दुई महामन्त्रीबिच सहकार्य कि संघर्ष

३ माघ २०७८, सोमबार १९:५४ मा प्रकाशित

काठमाडौं । कांग्रेसमा सभापतिपछि सबैभन्दा शक्तिशाली पद हो– महामन्त्री । संगठन परिचालन गर्नेदेखि कार्यलय सञ्चालनसम्मको जिम्मेवारी महामन्त्रीको हो । गगन थापाकै शब्दमा भन्दा अब उनीहरू प्रश्न गर्ने होइन उत्तर दिने ठाउँमा छन् । समस्या पहिल्याउने गर्ने होइन, समाधान दिने भूमिकामा छन् ।

महामन्त्रीको कुर्सीसम्मको दौड पूरा गरेका दुवै युवा नेतामा पार्टीको ‘फस्र्ट म्यान’ बन्ने अभिलाषा पनि देखिन्छ । त्यसो हुँदा पार्टीमा उनीहरूले फरक–फरक समूह बनाएर गुट चलाउँछन् कि सहकार्य गर्छन् भन्ने थाहा पाउन ६ महिना पर्खनुपर्ने दुवै नेतासँग काम गरेका झापाका युवा नेता मेदनी सिटौला बताउँछन् ।

कांग्रेसमा अहिले पनि स्पष्ट रूपमा दुई धार छ । एउटा सभापतिले नेतृत्व गरेको र अर्को शेखर कोइरालाले नेतृत्व गरेको । दुवै नेतालाई दुईमध्ये एउटा धार समात्नुपर्ने बाध्यता छ । ‘सँगै उभिए पनि छुट्टाछुट्टै उभिए पनि कसै न कसैसँग उभिनै पर्छ । कोइराला र देउवा भन्ने धार अहिल्यै मेटिइहाल्छ भन्ने छैन’, घिमिरे भन्छन्, ‘अहिल्यै विश्व र गगनको धुरी नै खडा हुन्छ भन्ने कुरा पत्याउन पनि मुश्किल छ ।’

पार्टीभित्र गगन थापासँग असन्तुष्ट पक्ष विश्वप्रकाशसँग जाने र विश्वप्रकाशसँग असन्तुष्ट समूहले गगन थापालाई सघाउने रिले खेल निरन्तर चलिरहनेछ । यसैको बलमा दुई नेताले आफ्नो समूहको शिलान्यास गर्न पनि सक्छन् । आगामी दिनमा दुई महामन्त्रीले आत्मकेन्द्रित भएर काम गर्छन् कि संस्था केन्द्रित भएर काम गर्छन् भन्ने आधारमा सहकार्य कि संघर्ष भन्ने परिभाषित हुने घिमिरे बताउँछन् ।

‘पार्टीमा पुस्तान्तरणको मुद्दा आंशिकरूपमा सफल भएको छ । पार्टी रूपान्तरणको महत्त्वपूर्ण अभिभारा काँधमा छ’, उनले भने, ‘पार्टीको भद्रगोल व्यवस्थापन भएन, अस्तव्‍यस्तता हटेन, भातृ संस्थाको व्यवस्थापन भएन, न्याय र मूल्यांकनको विधि स्थापित भएन भने त्यसको दोषको भारी त उहाँहरूले आफ्नो थाप्लोमा बोक्नुपर्छ ।’

तर, यो अभिभारामा जिम्मेवारीमा आएको एक महिनामै उनीहरू चुकिसकेका छन्, राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार तय गर्ने सन्र्दभमा । प्रदेश कमिटीको सिफारिश हुँदै संसदीय बोर्डले निर्णय गरेर केन्द्रीय समितिमा अनुमोदनका लागि पठाउनुपर्ने प्रक्रिया मिचेर सभापति एक्लैले उम्मेदवार तय गरिदिए । दुई महामन्त्रीले सभापतिले त्यसो नगर्न दबाब दिन सकेनन् ।

