कसले दियो कांग्रेस नेता प्रकाशमानलाई चुनावमा हराइदिने धम्की

३ माघ २०७८, सोमबार २०:४० मा प्रकाशित

काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर १ प्रकाशमान सिंहले पछिल्लो ३ निर्वाचन जितेको क्षेत्र हो । विगतमा कृष्णप्रसाद भट्टराईदेखि लोकेश ढकाल र हरिबोल भट्टराईसम्मले हार व्यहोरेको क्षेत्र नम्बर १ मा २०६४ को संविधानसभा निर्वाचन यता कांग्रेसले जित्दै आएको छ ।

यद्यपि अघिल्लो निर्वाचनमा सिंहको जित फराकिलो भने हुन सकेन । विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्र सिंहको निकटतम प्रतिस्पर्धी बनेका थिए । २०७४ मंसिरमा सम्पन्न निर्वाचनमा सिंहले १० हजार ९ सय ३६ मत ल्याउँदा मिश्रले १० हजार १ सय १८ मत पाएका थिए । सो क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले ५ हजार ३ सय ३६ मत ल्याउँदा नेपाली कांग्रेस (वीपी)का हरिबोल भट्टराईले १ सय ९६ मत पाएका थिए ।

काठमाडौंको अनामनगर, थापाथली, बानेश्वर , मध्यबानेश्वर, भीमसेनगोला र पुरानो बानेश्वर क्षेत्र नम्बर १ अन्तर्गत पर्दछन् । काठमाडौं महानगरपालिकाको १०, ११ , २९ र ३१ नम्बर वडा पर्ने यस क्षेत्रका ४ मध्ये ३ वडामा कांग्रेसले अध्यक्षसमेत जितेको छ । पछिल्ला निर्वाचनहरुको परिणाम हेर्दा कांग्रेसका लागि असहज नभएपनि सिंहलाई ‘प्रबुद्ध व्यक्तिहरुको मत’ र ‘अन्तर्घात’ भारी पर्नसक्छ ।

‘हिजो टोलको सामान्य कार्यक्रममा आउँदापनि देउवाले जिते कांग्रेसले हार्छ भन्ने उहाँ नै हो । आज देउवा जिताएर भोट माग्न आउँदा उहाँले बुझ्नुभएकै होलानि कांग्रेस हार्छ भन्ने ?’, क्षेत्र नम्बर १ का एक कांग्रेस समर्थकले भने । उनका अनुसार महाधिवेशन पार्टीको आन्तरिक विषय भएपनि क्षेत्र नम्बर १ मा रहेका प्रवुद्ध बुद्धिजिवीहरुको मत पाउन सिंहले चित्तबुझ्दो स्पष्टीकरण दिनुपर्छ ।

क्षेत्र नम्बर १ मा ‘पूर्वेली मत’ निर्णायक रहेको छ । मोरङ, सुनसरी, भोजपुर लगायत जिल्लाका अधिकांश व्यक्तिहरुको स्थायी बसोबास यस क्षेत्रमा रहेको छ । तीमध्ये कतिपय कांग्रेसका कार्यकर्ता, कतिपय शुभेच्छुक त कतिपय गैर कांग्रेसी छन् । कांग्रेस महाधिवेशनको दोस्रो चरणमा डा.शेखर कोइरालालाई समर्थन नदिएका कारण ‘पूर्वेली मतदाता’ सिंहसँग आक्रोशित छ ।

