ट्रपे्रमी, आर्थिक रूपमा निष्कलङ्कित र पूर्ण इमानदार नेताको रूपमा बनेको छ । सिद्धान्त, विचार र आदर्शप्रतिको निष्ठाले कोइरालालाई इमानदार नेताको दर्जा मिलेको छ । कम्तीमा पनि राष्ट्र र प्रजातन्त्रलाई धोखा हुने काम सुशील कोइरालाबाट कदापि हुने छैन भन्नेमा जनता विश्वस्त छन् । त्यस्तै नेकपा–माओवादीका नेता मोहन वैद्यलाई पनि राष्ट्र र जनताप्रति पूर्ण इमानदार नेताका रूपमा लिइन्छ । वैद्यले अवलम्बन गरेको माओवादी विचार प्रजातन्त्रको निम्ति प्रतिकूल भए पनि देश र जनताप्रति बेइमानी उनीबाट नहुनेमा धेरैको विश्वास छ । चित्रबहादुर केसी आफ्नो इमानदारीपूर्ण बोली र व्यवहारका कारण ०६३ पछि चुलिँदै गएका नेता हुन् । केसीमाथि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरूले त्यति भरोसा राखेका छैनन्, तर जनतामा एक इमानदार र निष्ठावान नेताको छवि बनाउने सफलता केसीलाई मिलेको छ । केसीसँगै गाँसिएका नेता मोहनविक्रम सिंहले धेरै लामो समय भूमिगत जीवन बिताएका हुनाले जनता उनका बारेमा कम जानकार छन् । तर, उनलाई जतिले चिनेका छन् एक इमानदार र सिद्धान्तनिष्ठ एवम् देशभक्त नेताकै रूपमा बुझेका छन् । नारायणमान बिजुक्छे नेपाली वामपन्थी राजनीतिमा लामो योगदान पु¥याएका विशिष्ट नेता हुन् । बिजुक्छेको साङ्गठनिक प्रभाव राष्ट्रव्यापी हुन नसके पनि उनको छविचाहिँ राष्ट्रिय नै बनेको छ । भक्तपुरलाई केन्द्र बनाएर राजनीति गर्दै आएका बिजुक्छेमा सत्तामोह कहिल्यै देखिएन, उनी जातीय तथा क्षेत्रीय भावनाबाट मुक्त छन् र देश तथा जनताप्रतिको इमानदारीपूर्ण निष्ठालाई उनले कायम राखेका छन् । बिजुक्छेको बोली, व्यवहार र जीवनशैलीका कारण उनी देशवासीहरूले भरोसा राख्न सक्ने हैसियतमा पुगेका छन् ।
यसरी मुलुकका ६ जना नेताहरू डा. रामवरण यादव, सुशील कोइराला, चित्रबहादुर केसी, मोहन वैद्य किरण, नारायणमान बिजुक्छे र मोहनविक्रम सिंहलाई सर्वाधिक इमानदार नेताको रूपमा बुझ्न सकिने स्थिति छ भने ठीक विपरीत पङ्क्तिका नेतामा प्रचण्ड, शेरबहादुर देउवा र विजयकुमार गच्छदारले आफूहरूलाई स्थापित गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना

काठमाडौँ । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