यस्तो पनि सदरमुकाम – बबिता बस्नेत

८ चैत्र २०६८, बुधबार १९:३१ मा प्रकाशित

मुस्लिम महिलाले मुहार ढाक्न लगाउने गरेको बुर्कालाई कतिपय अधिकारवादी व्यक्तित्व विकासको बाधकका रूपमा लिने गर्छन् । टाउको, मुख सबै छोपी आँखा मात्र देखाएर महिला हिँडेको देख्दा मुहारै नदेखाई आफूलाई कसरी आत्मविश्वासका साथ प्रस्तुत गर्न सकिन्छ र ? भन्ने लाग्छ । बुर्कालाई मुस्लिमहरू आफ्नो इज्जत र प्रतिष्ठासँग जोडेर हेर्ने गर्छन् । तर, कतिपय अवस्थामा बुर्काले स्वास्थ्य पनि जोगाउँदोरहेछ । हाम्रो देशमा मुस्लिम नै भए पनि अन्य मुस्लिम मुलुकका महिलाले जस्तो कालो बुर्का नै लगाइरहनुपर्दैन (कतिपय ठाउँमा लगाउने चलन छ) । धेरै ठाउँमा महिला टाउकोमा सारी या सलको सप्को हालेर हिँडे पुग्छ । हिन्दू संस्कृतिमै पनि कतिपय परिवारमा टाउको ढाक्ने चलन छ । कपडाले मुख र टाउको छोप्दा आत्मविश्वास घट्न सक्ने अन्दाज गर्दै गर्दा यसपल्ट रौतहटको सदरमुकाम गौरमा भने टाउको र मुख छोपेर आँखा मात्रै देखाउँदा सुरक्षित भएको महसुस भयो । तर, यो अन्य असुरक्षाका कारणले नभएर कालो धुलो र फोहोरबाट बच्नका लागि अपनाइएको सुरक्षा थियो । त्याहाँ प्राय: मुस्लिम दिदी बैनीहरूले कपाल ढाकेर हिँड्ने हुँदा पूरै मुख छोपेर कपाल ढाक्न आफूलाई पनि गाह्रो भएन, नत्र त निसास्सिँदो त्यो धुलोबाट बच्न अरू खासै उपाय थिएन ।
तराईका धेरै सदरमुकाम फोहोर र धुलोले भरिपूर्ण छन । वर्षौंदेखिको यो संस्कृतिलाई लोकतन्त्र, गणतन्त्र, मधेस आन्दोलन केहीले पनि हटाउन सकेन । प्राय: नगरपालिका बनिसकेका यी सदरमुकामहरूमा आफ्नो सहरका लागि बजेट नजाने पनि होइन तर न त त्याहाँ चिल्ला सडक बन्छन् न त सरसफाइ नै हुन सक्छ । सूचनाको हकको कानुन नै प्रयोग गर्न सक्ने स्थानीय सर्वसाधारणलाई त्यो पैसा कहाँ जान्छ ? थाहा हुँदैन । सडकमा गाडीहरू धुलो उडाउँदै हिँड्छन् र स्थानीयवासी मुख छोपेर धुलोबाट बच्ने कोसिस गर्छन् । आफ्नो घरअगाडि फोहोर त त्यत्तिकै छँदै छ, त्यसलाई पन्छाऊँ या कतै व्यवस्थापन गरौँ भन्ने सोच कसैको देखिँदैन । दाङको घोराही पनि मधेस नै हो, त्यहाँका सडक कति सफा छन्, घरवरिपरि फोहोर-मैला देखिँदैन । वीरगञ्ज, नेपालगञ्ज, जनकपुर, गौर किन यस्ता भएका होलान् यी सहरहरू ? रौतहटमा धेरै नेताहरू होलान्, तर जो-जो भए पनि माधव नेपाल र अफताव आलमकै नाम अगाडि आउँछ । त्यसो त गौर अहिले बबन सिंहको क्षेत्र हो । आफ्नो देशका धेरै जिल्ला हेरियो, घुमियो, काम गरियो तर यसपल्ट गौर जाँदाजस्तो निसास्सिने अवस्थाका सहरको अनुभव भने थिएन । ओहो, यहाँका मानिस कसरी बस्छन् ? बच्चाहरूको अवस्था के होला ? पहिलोपल्ट गौर पुग्नेको मनमा यही प्रश्न उब्जन्छ । सफा लुगा लगाएको भए सकडको धुलोले फोहोर त एकैछिनमा बनाइहाल्छ नै, नाक-मुखबाट धुलो पसेर एकै छिनमा रुघा नै लाग्न थाल्छ । जता हेरे पनि फोहोरका नाली…. फोहोर पानी जमिरहेका खाडलहरू… यति धेरै आँखा बिझाउने र सरसराउँदो मान्छेलाई एकैदिनमा बिरामी बनाउन सक्ने सदरमुकाम शायद अर्को छैन । तर, यसो भनिरहँदा त्यहाँका साथीहरूले चाहिँ र्सलाहीको मलंगवा र बाराको कलैया पनि फोहोर र धुलोको मामिलामा कम नभएको बताए । दिनदिनै गर्मी चढ्दै छ, ओहो ! भित्री मधेसका यी सदरमुकामलाई कसरी सफा, हेर्न र नाक मुख नथुनी हिँड्न सक्ने बनाउने होला ?
रौतहट जिल्लामै पर्ने चन्द्रनिगाहपुर भने फरक छ । ‘हाइवे’ भएर पनि हुन सक्छ, सभ्यतासँग जोडिएका कुराहरू पनि गौरमा भन्दा फरक छन् । श्री ३ चन्द्रशमशेरको निगाहबाट बनेको सहर भएकाले यसको नाम नै चन्द्र निगाहपुर भएको हो । हाम्रो मुलुकमा गणतन्त्र आएपछि महेन्द्रनगर, पृथ्वीनारायण नगरपालिकालगायतका ठाउँका नाम परिवर्तन गरिए पनि श्री ३ हरूको इतिहास बोकेका यस्ता थुप्रै स्थानका नामहरू फेरिएको छैन र नाम पुरानै भएका कारणले कुनै असर पनि परेको देखिँदैन । मुख्य कुरा त एटिच्युटकै रहेछ, के कुरालाई कसरी लागू गर्ने ? नियत सफा राखेर काम गरे नहुने भन्ने केही पनि छैन । फागुनको तेस्रो हप्ता डडेल्धुरा जाँदा सुदूरपश्चिमको त्यो डाँडामा आएका अनेक परिवर्तन देख्दा र सुन्दा रमाइलो लागेको थियो । खै यसको कारण के हो त थाहा छैन तर पहाडी जिल्लाका सदरमुकाम तराईका तुलनामा सफा छन्, मधेसको तुलनामा पहाडमा दु:ख धेरै छ तर पनि टाढा-टाढाबाट बोकेर ल्याएका सामानले सजाएर सदरमुकामलाई चिटिक्क पारेर बसेका हुन्छन् स्थानीय जनता । खास त्यति ठूलो मिहिनेत गर्नुपर्ने कुरा पनि केही छैन, आफूवरिपरि सफा गरेर बस्दा मात्रै पनि एक हदसम्मको सफाइ भइहाल्छ । बाटो पिच गर्ने, ढल निर्माणलगायतका कुराहरूचाहिँ नगरपालिकाले हेर्ने हो । जिल्ला विकास समिति, नगरपालिकाको बजेटलाई जे कामका लागि आएको हो त्यसैमा प्रयोग गर्ने हो भने कुनै पनि सहरमा नाक मुख थुनेर हिँड्नै पर्दैन । राजनीतिमा जो-जो संलग्न भए पनि छविका हिसाबले गौर माधव नेपालको ठाउँ हो, अफताव आलमको जिल्ला हो । तर, त्यहाँको धुलो मैलो र उहाँहरूको सुकसुकाउँदोपनबीच कुनै तुलनै हुन सक्दैन । गौरको मात्रै कुरा होइन भित्री मधेसका यी सदरमुकाम हेर्दा लाग्छ, अहिले त यस्तो छ सङ्घीय राज्य भयो भने यी ठाउँमा के मात्रै होला ? सबैभन्दा बारम्बार आइरहने प्रश्न त के हो भने यी ठाउँमा आएका करोडौँ बजेट कहाँ जान्छ ? त्यो बजेटलाई दल र नेताहरूले बाँडेर खान्छन् भनेर सबैलाई थाहा छ तर तिनका विरुद्ध किन आवाज उठ्दैन ? गलतलाई गलत हो भनेर मानिस किन भन्न सक्दैनन् ? आफ्नो जिल्लालाई बनाउन नसक्नेहरूले मुलुक बनाउँछु भन्दै हिँड्न सुहाउँछ कि सुहाउँदैन ? तराईलाई राजनीतिक आधार बनाउने नेताहरू (मधेसी, पहाडी जो भए पनि)ले मुलुकको चिन्ता गर्दा कसरी पत्याउने ? जसलाई आफ्नो जिल्लाको र जिल्लावासीको स्वास्थ्यको चिन्ता छैन त्यस्ताले मुलुकको चिन्ता गरेझैं गर्दा कसले पत्याउँछ ? त्यसैले तराईका नेताजीहरू कृपया पहिला आफ्नो जिल्ला र सदरमुकामहरू हेर्न हुने बनाउनुस्, मुलुकको कुरा त त्यसपछि आउँछ । साथै तराईका जिल्लामा, नगरपालिकामा, जिल्ला विकास समितिमा जाने बजेट केमा खर्च हुन्छ ? भनेर जनताले चासो राख्नु पनि त्यत्तिकै जरुरी छ, यो विषयमा चासो राख्ने मात्रै होइन अब कम्तीमा सदरमुकाममा बाटो र सफाइका लागि गएको बजेट सोही काममा खर्च हुनुपर्छ भनेर अभियान नै चलाउनु आवश्यक छ । यो सबै कुरा कसले गर्ने भन्ने अहिलेको अहम् प्रश्न हो तर मौन पनि कति दिन बस्ने ?

प्रतिक्रिया
सम्बन्धित खवर

आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका

जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ लडागडाकी मायाकुमारी विष्टको कक्षा ८ मा पढ्दा पढ्दै सामाजिक सञ्जाल फेसबुकमा एक युवकसँग चिनजान भयो ।

विगतमा घैयाको भाउमा जाने अदुवाले अहिले राम्रै मूल्य पाउन थालेपछि कर्णालीका अदुवा किसान मख्ख छन् । प्रतिकिलो रु पाँच–१० मा

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मृगेन्द्र शिखरबाट राजधानीको सभ्यताको स्रोत वाग्मती प्रकट भएको छ । यो स्थल अहिले गोकर्णेश्वर नगरपालिकाको भौगोलिक