गैर आवासीय नेपाली संघ ईटालीको अन्तरक्रिया कार्यक्रम सम्पन्न

२२ कार्तिक २०६९, बुधबार २३:१६ मा प्रकाशित

शेर बहादुर राना, ईटाली । इन्टरपोलको महासभामा भागलिन आउनु भएका गृहमन्त्री बिजय कुमार गच्छदारको नेतृत्वमा आएको नेपाली प्रतिनिधि मण्डलको सम्मानमा ईटालीको राजधानी रोममा एनआरएन ईटालीले स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा गृहमन्त्री बिजय कुमार गच्छदार प्रमूख अतिथि तथा नेपाल प्रहरीका महानिरीक्षक कुबेर सिंह राना, सशत्र प्रहरी बल नेपालका महानिरीक्षक कोष राज वन्त , नेपाल सरकारका उपसचिव डिल्ली पोख्रेल एवं प्रहरी उपरीक्षक पुष्कर कार्की अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । उक्त अन्तरक्रिया कार्यक्रम गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ईटालीका अध्यक्ष डा अनिल भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा रोम समाजका अध्यक्ष देव राज गुरुङ, एन.आर.एन.ए. ईटालीका संस्थापक उपाध्यक्ष तथा बर्तमान सल्लाहकार श्री क्षेत्र कुमार श्रेष्ठ, संस्थापक महासचिव राम जीबी पन्थ, बिभिन्न राजनीतिक संगठनका प्रतिनिधिहरु, ईटालीको विभिन्न शहरबाट लगभग ८० जना नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लगायत ईटालियन पाहुनाहरुको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रमको शुरु नेपाली र ईटालियन राष्ट्रिय गीत बजाएर गरिएको थियो भने एन.आर.एन.ए. ईटालीका युवा प्रतिनिधि श्री डम्मर बहादुर गुरुङले उपस्थित सबैलाई स्वागत गर्दै स्वागत मन्तब्य राख्नु भएको थियो । साथै महिला सदस्य श्रीमती पार्बती शेरचनले नेपालबाट पाल्नु भएका पाहुनाहरुलाई खादा ओढाएर स्वागत गर्नु भएको थियो । नेपाली समाज रोमका अध्यक्ष श्री देवराज गुरुङले नेपालबाट पाल्नु भएका पाहुना हरुलाई सभ्यताको शहर रोममा स्वागत गर्दै रोम शहरको इतिहास माथि बिशेष प्रकाश पार्नु भएको थियो ।

