अचानक प्रचण्ड र बाबुराम मिलेपछि महासङ्कटमा सरकार

८ चैत्र २०६८, बुधबार १९:३७ मा प्रकाशित

देवप्रकाश त्रिपाठी, काठमाडौ, ८ चैत । एक-अर्काप्रति ‘मुखमा रामराम बगलीमा छुरा’स्तरको सम्बन्धमा रहेका माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच अप्रत्यासित ढङ्गले ‘समझदारी’ विकास भएपछि ‘ओरिजिनल’ माओवादी खेमा भनेर चिनिने मोहन वैद्य किरण पक्षको धैर्यको बाँध टुटेको छ । उनीहरूले प्रचण्ड र बाबुराम दुवैविरुद्धको भण्डाफोर अभियानलाई राष्ट्रव्यापी बनाउने भएका छन् । भट्टराई नेतृत्वको सरकारलाई विस्थापित गर्न वैद्य खेमाले जुनसुकै हदसम्मको कदम चाल्ने तयारी गरेको छ । गत पुसमा सम्पन्न माओवादी केन्द्रीय बैठकले राष्ट्रिय सहमतिको सरकार गठनका निम्ति पहल गर्ने निर्णय गरेको र सोही निर्णयबमोजिम बाबुरामले प्रधानमन्त्री पदबाट राजीनामा दिएर सहमतीय सरकार गठनको निम्ति पहल सुरु गरिनुपर्छ भन्ने भनाइ वैद्य पक्षको छ । प्रधानमन्त्री पदबाट बाबुरामको राजीनामालाई ‘बटमलाइन’ बनाएका मौहन वैद्य किरणले यस कार्यमा प्रचण्डको पनि सहयोग र समर्थन रहने विश्वास गर्नुभएको थियो । भनिन्छ, प्रचण्ड स्वयम्ले पनि भट्टराईलाई राजीनामा गराउने विश्वास वैद्यलाई दिलाउनुभएको थियो । ‘अब अर्को साता’ भन्दै समय कटाउने काम मात्र प्रचण्डबाट भइरहेको आभास पाएपछि दुई साताअघि वैद्यले प्रचण्डलाई राजीनामा गराउन अल्टिमेटम (समयसीमा) दिनुभएको थियो । उता प्रधानमन्त्री बाबुराम भट्टराईले पनि प्रचण्डको भूमिकालाई सन्देहको घेरामा राख्दै आउनुभएको थियो र सेना समायोजन कार्य आरम्भ गरी शान्तिप्रक्रिया पूरा गर्ने अग्रसरता नलिइएमा प्रचण्डसँग भिड्ने मानसिकता प्रधानमन्त्री भट्टराईले पनि बनाउनुभएको थियो । आफूविरुद्ध जाइलाग्ने तयारीमा रहनुभएका प्रधानमन्त्री भट्टराई र मोहन वैद्य किरण, दुईमध्ये एक पक्षसँग सहमति बनाउनैपर्ने बाध्यतामा प्रचण्ड हुनुहुन्थ्यो । उहाँको रोजाइमा बाबुराम भट्टराई पर्नुभयो र केही स्वदेशी तथा विदेशी मित्रहरूको विशेष पहलमा गत साता प्रचण्ड र भट्टराईबीच सहमति बन्यो । प्रधानमन्त्री र पार्टी अध्यक्षबीचको सम्झौतापछि वैद्य खेमा क्रूद्ध हुन पुगेको छ । प्राप्त जानकारीअनुसार अध्यक्ष प्रचण्ड पार्टी स्थायी समितिको बैठक राखेर केही महत्त्वपूर्ण निर्णय लिन चाहनुहुन्थ्यो, वैद्य पक्षले भने प्रधानमन्त्रीबाट बाबुराम भट्टराईलाई राजीनामा गराउने निर्णय लिने भए मात्र स्थायी समितिको बैठक बोलाउने अडान राख्दै आएको थियो । बाबुरामलाई राजीनामा गराउनुको सट्टा अध्यक्ष प्रचण्डले उल्टै सरकार टिकाउने खेलमा लागेको सूचना पाएपछि वैद्य पक्षले आफ्नो बाटो सोझ्याएको छ । अब भट्टराईलाई राजीनामा गराउन तयार भए मात्र प्रचण्डसँग वैद्यको संवाद र समझदारीको स्थिति बन्ने भएको छ । जब कि प्रचण्डले विदेशी मित्रहरूसमक्ष बाबुरामलाई टिकाउन र शान्तिप्रक्रिया पूरा गर्न वचनबद्ध रहेको विश्वास दिलाउनुभएको छ ।
