गुल्मीको रेसुङ्गा क्याम्पसमा दानवीरको ओइरो

२३ कार्तिक २०६९, बिहीबार ०९:०४ मा प्रकाशित

काठमाडौ, २३ कात्तिक । ०३९ सालमा गुल्मेली जनताको प्रयासमा स्थापित रेसुङ्गा बहुमुखी क्यापसको स्तरवृद्धिका लागि आयोजित श्रीभद्भागवत ज्ञान महायज्ञमा दान गर्ने दानवीरहरूबीच तँछाडमछाड भएको छ । विगत लामो समयदेखि क्याम्पसको कार्यालय सहायक (परिचर) ले चौडा छाती बनाएर एक लाख एक हजार सहयोग गरी दान गर्नेको ढोका खोलेपछि त्यहाँ अन्य उद्योगी–व्यवसायीलाई नैतिक सङ्कट उत्पन्न भएको थियो । वाचनशिरोमणि नारायणप्रसाद पोखरेलका सुपुत्र वाचनप्रवीण दीनबन्धु पोखरेलले कथा वाचन गरिरहेको उक्त महायज्ञमा क्याम्पसका परिचर हिमलाल कँडेलको घरको आँगनमा खुल्न लागेको डिग्री स्तरलाई सबैले सहयोग गर्न आग्रह गर्दै उक्त रकम दान गरेर ढोका खोलिदिएका हुन् ।
तमघासबाट पत्रकार तारा भुसालले घटना र विचारलाई टिपाएको समाचारअनुसार हालसम्म चिन्तामणि–नीमकला भुसाल प्रतिष्ठानले नगद १५ लाख एक हजार एक सय ११ रुपैयाँ क्याम्पसका लागि सहयोग गरेका छन् । प्रतिष्ठान नन्दनराम भुसाल, डिल्लीराज भुसाल र बालकृष्ण भुसालले आफ्ना स्वार्गीय मातापिताको नाममा स्थापना गरेको संस्था हो । त्यस्तै तमघास गाविस–४ निवासी राजकुमार श्रेष्ठले स्थानीय मूल्याङ्कनअनुसार रु. १२ लाख मूल्य पर्ने घडेरी क्याम्पसलाई दान गरेका छन् । तमघास गाविस–१ कै मानबहादुर श्रेष्ठले पनि नगद दुई लाख १० हजार रुपैयाँ र हस्तिचौर गाविसमा रहेको खेतीयोग्य जमिन १८ रोपनी दान गरेका छन् । महर्षि ऋश्यशृङ्ग्य ऋषिले तपस्या गरेको तपोभूमि रेसुङ्गाधामको काखमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसमा हाल व्यवस्थापन र मानविकीतर्फ स्नातक तहसम्म र शिक्षातर्फ स्नातकोत्तर तहसम्म कक्षा सञ्चालन भइरहेका छन् । स्नातकोत्तर (डिग्री) तहलाई परिपूर्ण बनाउन र क्याम्पसलाई एउटा अनुसन्धान केन्द्रको रूपमा विकास गर्न आर्थिक स्रोत जुटाउने उद्देश्यले महायज्ञको आयोजना गरिएको यज्ञ सञ्चालन समितिका अध्यक्ष सुरेश भुसालले बताउनुुभयो । ०३९ सालमा गुल्मेली जनताले शिक्षाको विकासका लागि आफ्नो गाँस काटेर निरन्तर सहयोग गरेको रेसुङ्गा क्याम्पसले अहिलेसम्म सरकारी क्याम्पसका रूपमा मान्यता पाउन सकेको छैन । महायज्ञबाट तीन करोड रुपैयाँ सङ्कलन गर्ने उद्देश्य राखी सञ्चालित महायज्ञमा सर्वसाधारणदेखि निम्न आय भएका जनताको हर्षोल्लासका साथ सहभागिता र सहयोग देख्दा क्याम्पसमा दानवीरको ओइरो लागेको महसुस गरिएको छ ।
सात वर्षसम्म खाडी मुलुकमा रगतपसिना खर्चेर केही रकम बटुल्न सफल महिला सीता ठकुरीले समेत क्याम्पसलाई एक लाख ११ हजार सहयोग गरेकी छिन् । गुल्मी जिल्लाका सम्पूर्ण कर्मचारीले एक दिनबराबरको तलब दान गरेका छन् भने जिल्ला विकास समितिले तीस लाख, गुल्मी उद्योग वाणिज्य सङ्घले पाँच लाख र तमघास गाविसले पाँच लाख दान गर्ने संस्थागत निर्णय गरेका छन् । रेसुङ्गा बहुमुखी क्याम्पसका सम्पूर्ण शिक्षक–कर्मचारीले पनि आफूले सेवा दिँदै आएको क्याम्पसको स्तरवृद्धिका लागि एक महिनाको तलब दान गर्ने निर्णय गरेका छन् । १५ गते तमघास चिदीचौरमा एक भव्य समारोहबीच विश्वहिन्दू महासङ्घका अध्यक्ष दामोदर गौतमले उद्घाटन गरी सुरु भएको महायज्ञमा विभिन्न विद्यालयका विद्यार्थीले स्वयम्सेवीको काम गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

कञ्चनपुर । बेलडाँडी गाउँपालिकामा दिउँसै बाघले गोठमा छिरेर चौपाया मारेर खान थालेको छ । गोठमा बाँधेका गाई, बाच्छाबाच्छी, बाख्रालाई बाघले

महेन्द्रनगर । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को टोली बाढीपीडितलाई राहत उपलब्ध गराउन कञ्चनपुर पुगेको छ । भीमदत्त नगरपालिका–११, १२ र

सुनसरी । बाढी पहिरोपीडितको अवस्था बुझन् पुर्व आउका प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी कर्मचारीसँग मात्र जानकारी लिएका छन् । आइतबार बिहान

टीकापुर । कैलालीमा कात्तिक २ गते आएको बेमौसमी बाढीले धेरैलाई घरबारविहीन बनाएको छ । कैलालीमा बाढीका कारण हजारौँ घर डुबानमा

आजको प्रमुख समाचार