‘पूर्वेली मतदातामा आक्रोश बढी देखिन्छ । प्रकाशमानले शेखरलाई किन सहयोग नगरेको ? भनेर प्रश्न गरेको पाइन्छ । अब विस्तारै टोल टोलमा कार्यक्रम गरेर चित्त बुझाउनुपर्छ’, कांग्रेसको क्षेत्रीय कार्यसमितिका एक पदाधिकारीले भने । उनका अनुसार सिंहले कार्यकर्ताभन्दा ‘डेमोक्रेट’ भनिने मतदातालाई चित्त बुझाउन जरुरी छ । सिंहनिकट एक नेता महाधिवेशनको विषयलाई लिएर संसदीय निर्वाचनमा ‘देखाइदिने’ धम्की आएको बताउँछन् । यद्यपि कसैको धम्कीले सिंहलाई रोक्न नसक्ने उनको दावी छ । ‘हिजो किसुनजीलाई अन्तर्घात गर्ने र १३ औं महाधिवेशनमै देउवालाई पार्टी बुझाउनेहरुले प्रकाशमानलाई अन्तर्घातको चेतावनी नदिए हुन्छ । प्रकाश दाईलाई हराउने ईच्छा पूरा हुँदैन’, सिंह निकट नेताको दावी छ ।

यता कांग्रेसवृत्तमा नेता सिंहले ३ पटकसम्म जितेको निर्वाचन क्षेत्र नै परिवर्तन गर्ने चर्चा पनि उत्तिकै छ । काठमाडौंको नेवार समुदाय बाहुल्य रहेका क्षेत्रमा सिंहलाई उम्मेदवार बनाउनुपर्ने कतिपयको सुझाव छ । यद्यपि सिंह आफैले भने क्षेत्र छाड्ने संकेत गरेका छैनन् ।

‘राजासँग त लडेर आको मान्छे । २-४ जनाले मञ्चबाट कराउँदैमा हुँदैन, प्रकाशमानलाई जनताले चिनेका छन् । म तर्सनेवाला छैन’, सिंहले भनेका छन् ।काठमाडौं कांग्रेसमा भने क्षेत्र नम्बर १ मा असहजता बढेको अवस्थामा सिंहका लागि उपयुक्त हुने क्षेत्रबारे चर्चा तीव्र छ । क्षेत्र फेर्नुपर्ने अवस्थामा काठमाडौं ८ सिंहका लागि सहज देखिन्छ । विगतमा सो क्षेत्रमा कांग्रेसबाट स्व.नवीन्द्रराज जोशी उम्मेदवार बनेका थिए ।

१४ औं महाधिवेशनमा सिंह पत्नी सिर्जना र छोरा प्रभासमानले महाधिवेशन प्रतिनिधि जितेको क्षेत्र नम्बर ७ मा पनि उनको सम्भावना उत्तिकै छ । यद्यपि सिंहनिकट नेताहरु क्षेत्र फेर्ने कुरा हल्लामात्रै रहेको बताउँछन् । ‘काठमाडौंको कुनैपनि क्षेत्रमा कसैले प्रकाशमान हराउन सक्दैन । तरपनि उहाँ क्षेत्र नम्बर १ बाटै चुनाव लड्नुहुन्छ र जित्नुहुन्छ’, सिंहनिकट एक क्षेत्रीय सभापतिले भने ।

संसदीय निर्वाचनका लागि अझै कम्तीमा १ वर्षको समय बाँकी छ । कांग्रेसमा अन्तर्घात पुरानो रोगका रुपमा रहेको छ । यहीकारण १४ औं महाधिवेशनको ‘तुस’ आगामि निर्वाचनमा नदेखिएला भन्न सकिदैन । यद्यपि अन्तर्घातको ‘बाछिटा’ ले सिंहलाई मात्रै होइन कांग्रेसका ‘जोकोही’ लाई रुझाउन सक्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आठ वर्षअघि सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेसँगै काठमाडौंको माइतीघरमा

हेटौंडा । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । उपमहानगरपालिकाको मेयर पदमा नेकपा

काठमाडौं । प्रदेश सांसदबाट राजीनामा दिएर तीन जना नेता स्थानीय तह निर्वाचनमा लडे । करोडौं बजेट परिचालन गर्न पाइने र

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाको मेयर र उपमेयरमा सुशीला शाही र जुना चौधरी निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट शाही