भ्रष्टाचारीको नाम खोज्दा अधिवक्तालाई चेतावनी

२३ कार्तिक २०६९, बिहीबार ०८:५६ मा प्रकाशित

काठमाडौ, २३ कात्तिक । नेकपा एमाओवादीभित्र भ्रष्टाचारका विषयमा को–कसका विरुद्ध कस्तो उजुरी परेको छ भनी जान्न चाहने एक अधिवक्तालाई माओवादीसम्बद्ध अर्का वकिलले आफ्नो माग फिर्ता लिन चेतावनी दिएका छन् । एमाओवादीभित्र व्यापक भ्रष्टाचार भएको आरोप लडाकु तथा अन्य कार्यकर्ताहरूबाट लागेपछि पार्टी अध्यक्ष प्रचण्डले अमीक शेरचनको संयोजकत्वमा एक छानबिन समिति गठन गरेका थिए । समितिले सार्वजनिक आह्वान गरी उजुरी माग गरी छानबिनको प्रक्रिया सुरु गर्ने तत्परता लिएको थियो । तर, चार महिना बितिसक्दा पनि शेरचनले आफ्नो काममा कुनै प्रगति गर्न सकेका छैनन्, एमाओवादीले भ्रष्टाचारका विषयमा छानबिन गरेर आफ्नै नेताहरूलाई दोषी ठहर गर्ने हिम्मत गर्ला भन्ने ठानिएको पनि छैन । यसैबीचमा अधिवक्ता रामहरि त्रिपाठीले छानबिन समितिमा क–कसका विरुद्ध कस्ता उजुरी परेका छन् भन्ने जानकारी माग गर्दै सूचनाको हकसम्बन्धी कानुनी प्रावधानमा टेकेर अमीक शेरचनसमक्ष एक निवेदन दिएका थिए ।
पन्ध्र दिनसम्म पर्खंदा पनि शेरचनबाट कुनै जानकारी प्राप्त नभएपछि रामहरिले पार्टी अध्यक्ष प्रचण्डलाई सम्बोधन गरी हुलाकमार्फत अर्को निवेदन दिए । प्रचण्डलाई निवेदन दिएको दशौँ दिन बितिसक्दा पनि कुनै ‘रेस्पोन्स्’ नभएपछि उनले सूचना आयोगमा निवेदन गरेका थिए । डेढ महिनाको अवधिमा सूचना आयोगले एमाओवादी पार्टी कार्यालयमा पटकपटक पत्राचार गरी माग गरिएबमोजिमको सूचना उपलब्ध गराउन आग्रह ग¥यो, तर सूचना आयोगलाई पनि एमाओवादी कार्यालयले कुनै जवाफ दिएन, बरु आयोगको उपेक्षा गरिरह्यो ।
यसरी आफ्ना पत्रहरूको उपेक्षा गर्दै माग गरिएबमोजिमको जवाफ नदिएपछि आयोगले थप कानुनी प्रक्रिया अवलम्बन गर्ने चेतावनी एमाओवादी कार्यालयलाई दियो । परिस्थितिले अलिक गम्भीर मोड लिन लागेपछि यही कात्तिक १४ गते बसेको एमाओवादी पदाधिकारी बैठकमा उक्त विषयलाई लिएर गम्भीर छलफल भएको बुझिएको छ । बैठकमा निवेदन दिने व्यक्तिका बारेमा लामो छलफल भयो । बैठकका सहभागीमध्ये केहीले निवेदक अधिवक्ता रामहरि त्रिपाठी एमाओवादीकै समर्थक भएको धारणा राखेका थिए भने केहीले चाहिँ पार्टीविरोधी कुनै षड्यन्त्रकारी हुनसक्ने अनुमान गरेका थिए । मजदुर नेता एवम् पूर्वसभासद् शालिकराम जमकट्टेललाई टेलिफोन सम्पर्क गरी रामहरिका बारेमा बुझ्दा उनी पार्टीसमर्थक भएको पुष्टि शालिकरामले गरेका थिए । त्यसपछि माओवादीसमर्थित वकिलहरू रमण श्रेष्ठ, रामनारायण विडारीलगायतलाई पार्टी कार्यालय पेरिसडा“डामा बोलाइयो । प्रचण्डलगायतका नेताहरूसँग उनीहरूको सङ्क्षिप्त छलफलपश्चात् रमण श्रेष्ठ र रामनारायण विडारीले निवेदक रामहरि त्रिपाठीलाई सूचना आयोगमा दिइएको उजुरी फिर्ता गर्न लगाउने वचन दिँदै सोको जिम्मेवारी लिएर फर्किए । पेरिसडाँडाबाट फर्किएका रमण श्रेष्ठ र रामनारायण विडारीले अधिवक्ता रामहरिसँग अलग–अलग भेटी सूचना आयोगमा दिएको उजुरी फिर्ता लिन भनेका छन् । रमण श्रेष्ठले चाहिँ भेटका क्रममा सहकर्मी रामहरिलाई ‘उजुरी फिर्ता नलिए राम्रो नहुने’ भन्दै चेतावनी नै दिएका छन् । श्रेष्ठले कात्तिक १६ गते बिहान दश बजेभित्र निवेदन फिर्ता लिन समयसीमा (अल्टिमेटम) दिएका थिए । निवेदन फिर्ता नलिए तपाईंलाई अप्ठ्यारो पर्छ भनी रमणले भनेपछि रामहरिले ‘यदि पार्टीले निवेदन फिर्ता लिन भनेको हो भने आफूलाई पार्टीको लिखित पत्र चाहिने’ जवाफ दिएका छन् । रामहरिले लिखित पत्र माग्नुलाई पनि रमण श्रेष्ठले स्वाभाविक रूपमा लिन खोजेनन् र भने, ‘किन चाहियो तपाईंलाई पत्र ?’
यसरी एमाओवादी नेतृत्वले सूचना माग्ने एक सचेत नागरिकलाई सही सूचना उपलब्ध नगराएर उल्टै धम्क्याउनुले ‘अमीक शेरचन कमिटी’ एउटा नौटंकी मात्र भएको स्पष्ट गराएको छ । स्मरणीय छ, एमाओवादी नेतृत्वले लडाकुको नाममा करिब पौने तीन अर्बबराबरको भ्रष्टाचार गरेको अनुमान गरिएको छ । भ्रष्टाचारबारे गम्भीर ढङ्गले पार्टीभित्रै आवाज उठेपछि कार्यकर्ताहरूको आक्रोशलाई मत्थर पार्न मात्र छानबिन समिति गठनको नाटक मञ्चन भएको थियो । यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको भए पनि अख्तियारका तात्कालिक सचिव भगवती काफ्लेले ‘पार्टीमा छानबिन भएकोले हामीले गर्नु नपर्ने’ भन्ने गैरजिम्मेवारपूर्ण जवाफ दिएका थिए । अख्तियार पार्टीले छानबिन गर्दै छ भनेर पन्छिने, पार्टीले चाहिँ केही पनि नगर्ने भएपछि मुलुकको इतिहासकै सबैभन्दा ठूलो भ्रष्टाचार प्रकरण त्यसै सेलाएर जानसक्ने सङ्केतहरू देखिएका छन् । यस सम्बन्धमा चासो देखाउने नागरिकलाई समेत धम्क्याउन थालिएपछि मुलुकमा भ्रष्टाचारीहरूको मनोबल कति बलवान भएको छ भन्ने स्पष्ट हुन पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले