कथा– अन्तर्द्वन्द सुबिन भट्टराई

२१ कार्तिक २०६९, मंगलवार ०८:३२ मा प्रकाशित

‘तपाइँ यो बच्चाकी आमा ?
यो एउटा नियमित प्रश्न । कसैसँग केही अन्तरङ्ग हुँदा एक वा दुइ संवाद साट्नेबित्तिकै ममाथि आइपर्ने प्रश्न । प्रश्न के भनौँ एउटा मीठो बज्र प्रहार भनेपनि हुन्छ । अलिकति स्पष्टीकरणको मौकाका लागि मिठास् अनुभव गर्दछु भने उतिखेरै त्यो सत्यसितै टाँसिएर आउने विषादयुक्त अतीतले मलाई पीडाको उत्कर्षमा पु¥याउँछ । यद्दपि म त्यो व्यक्तिबाट यो प्रश्नको अपेक्षा गरिरहेकी हुन्छु तर पनि प्रश्न प्रत्यासित लाग्दैन । एक्कासी आकाशबाट ओइरिएको चट्याङ्गजस्तो लाग्छ ।

र म सत्य बताइदिन्छु ।
अनि एक लामो सुस्केरा तान्छु । र अनेक अन्तद्र्वन्द्वपश्चात् म विषादको अतीत बिर्सेर सत्यको अनावरण भएकोमा रोमान्चित हुन्छु, कमसेकम त्यस क्षण । यसो भने पनि फरक नपर्ला –म क्षणिक रोमान्चका लागि त्यो विषादको अतीत बिर्सने गर्छु । प्रश्नकर्ताप्रति कृतकृत्य रहन्छु क्षणभरकै लागि । आफू केही सफल भएको ठान्छु, कमसेकम एकै व्यक्तिका अघिल्तिर भएपनि सत्य बाहिरियो । म चाहान्छु, यो बर्षौदेखि बिझेको काँडासरी सत्य जरैदेखि उखेलिएर जाओस् ।
तर सत्यभित्रको अर्को सत्य यति बिद्रुप र विवश छ कि मलाई बिर्सेर पनि ती सम्झिन मन लाग्दैनन् । तर मेरो यो काखको बालक मलाई त्यसो गर्न कहाँ दिन्छ र ? यसको अनुहार जति नै निर्दोष छ त्यति नै कुत्सित छ यसको इतिहास ।
हो यो ठोस सत्य हो कि म यसकी आमा होइन ।
यहि सत्य त हो जसको मोचनपश्चात् म आफूलाई हलुङ्गी महशूश गर्छु । एउटा छटपटीको अन्त्य हुन्छ म भित्र । आफू यसकी आमा नभएको कसैलाई बताउन पाउनु गंगा नुहाउनु जत्तिकै लाग्छ ।

काठमाण्डौको बसाइ थियो । बिल्कुलै एक्ली र असहाय । एउटा प्रोजेक्टको जागिर फेला नपरेको भए जीवन सायद अभावग्रस्त पनि हुन्थ्यो । अविवाहित नै थिएँ । कुनै केटोसित प्रेम गर्न सकेकी थिइँन । न कसैले आफूलाई प्रेम प्रस्ताव राखेको थियो ।
‘बूढीकन्ये रहलिस् ! बिहे गर् अब ’ कोही परिचित भन्ने गथ्र्यो कहिलेकाँही ।
तर कसैले मेरा लागि एउटा केटो खोजिदिने हिम्मत गर्दैनथ्यो ।
‘भाग्यमा जे छ, त्यै भोग्ने हो’ म उनीहरूको यस किसिमको प्रतिक्रियामा उपेक्षापूर्वक हाँसोका साथ यसो भन्दिन्थेँ । म बुझ््थँे किन उनीहरू मलाई यस्तो सुझाव दिन सक्छन् तर समाधान दिन सक्दैनन् । खैर म उनीहरूको लाचारीलाई नङ्ग्याउन चाहान्नथेँ । कारण–त्यहाँ म स्वयम् पनि त नाङ्गीएकी हुन्थेँ । यसर्थ आफ्नो भविष्य र भाग्यको तारतम्यप्रति प्रसङ्गलाई परिलक्षित गर्दै आफ्नो घीनलाग्दो अतीत र उनीहरूको लाचारीलाई छोपिदिरहेकी हुन्थेँ ।
यिनै एक्लोपनाका दिनहरूमा एकदिन रोमा आइपुगी । मेरी दिदी । साँझ झमक्क परिसकेको थियो । म अफिसबाट भरखर आएकीले सोफामा आरामसाथ अढेस लागेर बाहिर केराका पात हल्लिरहेको दृश्य हेरिरहेकी थिएँ । हावाका बहावसँगै बाहिर पानी परिरहेको थियो । बडो आनन्ददायक दृश्य थियो त्यो । एक्कासी गेटको घण्टीले तर्सिएँ । गेट खोलेँ । रोमा पुरै निथु्रक्कै भिजेकी अवस्थामा थिई । खुट्टा लरबराइरहेको थियो । अनुहार एकदमै मलिन । कपाल पनि तितरबितर थियो । यस्तो लाग्थ्यो मानौँ कोषौं भागेर आएकी छे । सारी भिजेर पुरै पारदर्शी भएको । लज्जाका अङ्गहरूको आकार बाहिरबाटै स्पष्ट देखिने भैसकेको थियो ।
हत्तनपत्त उसलाई भित्र हुलेँ । उसितको सम्बन्धको इतिहासलाई मेरो मस्तिष्कको कुनै पनि कोषिकाले स्मरण गर्न चाहेन । मैले मेरा अघिल्तिर मेरी दिदी रोमा छे भनेर सोचिनँ, जो हाम्रा लागि मरिसकेकी थिई । एउटी असहाय गर्भवती नारीको त्यस किसिमको बिचल्लीको अवस्था देखेर कुन नारी–हृदय द्रभिभूत नहोला ? सबै कुराप्रति निरपेक्ष रहेर मैले त्यसो गरेँ । अर्थात् उसलाई भित्र हूलेँ ।
दुइ महिनासम्म ऊ मकहाँ बसी । करीब एक हप्तासम्म अर्धचेत अवस्थामा सुतीरही । तीन चार दिनसम्म त मपनि अफिस नगइ उसैको स्याहार गरेर बसिरहेँ । एक हप्तापछि ऊ तङ््ग्रिएकी थिइ । म उसित उसको त्यस अवस्थाका बारेमा केही सोधपुछ गर्न सक्थेँ, तर गरिनँ । ऊ पनि मसित ठीकठाक आँखा जुधाउन सकिरहेकी थिइन । म बिचार गरिरहेकी हुन्थेँ, जब उसलाई राखिएको कोठाको ढोका खोलेर म भित्र छिर्थेँ, ऊ अपराधिनी झैँ एकपल्ट झसङ्ग तर्सिन्थी । अनि म उसको अगाडि पर्नासाथ भित्तातिर हेर्थी, मानौ त्यहाँ मेरो उपस्थिति भएकोबारे ऊ अनभिज्ञ छे । ऊ सायद मलाई आफूले गरेको गल्तीको स्पष्टीकरण माग्न आएकी ठान्दी हो । तर उसको गल्ती कुनै स्पष्टीकरणका निम्ति योग्य थिएन । गल्ती होइन त्यो त अपराध थियो ।
कमसेकम उसको कारणले आमाले आत्महत्या नगरेको भए म उसको त्यस कदमलाई गल्तीमै सीमित राख्थेँ होला । तर ऊ मेरा आँखामा यौटी खुंखार अपराधिनी भइ । छे । र उसको स्पष्टीकरणले मरेकी आमा फिर्ता हुन पनि कहाँ सम्भव थियो र ?

उसले प्रेम गरी । जोसित प्रेम गरी त्यसैसित भागी पनि । यतिले मात्रै भए केही थिएन, मै उसको प्रेममा सहायकको भूमिका खेलेर समाजका अघिल्तिर उभ्याइदिने साहस गर्दी हुँ । तर प्रश्न उठ्छ प्रेम कोसित गरी ?
आमा यो कुराको तोड सहन नसकेर घरकै भान्छाकोठामा झुण्डिएर मर्नुभएको थियो कि रोमा हाम्रा मामाका छोरासित पोइल गएकी थिइ । मलाई पनि असह्य भएको थियो । कुनै अड्कल अनुमान पनि थिएन । अपत्यारिलो लाग्ने । तर उसले मेरै सिरानीमुनि छाडेर गएको चिठ्ठीका शब्दहरूले त्यो सत्यलाई सत्य हुनबाट च्यूत गराएन ।
र मलाई आजसम्म पनि त्यो चिठ्ठी पढेर आमालाई सुनाएकोमा अपसोस लागिरहन्छ । रोमाले त्यसरी मेरो सिरानी मुनि चिठ्ठी छाडेर नगएको भएपनि त हुन्थ्यो भन्ने आजपजि मलाई लागिरहन्छ । बरु केही नभनी हिँडेकी भए मरी भनेर दुःख मनाउ गरिन्थ्यो होला । कमसेकम आमाले आत्महत्या गर्नुहुन्नथियो होला ।

तङ्ग्रिएको दुइ हप्तापछि रोमाले छोरो पाइ । र मरी पनि । बच्चा र आमा दुबै जोखिममा थिए–यो डाक्टरको प्रतिक्रिया । रोमा असफल रही सङ्घर्षमा । तर अपसोस एउटा पापको अंश मेरो पोल्टोमा हाल्दिएर मरी । आफू त सुखी भएर बाँच्न सकिन सकिन, मर्ने बेलामा आफ्नो भागको दुख मलाई हस्तान्तरण गरेर मरी । आफ्नो आत्मालाई ढाँट्दिनँ –मलाई ऊ मरेकोमा एक रति पनि दुःख भएन जति उसको यो नाजायज पुत्रलाई जिम्मा लिँदा दुःख भएको थियो ।
‘केही दिन निक्कै बिचार गर्नुहोला । स्थिति अझै राम्रो छैन ।’ बाह्र दिनसम्मको अस्पताल बसाइपछि डिस्चार्ज गर्ने दिनमा बच्चा मलाई जिम्मा लगाउँदै डाक्टरले भनेकी थिइन् ।
ठीक डाक्टरले यसो भनिरहँदा म बच्चालाई कुनै अनाथालयमा जिम्मा लगाउने बारे सोचिरहेकी थिएँ । तर अब स्थिति अलिक मोडियो । मलाई कर लाग्यो ।
घरमा ल्याएर त्यो बच्चाको स्याहार गर्न थालेँ । तेल लगाइदिनु, ख्वाउनु प्याउनु, गुहुमुत सोहर्नु, दिनहुँ आगोमा सेकाउनु, केही महिना यस्तैमा आफ्नो दिन बित्यो । अफिस फेरि बिदा लिनु प¥यो । पछि अति भएपछि एकजना कामगर्ने महिला राखेँ ।
दुइ बर्ष भयो रोमाको नाजायज सन्तानलाई काखी च्यापेको । पछि त काम गर्ने महिलापनि नभ्याउने बताएर हिंडी । कुनै अनाथालय जान पनि सकिरहेकी थिइनँ । जब त्यसबारे सोच्थेँ, एकाएक त्यसलाई हुर्काउँदाका कष्टपूर्ण दिनहरू सम्झिन्थेँ । त्यो टुकुटुकु हिँड्छ । अगाडि दुइवटा दाँत पलाएका छन् । मलाई जानेर हो वा नजानेर ‘ममी’ भन्छ । एकछिन ट्वाइलेट जाँदा पनि ‘ह्वाँ ह्वाँ’ रुन्छ । काखमा लिँदा मेरो गाला मुसार्छ । कहिलेकाँही आफ्नो भरखर पलाएको दाँत गाडेर टोकि पनि दिन्छ ।
सबैका बच्चाबच्ची आफ्नी आमाको छातीमा टाँसिएर निर्बाध स्तनपान गर्छन् । एकछिन यताउता अल्मलियो भने ‘बुबु’ भनी आफ्नी आमाको काखमा लाडिएर पुगिहाल्छन् । तर बिचरो यस बालकले त्यो ‘बुबु’ भन्ने शब्द नै जानेन । मेरो छातीमा स्तनवरिपरि खेल्दापनि त्यसले कहिल्यै आमाको दुधको तिर्सना गरेन ।