एन.आर.एन.ए. ईटालीका संस्थापक महासचिव श्री राम जीबी पन्थले अतिथिहरुलाई स्वागत गर्दै राष्ट्रको समस्याको कारण राजनीतिक अस्थिरता भएकोले यसको समाधान पनि राजनीतिक तहबाट नै हुने भएकोले नेपालको राजनीतिक दलहरुले यस प्रति गम्भीर भई देशलाई छिटो भन्दा छिटो राजनीतिक निकाश दिनु पर्ने कुरामा जोड दिनु भएको थियो । साथै एन.आर.एन.ए. ईटालीले स्वागत एवं अन्तरक्रिया कार्यक्रमको आयोजना गरेकोमा एन.आर.एन.ए. ईटालीलाई बिशेष धन्यबाद दिनु भएको थियो ।
एन.आर.एन.ए. ईटालीका अध्यक्ष डा. अनिल भट्टराईले अतिथिहरुलाई ईटालीमा हार्दिक स्वागत गर्दै एन.आर.एन.ए. ईटालीको भित्तेपात्रो उपहार स्वरूप प्रदान गर्नु भएको थियो । साथै उहाँले मन्त्री ज्यू लगायत सम्पूर्ण पाहुनाहरुलाई ईटालीबासी नेपालीहरुसंग भेटघाट एवं अन्तरक्रिया कार्यक्रम गर्ने मौका दिनु भएकोमा खुसी व्यक्त गर्दै एन.आर.एन.ए. ईटालीको तर्फबाट हार्दिक धन्यबाद दिनुका साथै रोमको बसाई सुखद र सफल होस् भनि शुभकामना ब्यक्त गर्नु भएको थियो । अध्यक्ष भट्टराईले स्लाईड शोद्वारा एन.आर.एन.ए. ईटालीले नेपाल र नेपालीकोलागी हाल सम्म गरेको कार्य बिवरण प्रस्तुत गर्नु भएको थियो । नेपाललाई प्राकृतिले सबै कुरा दिएको र हामीसंग भएका प्राकृतिक स्रोतहरुलाई सरकारी तहबाट राम्रो व्यवस्था गरि उपयोग गर्न सकेमा नेपालको मुहार छिटै फेर्न सकिने उहाँको भनाई रहेको थियो । हामी प्रकृतिको धनी राष्ट्र एवं संस्कृतिको धनी राष्ट्र भएतापनि गरिब देशको गरिब जनता भई बाच्नु परेको छ, सबै नेपालीलाई सम्पन्न र बिकसित देशको नागरिक भई बाच्ने रहर भएको भन्दै नेपालका राजनीतिक दलहरुले छिटो भन्दा छिटो देशलाई राजनीतिक निकाश दिन सकुन भनि शुभकामना व्यक्त गर्नु भएको थियो । उहाँले ईटालीबासी नेपालीहरुलाई ईटालीबाट नेपाल गई फेरी ईटाली फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा हुने समस्याहरु माथी प्रकाश पार्दै माननीय उपप्रधान एवं गृहमन्त्रीज्यूलाई नेपाल सरकारको परराष्ट्र मन्त्रालय मार्फत समस्याको समाधानको लागी सक्दो पहल गरिदिनुहुन अनुरोध गर्दै ईटालीबासी नेपालीहरुको अन्य बिबिध समस्याहरु समेत उल्लेखित ज्ञापन पत्र हस्तान्तरण गर्नु भएको थियो ।
नेपाल सरकारका माननीय उपप्रधान एवं गृहमन्त्री श्री बिजय कुमार गच्छदार ज्यूले ईटालीमा बसोबास गर्ने नेपालीहरुसंग भेटघाट तथा अन्तरक्रिया गर्न पाएकोमा बिशेष खुशी व्यक्त गर्दै एन.आर.एन.ए. ईटाली र उपस्थित सबैलाई धन्यबाद दिनु भएको थियो । एन.आर.एन.ए. ईटालीले नेपाली र नेपालकोलागी गर्दै आएको गतिबिधि अत्यन्त सह्रानीय भएको र भबिष्यमा पनि यस्ता कार्यहरुको निरन्तरता रहने कुरामा विश्वस्त रहेको उहाँको भनाई थियो । दोस्रो विश्व युद्धको दौरान ईटालीमा सहादत प्राप्त गर्नु भएको गोर्खाहरुको सम्झनामा ५९१ जना गोर्खालीहरुको चिहान रहेको ठाउँ ईटालीको रिमिनीमा हालै एन.आर.एन.ए. ईटालीले आयोजना गरेको श्रद्धान्जली सभा अत्यन्तै सह्रानीय कार्य भएको र एन.आर.एन.ए. ईटालीद्वारा उठाइएको ईटालीको गोर्खाहरुसंग जोडिएको ईतिहासलाई नेपाली पाठ्यपुस्तकमा समाबेस गर्न गरिएको सुझावलाई आफुले सकारात्मक रुपमा लिएको र नेपाल सरकारमा पनि रिमिनि गोर्खा चिहानको बारेमा छलफल गरी सरकारी तहबाट पहल गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । नेपालको राजनीतिक गतिबिधिहरुको जानकारी गराउँदै अब चाँडै नै राजनीतिक सहमति हुने कुरामा विश्वस्त हुन उपस्थित सबैमा आग्रह गर्नु भयो भने बिदेशमा बसोबास गर्ने नेपालीहरुको चिन्तन स्वभाविक भएको र यस प्रति नेपाली राजनीतिक दलहरु पनि चिन्तित रहेको कुरा स्पष्ट पार्नु भएको थियो ।

कार्यक्रमको अन्तमा एन.आर.एन.ए. ईटालीका सांस्कृतिक संयोजक श्री अनिल गुरुङको संयोजकत्वमा कलाकार सुश्री रीता रानाभाटको नृत्यले सबैलाई मनोरञ्जन गराएको थियो भने गीतको बोल “पूर्बको मेची नि हाम्रै हो पश्चिम महाकाली नि हाम्रै हो, हामी नेपाली हाम्रो नेपाल” ले सबैलाई भाबुक बनाएको थियो ।

कार्यक्रम सञ्चालन गर्दै एन.आर.एन.ए. ईटालीका महासचिव शेर बहादुर रानाले ईटालीबासी नेपालीको समस्याहरुबारे बिस्तृत जानकारी गराउँदै नेपाल सरकारबाट समाधानको पहल हुने कुरामा विश्वस्त एवं गहिरो आशा व्यक्त गर्नु भएको थियो । उहाँले उपस्थित सम्पूर्ण नेपालीहरुमा उपस्थितिकोलागि बिशेष धन्यबाद व्यक्त गर्दै उहाँले ईटालीकालागी नेपाल सरकारका महाबाणिज्यदूत श्री पाओलो नुगारी ज्यू लगायत ईटालियन सुरक्षा कर्मीहरुलाई पनि बिशेष धन्याबाद दिनु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत

लस एन्जेलस। अमेरिकाको आर्टिसिया शहरमा नेपाली मूलका रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त भएका छन्। सिटी काउपन्सिलको

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको