एउटा नमीठो कविता- सौरभ कार्की

१८ कार्तिक २०६९, शनिबार २२:२८ मा प्रकाशित

रातभर – आफ्नै कविता पढे
र सोचे – भोली चै म जीवनको कविता लेख्छु ।
सबेरै – सूर्य दाईको चियापसल
चियाभन्दा पनि बढी – तात्तिएर बसेको रै’छ ।
ऊ त मरिछे नि !
छि ! कस्तो नमीठो झस्को पस्यो ।
सोधे – “सूर्य दाई , साँच्चै के पो थियो रे उसको नाम ?”
हो सबैले उसलाई लाटी भन्थे
म भने उसभित्र देख्थे – सधै एउटा नौलो विज्ञान ।
टेकेकी हँुदी हो कि भर्खरै सत्रौ बसन्त ?
धमिलो याद आयो – सातकी फुच्चीले झै प्रश्न गरेको
“भगवानले लामखुट्टे किन बनाएका होलान् है !
बनाए पनि यस्तो
चिलाउने गरी टोक्ने – रगत खाने चै पो किन बनाउनु ?”
लामो हाँसो गुन्जिएथ्यो चियापसलमा त्यसबखत ।
लाटिएरै हाँस्नेहरुको जमात हेरेर हाँसेकी उसले
नजानेरै नापेकी थिई – बाठाहरुको – छातीको उचाई !
हेरेर – आकाशको घाम
गुडमर्निङ भन्न उसलाई कसले सिकायो ?
जे होस् गुडईभिनिङ भन्न पनि सिकाएछ ।
तर किन सिकाएन उसले
लामखुट्टे भन्दा पनि दुष्ट त मानिसहरु पो हुन्छन् भनेर ?
एस.पी. चोक – उसको पूर्वको क्षितिज हुदो हो कि ?
नापेकी हुँदी हो – उत्तरमा एक्लै उसले – धनुषमोड ।
आधा टेकेर देब्रे खुट्टाले आधै चप्पल
पश्चिममा उ पुग्ने त्यही लेखनाथ चोक न हो ।
सायद त्यही चोकको पश्चिम फर्केको पसलबाट
किनेकी हँुदी हो उसले – टाँसिने कागजको फूल
र टाँसेर आफ्नो हत्केलापछाडी
ऊ त्यसदिन – फूलजस्तै मुस्कुराएकी थिई ।
सुस्त मनस्थितिकी ऊ
रोटी खाँदै सूर्यदाईको चौतारी होटलमा
प्राय सोध्थी – विद्यालय जान हतारिएको – सूर्य दाईको छोरालाई
“ओई तेजे – के ल्याउछस् हँ – फर्किदा स्कूलबाट – झोला भरि भरि ?”
मानिसहरु गलल्ल हाँस्थे !
उसले त्यही बसेर देखेकी छ
हतारमा अफिस कुद्न लागेका मान्छेहरु ।
हाटभर्न फिक्कलदेखि झरेका हटेरुहरु ।
कमण्डलु भरि जिन्दगी थाप्ने जोगीहरु ।
के उसले कहिल्यै देखि – आफैलाई – ऐनाअगाडी ?
वा देखि उसले कहिल्यै
उसैलाई देखेर थुक निल्नेहरुको जमात ?
सम्झेर उसलाई स्खलित हुनेहरुको हुल ?
बिचरी ऊ – फूलजस्तै मुस्कुराउथी ।
ऊ अड्बाङ्गो हिडेर
बनाउथी – आफ्नै दुनियाँ ।
बटुल्थी – आफ्नै आकाश ।
र फर्किन्थी – आफ्नै गुँडमा ।
ठीक विपरित
मान्छेहरु – भत्काउन अर्काको दुनियाँ
सीधा खुट्टा पनि बाङ्गै टेक्दारै’छन् ।
सोच्दैछु
सीधा खुट्टा सीधै हिड्नेहरु – कहाँ पुग्छन् होला ?
हठात् राखेर – एक कप चिया मेरो अगाडी
सूर्य दाई एक्लै फत्फताए ः
“त्यो दिन उसले हत्केलाको पछाडी नेपालको झन्डा टाँसेकी थिई ।
कुन दैवको आँखा लाग्यो कुन्नि ?
मुर्कट्टाहरुले बलात्कार पछि हत्या गरेछन् ।”
सूर्य दाई एक्लै मुर्मुरिए , मुर्मुरिरहे , फत्फताईरहे ।
झस्को यसपाली त छातीभित्रै गढ्यो ।
खै किन हो कुन्नि त्यसपछि
मलाई निर्मली र देश उस्तै उस्तै लागिरह्यो ।
झुले – ४ , दोलखा
हाल:  बुध्द एयर , चन्द्रगढी , झापा

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

आजको प्रमुख समाचार