सूर्यबहादुरलाई दिँदा राम्रो : खड्का

२२ कार्तिक २०६९, बुधबार ०८:३१ मा प्रकाशित

काठमाडौं, २२ कात्तिक ।नेपाली काङ्गे्रसका नेता खुमबहादुर खड्काले काङ्गे्रसको नेतृत्वमा सरकार बन्न नसके सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाइनुपर्ने विचार व्यक्त गर्नुभएको छ । उनको भनाइ छ, ‘राजनीतिक व्यक्ति नै प्रधानमन्त्री बन्नुपर्छ । नेपाली काङ्गे्रसको नेतृत्वमा सहमति बने राम्रो, नभए विकल्प खुला हुनुपर्छ । काङ्गे्रस नेतृत्वमा सरकार बन्दा सबैलाई राम्रो हुन्छ, तर त्यो मैले सम्भव देखिरहेको छैन । यस्तो स्थितिमा सूर्यबहादुर थापाको नेतृत्वमा सहमतीय सरकार बन्दा राम्रो हुन्छ ।’ खड्काले अझ स्पष्ट गर्दै भने, ‘नेपाली काङ्गे्रस नेतृत्वले पनि थापालाई समर्थन गरे हुन्छ । उनलाई कर्मचारी, प्रहरी, सेनाको अलावा दलका प्रभावशाली नेताहरूले समेत टेर्छन् । उहाँमा लामो राजनीतिक अनुभव छ । थापाको नेतृत्वमा सहमतीय सरकार बन्दा निकास निस्कन्छ जस्तो लाग्छ ।’
डिल्लीबजारस्थित सदरखोरमा अन्यायपूर्वक बन्दीजीवन बिताइरहनुभएका नेता खड्काले घटना र विचारसंग भने, ‘जनमतसङ्ग्रहमार्फत या सीधै घोषणा गरेर हिन्दू गणतन्त्रमा जानुपर्छ । एकाउन्न प्रतिशत मुस्लिम रहेको देश इस्लामिक गणतन्त्र हुने, विकासको उपल्लो तहमा पुगिसकेका पश्चिमा मुलुकहरूसमेत इसाई धर्मका लागि त्यत्रो सक्रियता देखाउने, अनि सतहत्तर प्रतिशत हिन्दू रहेको देश किन हिन्दू गणतन्त्र नहुने ?’ राजनीतिक गतिरोधको अन्त्य कसरी हुनसक्ला भन्ने प्रश्नको जवाफमा खड्काले भनाइ छ, ‘नमिलेका महत्वपूर्ण सवालको टुङ्गो लगाउन जनतासँग प्रत्यक्ष प्रस्तुत हुनैपर्छ । राज्य पुनर्संरचना, हिन्दू गणतन्त्रलगायतका विषयमा जनमतसङ्ग्रह हुनुपर्छ । केही व्यक्तिको निहित स्वार्थमा र बाह्य शक्तिको लहडको भरमा मनलागी निर्णय मान्न हुँदैन । यसले समस्यालाई बढाउँछ मात्र ।’
० कारागारभित्र कसरी समय बिताइरहनुभएको छ ?
– मेरा लागि जेल नौलो होइन । पञ्तायतकालमा साढे आठ वर्ष जेल सजाय भोगेको थिएँ ।
बिहान चार बजे उठ्छु, जेलभित्रै हिँड्छु । साथीभाइहरूसँग भेटघाट गर्छु खाना खाइवरी आराम गर्छु अनि पत्रपत्रिका पढ्छु, रेडियो सुन्छु र टेलिभिजन हेर्छु । भेटघाटमा आएकासँग भेटेर दैनिकी पनि लेखिरहेछु ।
० पुस्तक लेखिरहनुभएको त छैन ?
– अहिले छैन । सम्झेको, भोगेको र सुनेको महत्वपूर्ण विषयबारे टिपोटचाहिँ गर्ने गरेको छु ।
० पछिल्लो राजनीतिक घटनाक्रमले कस्तो भविष्यको सङ्केत गर्दछ ?
