‘प्रक्रिया छोट्याएर पनि संविधान जारी गर्नुपर्ने’

९ चैत्र २०६८, बिहीबार १७:३४ मा प्रकाशित

काठमाडौ, चैत्र ९ – संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले छोटो प्रक्रिया अवलम्बन गरेर भए पनि जेठ १४ मा नयाँ संविधान जारी गर्नुपर्ने बताएका छन् ।
उनले भने, “यसका लागि संविधान संशोधन गरी प्रक्रिया छोट्याउन सकिन्छ ।”
लोकतान्त्रिक आन्दोलनका नायक एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको दोस्रो पुण्यतिथिका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेम्बाङले निर्धारित समयभित्र संविधान लेखनका बाँकी काम पूरा गर्न दलहरु गम्भीररुपमा लाग्नुपर्ने बताए ।
लोकतान्त्रिक आन्दोलनका क्रममा संविधानसभाको निर्वाचन गर्ने, शान्ति प्रक्रिया पूरा गर्दै संविधान जारी गर्ने विषयमा आपसी मनमुटाव नगर्ने दलहरुको पूर्व प्रतिबद्धता कहाँ हरायो भन्ने अध्यक्ष नेम्बाङको प्रश्न थियो ।
उनले भने, संविधानसभामा प्रतिनिधित्व गरेका २५ दल अहिले ३३ पुगे । बाहिर हेर्दा सिङ्गो पार्टीको घर जस्तो देखिए पनि भित्र भिन्नाभिन्नै चुल्हो बल्ने गरेको सुनिएको छ । यस्तो प्रवृत्तिले शान्ति प्रक्रिया र संविधान लेखनमा असर पारिरहेको छ ।
अध्यक्ष नेम्बाङले शान्ति प्रक्रिया पूरा गर्दै निर्धारित समयभित्र संविधान जारी गर्नु नै स्व नेता गिरिजाप्रसाद कोइरालाप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए ।
संवैधानिक समितिका सभापति नीलाम्बर आचार्यले संविधानका सुल्झन बाँकी विषयमा दलहरुले गम्भीर छलफल चलाएमा समयभित्रै संविधान जारी हुने बताए ।
उनले भने, “नयाँ संविधान जारी गर्नुको अर्को विकल्प छैन तर यस विषयमा दलहरु गम्भीर हुनैपर्छ ।”
संवैधानिक कानुनका ज्ञाता सूर्य ढुङ्गेलले दलहरुबीच आफैले गरेका सहमति र सम्झौतालाई पालना नगर्ने प्रवृत्ति देखिएकाले नै गतिरोध देखा परेको धारणा राखे ।
उनले भने, “संविधानसभाभित्रै संविधानबारे बहस चलाइनुपर्छ, कोठाकोठामा सहमति गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ ।”
दलहरुले आफूहरुद्वारा व्यक्त प्रतिबद्धता फिर्ता लिने प्रवृतिले लोकतन्त्रलाई नै सङ्कट पार्ने उनको भनाइ थियो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।