विदेशी मित्रलाई चिढ्याएर वैद्यलाई खुसी पार्ने भूल अब नदोहोर्‍याउन प्रचण्ड प्रतिबद्ध रहनुभएको बताइन्छ । यसरी प्रचण्ड ‘लाइनमा’ आउनुभएपछि वैद्यको असहयोगले मात्र शान्तिप्रक्रिया अवरुद्ध नहुने विश्वास प्रधानमन्त्री भट्टराईले गर्नुभएको छ ।
वैद्य पक्षले राजधानीमा एक पत्रकार सम्मेलन गरी सरकार ढाल्न जुनसुकै कार्यविधि अपनाउन पनि आफूहरू तयार रहेको बताएपछि गत सोमबार ?६ गते चैत) प्रचण्ड-बाबुराम पक्षधर नेताहरूको विशेष बैठक ललितपुरस्थित समिट होटलमा बस्यो । उक्त बैठकले वैद्य पक्षलाई आफ्नो दृष्टिकोण स्पष्ट पार्न आग्रह गर्दै संवादको निम्ति आह्वान गरेको छ । यसरी दृष्टिकोण स्पष्ट पार्न वैद्य खेमालाई सार्वजनिक रूपमा आह्वान गर्नुको पनि विशेष अर्थ रहेको देखिन्छ । प्रचण्डले ‘वैद्य पक्ष प्रधानमन्त्रीको राजीनामा गराएर शान्तिप्रक्रिया तथा संविधान निर्माणमा अवरोध सिर्जना गर्न चाहन्छ र स्थिति अस्तव्यस्त बनाएर विद्रोहमार्फत सत्ता कब्जा गर्ने योजनामा छ’ भन्ने ठान्नुभएको छ । उहाँले स्वदेशी तथा विदेशी मित्रहरूसँग पनि वैद्य खेमालाई यसरी नै चिनाउने गर्दै आउनुभएको छ । आफूहरू शान्ति र संविधानको पक्षमा रहेको तर वैद्य पक्ष भने नरहेको देखाउन प्रचण्डले दृष्टिकोण स्पष्ट पार्न उर्दी जारी गर्नुभएको बताइन्छ । वैद्यले भने बाबुराम नेतृत्वको सरकार भ्रष्ट र राष्ट्रघाती भएकोले यसलाई यथाशीघ्र हर्टाई राष्ट्रिय सहमतिको सरकार निर्माण गरेर ‘शान्ति र संविधानको निम्ति मार्ग सहज बनाइनुपर्ने’ धारणा राख्दै आउनुभएको छ । जे होस्, माओवादीभित्रको विवाद एकपटक फेरि उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री पदबाट बाबुराम भट्टराईले राजीनामा नदिईकन वैद्य पक्ष शान्त हुन सम्भव देखिँदैन । यदि भट्टराईको राजीनामा भएन र प्रचण्ड पनि बाबुरामकै सहयात्री बनिरहनुभयो भने सडक र सदन दुवै ठाउँमा जोडदार सङ्घर्ष चलाएर वर्तमान सरकारलाई हटाइछाड्ने तयारी वैद्य खेमाले गरिसकेको छ । प्रचण्ड-भट्टराई खेमाले सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याइएमा वैद्य पक्षका सभासद्हरूलाई पदमुक्त गरिदिने भनी गत आइतबार धम्की दिएपछि वैद्यपक्षीय नेता-कार्यकर्ताहरू थप आक्रोशित भएका छन् । वैद्यले प्रचण्ड-बाबुरामद्वारा आफूहरूलाई सफाया गर्न प्रयास भइरहेको ठान्नुभएको छ । त्यसैले उहाँहरू पनि प्रचण्ड-बाबुरामलाई नाङ्गेझार बनाएर सडकमा ल्याउन प्रतिबद्ध देखिनुभएको छ । यदि प्रचण्ड-बाबुरामले समयमै बुद्धि पुर्‍याउनुभएन भने प्रचण्ड अध्यक्ष रहनुभएको माओवादी पार्टीबाट ‘ओरिजिनल’ माओवादी जति बाहिरिने निश्चित भएको छ । पार्टीकै ठूलो हिस्साले सरकार ढाल्ने उद्घोष गरेको अवस्थामा प्रधानमन्त्री बाबुराममाथि नैतिक सङ्कट उत्पन्न भएको छ । उहाँले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने या विश्वासको मत लिएर अघि बढ्नुपर्ने अवस्था आएको राजनीतिक विश्लेषकहरूको धारणा छ ।
स्मरणरहोस्, प्रचण्ड-बाबुराम पक्षधर नेताहरूको बैठक मंगलबार पनि जारी रह्यो भने बैठकले मोहन वैद्यसँग छुट्टै छलफल गरी केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