– देश अनिर्णयको बन्दी छ । गृहयुद्धतर्फ जाने खतरा देखिन्छ ।
० गृहयुद्धको खतरा किन देख्नुभयो ?
– माओवादी आफूअनुकूलको राजनीतिक परिस्थिति निर्माण गर्न चाहन्छ । उसले संसद् पुनस्र्थापना भन्नुमा गम्भीर षड्यन्त्र छ । संसद् पुनस्र्थापनामा गए गृहयुद्ध निश्चित छ ।
० गृहयुद्ध होला र ?
– संसद् पुनस्र्थापना गराउन माओवादी सफल भए गृहयुद्ध निश्चित छ । माओवादी त्यही चाहन्छ । उसको रणनीति त्यही दिशातर्फ उन्मुख छ ।
० नयाँ चुनावमा जाने कुरा आएको छ नि ?
– चुनावमै जानुपर्छ । चुनावको विकल्प छैन । तर, चुनावले पनि निकास दिन सक्दैन भन्ने मेरो ठम्याइ हो । यसले पनि द्वन्द्व चर्कन्छ–चर्कन्छ ।
० उसो भए निकास कसरी आउँछ त ?
– वार कि पारमा नगई सुखै छैन । शान्तिप्रक्रिया टुङ्गिएको छैन । युद्धको अन्त युद्धबाटै हुन्छ भन्ने मेरो ठम्याइ हो । देश त्यही दिशातर्फ अघि बढ्छ ।
० देशमा कसका कारणले युद्ध हुन्छ ?
– अहिलेको गतिविधिले यस्तै सङ्केत गर्दछ । माओवादी शान्तिको पक्षमा इमानदार नभएपछि अर्को युद्धको सम्भावना बढ्दै छ । माओवादी साँच्चिकै फुटेको हो र प्रचण्ड र मोहन वैद्य मिलेको छैन भने एकपटक युद्ध अवश्यम्भावी छ । मोहन वैद्यजीहरू एकपटक द्वन्द्वमा जान्छन् जान्छन् ।
० तपाईं राजसंस्था ब्युँताउनुपर्छ भन्ने पक्षपाति त होइन ?
– म राजसंस्थाबारे बोल्न चाहन्न“ । राजसंस्था चाहिने या नचाहिनेबारे पनि जनमतसङ्ग्रह गरे हुन्छ । पूर्वराजालाई सक्रिय बनाउन दलहरूको भूमिका नै जिम्मेवार छ । अहिले पनि जिल्ला–जिल्लामा निषेधको राजनीति गरेर पूर्वराजाको लोकप्रियता बढाउन दलहरूनै उद्यत् छन् ।
० सङ्घीयता कति सम्भव छ ?
– म सङ्घीयताको पक्षपाती होइन । गिरिजाप्रसाद कोइरालासँग मेरो कुरा नमिलेको विषय भनेकै सङ्घीयता हो । जनआन्दोलनको म्यान्डेट सङ्घीयता थिएन । सङ्घीयताले राष्ट्रियतालाई सङ्कटमा पार्छ ।
० जातीय राज्य सम्भव छ ?
– जातीय राज्य हुनै सक्दैन । सङ्घीयतामा जाने नै हो भने गैरजातीय हुनुपर्छ । मधेसमा दुई प्रदेश ठीक छ । भौगोलिक आधारमा राज्य बन्नु सकारात्मक हो । देशलाई सङ्घीयता नभई विकेन्द्रीकरणको आवश्यकता छ ।
० तर, महन्थ ठाकुरको नाम पनि चर्चामा छ ?
– राष्ट्रपति मधेसीबाट भइसकेपछि प्रधानमन्त्री पनि मधेसीबाट हुँदा सबै मधेसको हुन जान्छ । प्रधानमन्त्री अहिलेलाई गैरमधेसी हुँदा राम्रो हुन्छ ।
० गैरराजनीतिक व्यक्तिको नेतृत्वमा चुनावी सरकार बन्ने प्रसङ्ग उठाइएको छ नि ?