आगामी दिनमा यस्ता विषयमा चुक्न नहुने र महाधिवेशनमा उनीहरूप्रति व्यक्त भएको विश्वासलाई न्याय गर्न पनि उनीहरूबीच सहकार्य हुनुपर्ने घिमिरे बताउँछन् । तर, अर्का युवा नेता मेदनी सिटौला भने त्यस्तो सम्भावना अत्यन्तै कम देख्छन् । झापाका सिटौला नेविसंघमा घिमिरे सभापति र गगन थापा महामन्त्री हुँदा उपसभापतिको भूमिकामा थिए । १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार भएका उनी विजयी हुन सकेनन् । सिटौला भन्छन्, ‘अहिले पनि पार्टी सभापतिले विश्वप्रकाशलाई फेबर गर्छन् जस्तो देखिएको छ । त्यसो हुँदा गगन थापाले स्वभाविक रूपमा प्रश्न उठाउँछन् । यही कारण दुई महामन्त्री बीचमा सहकार्य नहुनसक्छ ।’

अर्कातर्फ, दुई महामन्त्रीको जिम्मेवारी बाँडफाँडकै अवस्थाबाट पनि कटुता बढ्न सक्ने सिटौलाको विश्लेषण छ । हुन त थापा र सिटौलाले सिमानामा भारतीय हस्तक्षेपका विरूद्ध पार्टीको धारणा सार्वजनिक गर्न सभापति देउवालाई संयुक्त रूपमा दबाब दिएका थिए । दुवैले सँगै सभापतिलाई भेटेपछि दुवै महामन्त्रीले संयुक्त विज्ञप्ति जारी गरेर कांग्रेसको धारणा बताएका थिए । यसले उनीहरू बीच सहकार्यको संकेत पनि गरेको छ ।

‘दुवै नेता सार्वजनिक खपतको विषय के हुनसक्छ, जनताले के कुरा रुचाउँछन् र हामीले के कुरा उठाउनुपर्छ भन्नेमा बहुत सिपालु छन्’, सिटौला भन्छन्, ‘उनीहरूको समर्थक समूह पनि उस्तै–उस्तै भएको हुँदा त्यस्ता कुरामा उनीहरू मिलेरै जान्छन् ।’कांग्रेसको विधानअनुसार आगामी महाधिवेशन भएको ६ महिनामा सबै विभागलाई पूर्णता दिनुपर्छ । देउवाको कार्यशैली हेर्दा समयमा विभागले पूर्णता पाउने अवस्था देखिँदैन । कांग्रेसका नेताहरू भन्छन्, ‘गगनले यही कुरालाई खरो रूपमा उठाउँछन् । तर, विश्वप्रकाशले सभापतिको बचाउ गर्नसक्छन् । त्यसबेलासम्म दुई नेताको सहकार्य कि संघर्ष भन्नेबारे धेरै कुरा थाहा भइसक्छ ।’

अहिले सहकार्य नै भइहालेछ भने पनि पार्टीको ‘फर्स्ट म्यान’ बन्ने अवस्थामा भने यी दुई नेता फरक कित्तामा उभिने परिस्थितिको पृष्ठभूमि निर्माण भइरहेको छ । सभापति पद एक मात्रै हुने भएकाले महामन्त्रीजस्तो दुवै एकैचोटी सभापति बन्न सम्भव छैन ।

फेरि एक जना सभापति बन्ने र अर्कोले तल्लो पदमा रहेर सघाउने अवस्था पनि अहिले एकै साथ महामन्त्रीमा निर्वाचित भएको परिस्थितिले त्यति सहज देखाएको छैन । त्यसैले यो पुस्ताबाट कुनै एक सभापति बन्दा उसलाई स्वेच्छाचारी बन्न नदिने र चेक एन्ड ब्यालेन्स गर्ने भूमिकामा अर्को नेता रहने सम्भावनालाई नकार्न सकिन्न ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आठ वर्षअघि सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेसँगै काठमाडौंको माइतीघरमा

हेटौंडा । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । उपमहानगरपालिकाको मेयर पदमा नेकपा

काठमाडौं । प्रदेश सांसदबाट राजीनामा दिएर तीन जना नेता स्थानीय तह निर्वाचनमा लडे । करोडौं बजेट परिचालन गर्न पाइने र

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाको मेयर र उपमेयरमा सुशीला शाही र जुना चौधरी निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट शाही