“धेरै पछि रत्नपार्क घुम्दा” -शारदा पाठक

१८ कार्तिक २०६९, शनिबार २२:३३ मा प्रकाशित

कतै म नक्कली त होइन ?आफूले लगाएको लुगा नियालें । फुस्रो सेतो भुइँमा वुट्टा भएको कटनको कुर्ता र अँध्यारो रातो माटो जस्तो शुरुवालको रङ्ग थियो । शरीरको आधा भाग देखिने गरेर कतै काटिएको थिएन । सिंदुरे रातो र सेतो धर्का भएको स्वीटर कम्मरमा वाँधिएको थियो । रातो मेहन्दी राखेको, स्याकी डिजाइनमा काटिएको कपाल थियो । सायद रत्नपार्कको रुखको हाँगाको प्वालवाट चियाउने घामको किरणले भने मेरो कपाललाई केही चम्काएको थियो कि ! धरोधर्म मैले कसैलाई आँखा झीम्क्याएको थिइन, साँच्चै भनुँ भने मलाई आँखा झीम्क्याउनै आउँदैन। रत्नपार्क भरि छरिएका र झुम्म परेका मान्छेहरुको भिडलाई भने मेरो आँखाले हेरेको थियो तर कसैलाई केन्द्रीत गरेर उसको यौवन लुगा लवाइ तथा अन्य विशेष क्रियाकलापलाई भने पटक्कै हेरेको थिएन ।

घडी वेच्ने मान्छे, जडिवुटीका औषधी वेच्ने मान्छे, पोष्टकार्डहरु वेच्ने मान्छे धातुका औठी वेच्ने मान्छे, चटकीको चटक वरीपरि ठूलै भिड क्रस गर्दै म रत्नपार्कको अगाडि वढी रहेको थिएँ। वीर अस्पताल अगाडिको खुल्ला मञ्चको साँधमा पुगें त्यही सानो पर्खालको आडमा पानी, चिया रोटी तथा अन्य खाजाका परिकार तयारी हुने ठाउँ रहेछ । खाजा तयार हुँदै थियो अनि विक्रि पनि हुँदै थियो ।
मलाई पानी प्यास लागेको थियो । एक जना युवती जारको पानी वोत्तलमा राखेर रु दशमा वेच्दै थिइन् । मैले सोधें पानी पीउन लायकको छ ? उनले भनिन् जारको पानी खानोस्न अनि थाहा पाउनु हुन्छ, मैले मन मनै भने पेट दुख्यो भने मात्रै थाहा हुन्छ अहिले कहाँ थाहा हुन्छ र ! उनले मेरो मनको कुरा वुझे जस्तै गरेर फेरि भनिन् स्वाद थाहा हुन्छ नि ।
मैले एक वोत्तल पानी किनें । नजीकै अर्का दुइजना युवतिहरु दुइ वटा चुलोमा चिया र तावामा गहुँको सुख्खा रोटी पकाउँदै थिए । साइडमा सानो–सानो दुइ दुइ वटा वेञ्च स्टाइलका चौडाइ सानो भएको काठको कप्टेराहरु थिए । एकजना अधवैंसे बूढा चियाका केल्टीहरु लैजाने ल्याउने गरिरहन्थे ती बूढा उनीहरुका वावा रहेछन्, सिन्धुपाल्चोक तिर घर हो भन्थे ।
म पानी वोकेर त्यही वेञ्चको एक छेउमा टुसुक्क वसें । तिनीहरुले पकाएको चियाको रङ्ग लोभलाग्दो थियो, ठूलो तावाभरि पकाएको रोटी र साइडमा आलुको तरकारी रहरलाग्दो गरेर ग्राहकलाई भ्याइ नभ्याइ भाग लागि रहेको थियो ।
म पानी पीउँदै यी सवै क्रियाकलाप नियाल्दै थिएँ । मेरो वेञ्चको कुनातिर २ जना महिला रोटी खाँदै थिए । त्यत्तिकैमा एकजना मान्छे कुन भिडवाट हो मेरो छेउमा आएर मेरो वोत्तललाई इङ्गित गरेर यो खाने पानी हो ?भने । मैले पानी किन्न खोजेका होलान् भनेर अगाडिको पानी वेच्ने वैनी भए तिर उ त्यहाँ छ खानेपानी भनेर देखाइ दिएँ । उनी फरक्क फर्के र फेरि भिडमा नै हराए । मेरा साइडका महिलाहरु हाँसे कस्तो लाज नभाको मान्छे भनेर । सायद पैसा थिएन कि मैले उनको कुरा वुझीन र किन्ने पानी देखाइदिएँ भनें । उनीहरुको हाँसो रोकियो ।
धेरै पछि रत्नपार्क घुम्ने कार्यक्रम वनाएर घरवाट निस्किएको मलाई अरु एक छिन वस्न मन लाग्यो । सफा नै देखे पछि रोटी तरकारी र चियाको पनि अर्डर गरें । विस्तारै त्यहि सानो वेञ्चमा वसेर मैले खाएँ । करीव मेरो वसाइ त्यहा आधा घण्टा भयो होला । खाइ सकेर रु तीस तिरेर म फेरि रत्नपार्क घुम्न साँध नेरैको रेडिमेण्ट पसलहरु भए तिर अगाडि वढ्न मात्र लागेको थिएँ मेरो नजीकै आएर तीनै एक छिन अगाडि पानी माग्ने बूढा चिया खान जाउँ, खाजा खान जाउँ भन्छन् । मैले खाइसकें भनें र खुरु–खुरु अगाडि वढ्न लागेको थिएँ म भन्दा पनि अगाडि गएर ल यतै जाउँ न त भनेर खुरु खुरु हिड्न थाले । म त्यहि टक्क रोकिएँ उनी अलि अगाडि पुगेर मलाई पर्खिरहेका छन् । मलाई ती मान्छे मधेशका जस्ता लागेका छन् ।
म फरक्क फर्किएँ, अचम्म लाग्यो यी बूढाले के गर्न खोजेको होला ? गएर पटापट पड्काएर रमिते वन्न पनि मन लागेन । त्यत्तिकै छोडेर हिड्न पनि मन लागेन, म यो बूढोलाई नियाल्छु भनेर अलि खुला भएको ठाउँ तिर लागें, अलिक अगाडि सिमेण्टको चौतारी थियो वस्ने ठाउँ पनि थियो, म त्यहि नै गएर वसें र बूढा गएका ठाउ तिर हेरि राखें, मैले बूढालाई देखिन तर बूढाले मलाई देखेछन्, म टाढा टाढा हेर्दै थिएँ ,उनी मेरो नजीकै आइ पुगेछन्, आधा कपाल पाकेको पातलो पातलो, सेतो र फुस्रो नीलो धर्का भएको सर्ट र स्टकोर्ट पनि फुस्रै नीलो रङ्गको अनि पाइन्ट पनि त्यहि कलरको थियो उनको लवाइ । उमेर ५० देखि ५५ लाग्थ्यो ।
म फटाफट चौतारीवाट तल झरें । फेरि पनि ती बूढा मेरो नजीकै आएर खाजा खान जाउँ भन्छन् । अव म वोलें हैन तपाइ मलाई चिन्नुहुन्छ र किन पटक पटक खाजा खान जाउँ भन्नुहुन्छ ? उनले भने चिनेजस्तो लागेर । मैले सोधें तपाइको नाम के हो, उनले तुरुन्तै जवाफ दिए अशोक । अनि फेरि सोधें थर के हो नी ?
फेरि उत्तर दिए रायमाझी । घर कहाँ हो ? उनले भने पोखरा । मैले खाजा खाइसकें, तपाइँ मलाई किन यसो भन्नुहुन्छ भने पछि हस्त खाको भए भनेर ती बूढा फटाफट अगाडि वढे र फेरि भिडमा हराए ।
अव मेरो मनमा धेरै किसिमका विचारहरु आए । कि त ती अशोक भनिने बूढा पक्का साइको टाइपका मान्छे हुन् । कि त ती बूढा महिलाहरु कलेक्सन गरेर त्यस्तै धन्दामा लगाउने प्रोफेसर हुन्, या त मेरो क्रियाकलाप शङ्कास्पद थियो । जहाँ सम्म मलाई याद छ, मैले असाध्यै भलादमी तरिकाले रत्नपार्कको अवलोकन गरेको थिएँ ।
म यस लेखको मार्फत सम्वन्धित निकायलाई ध्यानाकर्षण गराउन चाहन्छु, रत्नपार्क भित्र के के छ भनेर हेर्न जरुरी भइसक्यो अव ।

प्रतिक्रिया
सम्बन्धित खवर

समलिंगी जोडीहरूलाई देखेर धेरैपटक मानिसहरु छक पर्ने गरेका छन् । तर कसैले श्रीमान्–श्रीमतीलाई नै आमाछोरीजस्तो सोच्छ भने त्योभन्दा अनौठो के

एजेन्सी । बेलायतमा एउटा वैवाहिक कार्यक्रममा जाँदा आफ्नो हात भाँच्चिएपछि एक शिक्षिकाले विवाह विरुद्ध मुद्दा दायर गरेकी छिन् । विवाह

काठमाडौँ – ७५ को उमेरमा इसाओ काकेहीको स्वास्थ्य अवस्था राम्रो थियो । अचानक उनी प्रेममा पनि परे । २०१३ मा

काठमाडौं । एक चर्चित फुटबलरले आकाशमा प्लेनभित्रै यौन सम्बन्ध बनाएको खुलासा भएको छ । एक एयर होस्टेजले एक चर्चित फुटबलरबारे

आजको प्रमुख समाचार