एकदिन त्यसले मलाई धेरै सताएकाले नक्कल पारेर रोएको अभिनय गरेको त उल्टै ऊ पनि मेरो छेउमा आएर ‘ममी ममी’ भन्दै ह्वाँ ह्वाँ रुन थाल्यो । साँच्चै म त्यस दिन भित्रैदेखि करुणाले आर्द्र भएँ । धेरै पछि जीवनमा आफू धेरै कमजोर भएको महशूश गरेँ । अन्यथा काठमाण्डौमा एक्लै बसेर गरी खान थालेदेखि यौटा बिचित्रको हिम्मत मभित्र पलाएको थियो । आँखामा केही आँशुका ढिकाहरू आएछन् पनि । वास्तवमा एउटी नारीलाई कमजोर बनाउने उसका आफ्नै सन्तान हुँदारहेछन्, कमसे कम नहुर्किञ्जेल ।
तर के म यसकी आमा हुँ त ? म जसलाई पुत्रवत् व्यवहार गरिरहेकी छु, त्यो मेरो पुत्र होइन । मेरो जीवनको अर्को पाटो पनि छ । हो यो सत्य हो कि म आसक्त भएँ यस बालकप्रति । तर त्यो आसक्ति मेरो आफ्नो मातृत्वको तहसँग बेमेल छ । एउटा स्वाभाविक आसक्ति भन्दा यो अर्थोक केही होइन । करलागि भने पनि फरक नपर्ला । अनि यस किसिमको आसक्तिका लागि मैले आफूलाई जबरजस्ती रुपान्तरण गर्नुपर्छ भन्ने पनि त छैन ।
अन्तद्र्वन्द्व चलिरहन्छ मनभरि । मलाई यस बालकको संसारमा खुम्चिएर विवश बाँच्न मन छैन । बिहे नै नगरी आमा हुनु एउटी नारीको लागि दुर्भाग्य शिवाय अरु केही होइन । तर यो कुरा नै पनि त मेरो हकमा पूर्णतया कहाँ लागू हुन्छ र ? हो, म अविवाहित हुँ । र यस बच्चाकी आमा होइन । बरु कुनै पुरुषसँग रात बिताएर त्यसको परिणति स्वरुप यो जन्मेको भए म त्यसमा बिछट्ट रमाउँदी हुँ । कमसेकम आफ्नै गर्भबाट उत्पादन गरेको सन्तान भनी आत्मसन्तोस लिदीँ हुँ । वा यस बालकलाई हेर्दै जीवनमा बितेको त्यो मीठो रातको कल्पना गर्दै काट्दी हुँ । तर यहाँ त यो बालकसितै एउटा भयानक र बिषादयुक्त कालखण्ड नै मेरा अघिल्तिर आएर तेर्सिन्छ । जब जब म यस बालकलाई घोरिएर हेर्छु तब मलाई यसले रोमाको कपटी अनुहार र झुण्डिएर मरेकी आमालाई सम्झाउँछ । एकैसाथ रीस, क्लेश, अपसोस, छट्पटी, भित्रबाटै पानीको मूल झैँ फुट्न खोज्छ । अधैर्यताले आक्रान्त बनाउँछ क्षणभरमै । कुनै स्पष्टीकरणले आफूलाई चित्त बुझाउन सक्तिनँ । कतै पोखिने ठाउँ पनि छैन । आफैँलाई थुन्छु, निर्विकल्प ।
मान्छेहरु मलाई यस बच्चाकी आमा ठान्न थालेका छन् । बाटो हिन्दा, बच्चालाई अस्पताल लाँदा वा कतै घुमाउन लाँदा मलाई त्यसकी आमा ठान्दा हुन् । न मेरो सिउँदोमा सिन्दुर छ, न गलामा पोते, म कसरी त्यस बच्चाकी आमा हुन सक्छु ? मलाई त्यस अवस्थामा ठूलो ठूलो स्वर गरी चिच्च्याउन मन लाग्छ ‘म यसकी आमा होइन’ भनेर । हो मलाई सक्दो कराउन मन लाग्छ जीवनमा एकपटक पनि कुनै पुरुषको श्पर्श समेत नपाएकी महिला कसरी कुनै बालककी आमा हुन सक्छे ? मलाई यस बच्चाकी आमा कहलाउनमा लाज लाग्छ । घीन लाग्छ । जब जब ऐनामा आफ्नो अनुहार हेर्छु मेरो आफ्नो ठाउँमा यो सिङ्गो समाजको बिम्ब प्रत्यावर्तित भएको पाउँछु, जो मेरो कुमारीत्वमा प्रश्नचिह्न तेस्र्याउँछन् । अनि क्रमशः म आफूलाई रोमाको आकारमा ढल्दै गएकी पाउँछु । कहाली लाग्न थाल्छ जब रोमाको कथा मस्तिष्कमा ओहोरदोहोर गर्न थाल्छ । भित्रभित्रै पोल्न थाल्छ । डाको छोडेर रोइदिउँ जस्तो लाग्छ । सक्दो अपसोस हुन्छ रोमालाई आश्रय दिएको त्यो दिनदेखि । उसको यसै मृत्यु हुनु रैछ, कमसेकम यो बालकलाई जन्म दिएर त मर्ने थिइन । कमसेकम मेरो संभावित गृहस्थी जीवनको सुखभोग त अझ जटिल बन्ने थिएन ।