– यो छलकपटका लागि उठाइएको विषय हो । स्वतन्त्र व्यक्ति भनाउँदा केहीबाहेक अधिकांश बिकाउ छन् । तिनले वास्तविक स्वतन्त्र व्यक्तिको पहिचान राख्दैनन् ।
० नेपाली काङ्ग्रेसको भविष्य कस्तो देख्नुहुन्छ ?
– काङ्ग्रेसको नेतृत्वले लिने नीतिबाटै भविष्य निर्धारण हुन्छ । काङ्ग्रेस तत्काल बीपीको विचारमा फर्कनैपर्छ । त्यसो नगरे काङ्ग्रेस राप्रपाजस्तो हुँदै प्रजापरिषद्को हालतमा पुग्छ । बीपीको विचार त्याग्दा काङ्ग्रेस कमजोर भएको छ ।
० काङ्ग्रेस बीपीकै विचारमा चलिरहेको होइन र ?
– बीपीको विचारलाई परित्याग गरेकोले यो हालतमा पुगेको हो । जीपी कोइरालाले सत्ता स्वार्थका लागि आफ्नै दाइ बीपीको विचारलाई त्यागेका कारणले आज काङ्ग्रेस भूमिकाविहीन भएको छ । विचारशून्य जस्तै छ ।
० काङ्ग्रेस नेतृत्व कमजोर भएको हो ?
– नेतृत्व कमजोर भएको छ । निर्णय क्षमता छैन । प्रचण्डले बोलेपछि प्रतिक्रिया दिनमै सीमित छ । काङ्ग्रेसजस्तो शक्तिशाली दलको नेताले दरिलो रूपमा प्रस्तुत भएर एजेण्डा सार्नुपर्छ । प्रतिक्रिया दिएर हिँड्ने होइन ।
० देशलाई यो अवस्थामा ल्याउने दोषी को हो ?
– विगतमा चुनाव नगराउनु शेरबहादुर देउवाको दोष हो । त्यसपछि २०१७ सालको जस्तै राजा बन्न चाहने महत्वाकाङ्क्षा राख्नु ज्ञानेन्द्र शाहको दोष हो । सत्ताका लागि सम्झौता गरेर माओवादी रणनीतिमा फस्ने गिरिजाप्रसाद कोइराला उत्तिकै दोषी हुन् ।
० जेलबाट छुटेपछि के गर्नुहुन्छ ?
– म यत्रो वर्ष राजनीति गरेर आएको मान्छे हुँ । धेरैपटक जेल पनि परेको छु । चुनौतीहरू सामान्य लाग्छ । म मैदानबाट भाग्दिनँ । फलामले फलाम काट्छ । माओवादीसँग भिड्नुको विकल्प देख्दिनँ । तरुण दस्ता खोल्छु । तयारी गर्न निर्देशन दिइसकेँ । बाहिर निस्केपछि गाउँगाउँ पुगेर तरुण दस्ता सक्रिय पार्छु । काङ्ग्रेसलाई बलियो बनाउन आवश्यक परे भिड्नसक्ने तरुणहरू चाहिएको छ । नत्र माओवादीले काङ्ग्रेस समर्थकहरूलाई कहीँ टिक्न दिँदैनन्, त्यसको प्रतिरोध गर्ने सामथ्र्य काङ्ग्रेसले राख्नुपर्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राजीनामा दिनुपर्ने चौतर्फी दबाबमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबार पनि मुद्दा सुनुवाइको पेसी सार्वजनिक गरेका छन् । कार्यपालिकामा

तनहुँ । कात्तिकको सुरुवातसँगै भएको बेमौसमी वर्षा तनहुँमा शनिबारदेखि रोकिएको छ । सोमबारदेखि बल्ल घाम लाग्न सुरु भए पनि मौसम

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

आजको प्रमुख समाचार