एमाओवादी अध्यक्ष दाहालको चार दाउ

२२ कार्तिक २०६९, बुधबार ०९:३६ मा प्रकाशित

काठमाडौं, २२ कात्तिक । संविधानसभाको स्वाभाविक मृत्युपश्चात् एमाओवादी अध्यक्ष प्रचण्ड चारवटा विकल्प बनाएर आफूले तर्जुमा गरेको विकल्प लाद्न रणनीतिक चालबाजीका साथ अघि बढ्नुभएको जानकारी प्राप्त भएको छ । जानकारीअनुसार उनको पहिलो विकल्प राजनीतिक दलहरूबीच सहमति बनाई आफ्नै नेतृत्वमा सरकार गठन गर्ने भन्ने थियो र उक्त विकल्प कार्यान्वयनका निम्ति उनले सुरुका केही समय होसियारीपूर्वक आफ्नो सक्रियता बढाएका थिए ।  तर, आफ्नो नेतृत्वमा सरकार गठन हुने कुनै सङ्केत नदेखिएपछि उनले दलहरूबीचको सहमतिबाट आफू प्रधानमन्त्री बन्ने विकल्प तत्कालका लागि स्थगित गरे र प्रचण्डको दोस्रो विकल्प संविधानसभाको पुनस्र्थापना बन्यो । काङ्गे्रसलाई सरकारको नेतृत्व दिएर भए पनि संविधानसभा पुनस्र्थापना गर्ने र पुनस्र्थापना भइसकेपछि संविधानसभाबाटै आफू बहुमतको प्रधानमन्त्री बन्ने उनको योजना थियो । दलहरूबीचको सहमतिबाट अहिले जसलाई सरकारको नेतृत्व दिए पनि संविधानसभा अस्तित्वमा आइसकेपछि संविधानसभाको निर्णय नै सर्वमान्य हुने र सभामा आफ्नो पक्षमा स्पष्ट बहुमत जुट्ने प्रचण्डको विश्वास थियो । तर, काङ्गे्रस र एमालेलगायतका दलहरू औपचारिक निर्णय गरेरै पुनस्र्थापनामा नजाने ताजा जनादेशमा जाने भएपछि प्रचण्डको योजना अलपत्र बन्न पुग्यो । संविधानसभा पुनस्र्थापनामा जान जातिवादी पश्चिमा मुलुकबाहेक अन्य कुनै पनि अन्तर्राष्ट्रिय शक्तिहरू तयार नभएपछि प्रचण्ड आफ्नो दोस्रो विकल्प पनि तत्कालका लागि स्थागित गर्न बाध्य हुनुभएको छ । उनको तेस्रो विकल्प डा. बाबुराम भट्टराई नेतत्वको सरकारमा काङ्गे्रस, एमालेलगायत सबै हैसियतवाला दलहरूलाई सामेल गर्ने र निर्वाचनमा जाने भन्ने रहयो र अहिले त्यसैले कार्यान्वयन गर्न प्रचण्ड सक्रिय हुनुभएको छ । बाबुराम नेतृत्वको सरकारलाई सहमतीय सरकारमा रूपान्तरण गराउन राष्ट्रपतिमाथि पनि अहिले दबाब सिर्जना गरिएको छ । बाबुरामको नेतृत्वलाई स्वीकार गरिएमा पूर्वसंविधानसभामा दोस्रो ठूलो दलको हैसियतमा रहेको नेपाली काङ्गे्रसलाई मन्त्रालय छान्न पहिलो मौका दिने र त्यसपछि एमालेलाई मन्त्रालय रोज्ने मौका दिने प्रचण्ड–बाबुरामको योजना छ । तर, काङ्गे्रस र एमाले कुनै पनि हालतमा भट्टराईको नेतृत्वलाई स्वीकार नगर्ने पक्षमा छन् । अब पनि बाबुरामकै नेतृत्वलाई स्वीकार गर्नु भनेको आत्मघाती कदम चाल्नु हो भन्ने बुझाई काङ्गे्रस–एमाले नेतृत्वको छ । त्यसैले प्रचण्ड आफ्नो तेस्रो विकल्पको कार्यान्वयनमा पनि सफल बन्ने सम्भावना देखिएको छैन । तथापि प्रचण्डले आफ्नो यो (तेस्रो) विकल्प कार्यान्वयनका निम्ति सक्रियता देखाउन भने छोड्नुभएको छैन । नेपाली काङ्गे्रसको महामन्त्रीसमेत रहेका झापाका कृष्ण सिटौलालाई बाबुराम नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनाउने वचन दिएर प्रचण्डले यस कार्यका लागि सिटौलालाई उपयोग गर्न खोजिरहेका छन् । तर, काङ्गे्रस सभापति सुशील कोइराला बाबुरामलाई विस्थापित गर्न दृढ रहनुभएकोले अहिलेसम्म सिटौलाले काङ्गे्रसभित्र खेल्ने आँट झिक्न सकेका छैनन् । त्यसैले प्रचण्ड तेस्रो विकल्प कार्यान्वयनमा पनि असफल हुने स्थिति देखापरेको छ । तेस्रो विकल्प पनि असफल भएमा प्रचण्डले अन्तिम र चौथो विकल्पका रूपमा गैरदलीय व्यक्तिको नेतृत्वमा सरकार गठनलाई अघि सार्ने भएका छन् । कोही पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख या नागरिक समाजका अरू कुनै मान्य व्यक्तिको नेतृत्वमा दलका प्रतिनिधि सम्मिलित सरकार गठनलाई आफ्नो ‘बटमलाइन’ बनाउने प्रचण्डको योजना छ । यसनिम्ति अनुपराज शर्मा, रामप्रसाद श्रेष्ठ, दमननाथ ढुङ्गाना र लोकराज बराल प्रचण्डको ‘च्वाइस’मा परेका छन् । कतिपयले केदारभक्त माथेमा र देवेन्द्रराज पाण्डेको नाम पनि लिएका छन् । अहिले नै चौथो विकल्पमा प्रवेश नभइसकेकोले व्यक्तिका नामहरू सतहमा ल्याइएका छैनन् । तर, तेस्रो विकल्प कार्यान्वयन नहुने निष्कर्षमा पुगिसकेपछि स्वतन्त्र व्यक्ति नेतृत्वको सरकार गठनको प्रस्ताव गर्ने सोच प्रचण्डले बनाइसक्नुभएको छ । चौथो विकल्पमा पनि काङ्गे्रस–एमाले सहमत नभए त्यसबाट पछि नहट्ने र जे परी आउँछ त्यसको सामना गर्ने मानसिकतामा प्रचण्ड रहनुभएको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ – नेपाली काँग्रेस आसन्न १४ औँ केन्द्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । यही मंसिर २४ देखि २७

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौं।नेपाली कांग्रेसको १४औँ महाधिवेशन अबको तीन दिनपछि सुरु हुँदै छ । काठमाडौंमा आउँदो शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ नेतृत्वसहित कार्यसमिति