अफिसका सहकर्मीहरू दिनहुँजसो कुरा काट्छन् । म केही परबाट उनीहरूले मतिर इशारा गर्दै आपस्तमा खासखास खुसखुस गरेको बिचार गरिरहेकी हुन्छु । अघिपछि दुइचार शब्द मीठो बोल्ने पुरुष साथीहरू आजकाल भरसक बोल्न नपरे हुन्थ्थ्यो झैँ गरी तर्किएर हिँड्छन् । बेला बेलामा कोही मतिर हेर्दै केही ब्यङ्ग्यमिश्रित भावमा, ‘छोरो कत्रो भो त ?’ भनी सोधी टोपल्छन् । मलाई असह्य हुन्छ । भित्र कता केही तत्वले कसिलो गरी अँठ्याइरहेको भान हुन्छ । म त्यो कसाइबाट आफूलाई फुत्काउने यथेष्ट बल गर्दा पनि असफल भएकी हुन्छु । त्यो प्रश्नकर्तासित अलिकति रीस उठ्छ । अनि रिसाइसकेपछि एकपल्ट उसैको अगाडि परेर ठूलो स्वरले रुन मन लाग्छ । आँखा सायद केही रसिला भै पनि सकेका हुन्छन् । म यति असहाय र एक्लो अनुभव गर्छु कि लाग्छ संसारका सबै मानिस मेरा शत्रु हुन् । लाग्छ सबै मानिस मेरो खिसि गर्न नै यस संसारमा उपस्थित छन् । कहिलेकाँही यस्तो लाग्छ म बिल्कुलै निर्वस्त्र हिडिँरहेछु र मानिसहरूको मेरा प्रतिको खिसि मेरो नग्नताप्रति परिलक्षित छन् । अनि त म आफूलाई छोप्न नसकी बहुलाही झैँ चिच्याउन मन लाग्छ । कतै अग्लो संरचनाबाट फाल हान्नुजस्तो लाग्छ । या कतै पानीमा डुब्नुजस्तो ।
मलाई कुनै पुरुषले झुक्किएर पनि हेर्दैनन् । एउटा बच्चा बोकेर हिँड्ने आइमाइलाई हेर्छ पनि कसले ? मेरो शरीरमा यो बच्चा गनाउँछ । म आफैँलाई पनि गनाउँछ । यो बच्चा नहुञ्जेल रोमाको पापको इतिहास मसित टाँसिएर आयो र बच्चा भएपछि यसको साबुत अस्तित्व नै मेरो अस्तित्वको अर्को छेउ भएको छ । र मलाई राम्रोसित थाहा छ कुनै कोणबाट पनि यसले मेरो भविष्यलाई मेरो अनुकुल बनाउनेछैन । न म हिजो सुखी थिएँ न आज । र भविष्य ? यद्दपि त्यो अनिश्चित कहलाउने गर्छ, त्यस अनिश्चितता भित्र निश्चितताको स्यानो धर्सो पनि म कतै भेट्दिन । कतै चित्त बुझाउने ठाउँ छैन । र यो सबको कारक रोमा नै हो । म रातदिन यहि सोच्छु कहाँ मिल्काउँ यो रोमाले गरेको पापलाई ? कुन तत्वले म पापमोचित हुन सक्छु ? कसरी मेटाउन सकुँ आफ्नो जीवनमा लागेको यो कुरुप दागलाई ? कहाँ कहाँ कस्कसलाई दिउँ आफ्नो कुमारीत्वको प्रमाण ? सीताले झैँ अग्नीमा हाम फालेर मेरो कुमारीत्वप्रतिको सन्देह मेटिने भए म त्यो गर्न चुक्तिनथेँ ।
बेला बेला असमञ्जसमा पर्छु, कि आफ्नो रित्तो सिउँदोलाई धिक्कारुँ कि भरिएको कोखप्रति सन्तोष गरुँ ?
तर धेरै अन्तद्र्वन्द्व पश्चात् आजकाल म आफैँभित्र कठोर हुँदै यो सोच्न विवश भइरहेछु कि म यस बच्चाकी आमाले गरेको गल्तीको सजाय आजीवन आफ्नो कुमारीत्वले किन चुकाउँ ?

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति