‘अग्रगमन’ मुर्दावाद -देवप्रकाश त्रिपाठी

८ चैत्र २०६८, बुधबार १९:२६ मा प्रकाशित

देशमा शान्ति छाउनुपर्छ सबैले भन्ने गरेका छन्, तर शान्ति स्थापना कसरी गर्न सकिन्छ त्यो कसैकसैले मात्र भन्न सक्छन् । देश समृद्ध बन्नुपर्छ, यो सबैले भन्न जानेको कुरा हो, तर समृद्ध हुन के-के गरिनुपर्छ योचाहिँ धेरै कमले मात्र भन्न सक्लान् । राम्रो हुनुपर्छ, जो-कोहीले भन्न सक्छन्, तर के गर्दा राम्रो हुन्छ, त्यसको वर्णन गर्नसक्ने मानिसचाहिँ ज्यादै कम हुन्छन् । संविधानसभाका पचास दर्जन सभासद्हरूमध्ये अधिकांशमा यस्तै रोग देखिन्छ । उनीहरू सुगा-मैनाको शैलीमा जाति, क्षेत्र, महिलामैत्री अग्रगामी संविधान बन्नुपर्छ भन्ने गर्छन् तर के-कस्ता प्रावधान समेटिएमा त्यसप्रकारको संविधान बन्न सक्छ भन्ने प्रश्न गरिएमा उनीहरूले एनजीओ-आईएनजीओहरूद्वारा भत्तासहित उपलब्ध गराइएका दस्तावेज पल्टाउनुपर्ने हुन्छ । देशको इतिहास र भविष्यको पाना पल्टाएर नेपालीलाई चाहिने संविधान यस्तै हो भन्ने क्षमता र सामर्थ्य तिनमा देखिँदैन । निश्चित दलका निश्चित नेताहरूले अग्रगमनका निम्ति अग्रगामी संविधान आवश्यक हुन्छ भनिदिएका छन् । अग्रगमन शब्द आफैंमा तटस्थ छ, यसले परिवर्तन, आमूल परिवर्तन या अघि बढ्ने भन्ने अर्थ दिए पनि केका निम्ति भन्ने अर्को एक शब्द नथपीकन भनिने अग्रगमनले कुनै माने राख्दैन । जीवनमा हरेक मानिसको चाहना शान्ति, सुरक्षा, शिक्षा, समृद्धि, स्वतन्त्रता, समानता र स्वाभिमान हुन् । यर्सथमा मानव समुदायको प्रमुख लक्ष्यका रूपमा उल्लिखित सात तत्त्वलाई लिन सकिन्छ । राजनीतिक साधनले हासिल गर्न खोजिरहने अभीष्ट पनि तिनै सात तत्त्व हुन्, राजनीतिकर्मीहरूको मूल धर्म र मर्म मानवीय चाहनाका यिनै सात तत्त्वलाई सहज र व्यवस्थित तुल्याउनु हो ।
एक सय चार वर्ष लामो राणाशासनको अन्त्य गरी प्रजातन्त्र स्थापना गरिँदा होस् या प्राप्त प्रजातन्त्रलाई विस्थापित गरेर प्रजातन्त्रको नयाँ मोडल भन्दै राजा महेन्द्रद्वारा स्थापित निरङ्कुश पञ्चायती प्रणाली लागू गरिँदा होस्, ०४६ सालमा प्रजातन्त्र पर्ुनर्बहाली गरिँदा होस् या ०६३/६५ मा गणतन्त्र घोषणा हुँदा, राजनीतिक क्षेत्रले नेपाली जनतालाई कुनै न कुनै सपना देखाएको हो र त्यो सपना अग्रगामी परिवर्तनकै लागि भनिएको हो । अहिलेसम्मका राजनीतिक परिवर्तनमध्ये २००७ र ०४६ का परिवर्तनले नेपाली जनतामा जुन उत्साह र आशा जगायो, अन्यले त्यसप्रकारको शक्ति देखाउन सकेन । ०६३।०६५ को परिवर्तनले पनि ०१७ सालको परिवर्तनले झैं जनतालाई क्रमश: निराश र हतोत्साही तुल्याउँदै लगेको छ । नेपाली नागरिकताको प्रमाणपत्र बनाएर आफूलाई नेपाली प्रमाणित गरिसकेका केही नेताले ०६३।०६५ को परिवर्तनलाई सबैभन्दा उच्चकोटिको र सर्वाधिक अग्रगामी संज्ञा दिएका छन् । सर्वाधिक अग्रगामी परिवर्तनपश्चात् नेपाली जनताले इतिहासमै सर्वाधिक सास्ती र सन्त्रासको स्थिति व्यहोर्नुपरेकोप्रति भने विद्यमान ‘अग्रगमन’ मौन छ, बेसरोकार छ ।
भीमसेन थापा, जंगबहादुर राणा र वीरशमशेरहरूपछिको इतिहासमा हिंसालाई सत्ता प्राप्तिको मूल साधन बनाइएको थिएन । मुलुकमा राजनीतिक प्रकृतिका एकाध हिंसात्मक घटना भए पनि सम्पूर्ण सत्ता प्राप्तिका लागि पूर्ण हिंसाको सहरा लिन छोडिएको थियो र आमरूपमा हिंसा त्याज्य र अस्वीकृत बनेको थियो । मानव समाज सभ्य हुँदै जाँदा हिंसा र हिंसात्मक प्रवृत्ति निरुत्साहित हुँदै जान्छ भन्ने भनाइलाई नेपाली समाजले पनि पुष्टि गर्दै थियो । तर, ०५२ सालपछि मुलुकलाई अप्रत्यासित ढङ्गले हिंसाको दुन्दुभीमा हेलियो । निहित राजनीतिक उद्देश्य पूर्तिका निम्ति प्रजातान्त्रिक प्रणालीको विकल्प खोज्दै सुरु गरिएको हिंसात्मक आन्दोलनका अगुवाहरू शासकका रूपमा सिंहदरबार प्रवेश गर्दा देशमा आफ्नो आकाङ्क्षा पूरा गर्न हिंसा र बलको सहारा लिनु उपयुक्त हुँदोरहेछ भन्ने मान्यता पनि स्थापित हुन पुगेको छ । हिजो प्रजातन्त्रकालमा जनतालाई खुसी तुल्याएर जनमत प्राप्त गरी सत्तामा पुग्न इच्छुक हुनेहरूसमेत अहिले जनतालाई आतङ्कित र त्रसित बनाउँदै आफ्नो राजनीतिक सिद्धि प्राप्त गर्न उत्प्रेरित भएका छन् । शान्तिको विकल्प हिंसा र विवेकको विकल्प बललाई निर्णय या गन्तव्य प्राप्तिको साधन बन्ने-बनाउने कार्यलाई अग्रगमन भनिएको छ । अग्रगमन भनेकै अराजकता, बेथिति र आतङ्क हो कि भन्ने सङ्केत वर्तमानले दिइरहेको छ ।
आधुनिक नेपालको स्थापना विभिन्न टुक्रामा विभाजित भूभागलाई एकीकृत गरी भएको हो । देशको स्थापनाकालदेखि नै यसले समावेशी तर एकात्मकता विकासको अभ्यास गरिआएको छ । करिब साढे दुई शताब्दी लामो अभ्यासले नेपालको एकीकृत राष्ट्रियता ‘नेपाली’ बनेको हो र आमजनता यसैमा खुसी पनि थिए । तर अग्रगमनका नाममा जातीय र क्षेत्रीय भड्कावलाई प्रेरित गर्ने काम राजनीतिक क्षेत्रबाट भयो । यतिबेला सबैलाई आफ्नो पहिचानको चिन्ता छ, देशको पहिचानप्रति उदासीनता बढ्दो छ । जातीय-क्षेत्रीय स्वायत्तता र स्वतन्त्रताले महत्त्व पाउँदा देशको स्वतन्त्रता र अस्तित्व नै सङ्कटमा पर्ने स्थिति बनिरहेको छ, यस्तै स्थितिलाई नाम दिइएको छ- अग्रगमन । देशको राष्ट्रिय एकता र सार्वभौमिकतालाई दुर्बल तुल्याउनु नै अग्रगमन हो भने त्यस्तो अग्रगमनलाई कदापि आत्मसात् गर्न सकिँदैन र गर्नुहुँदैन पनि ।
अधिनायकवादको दीर्घ चपेटमा परेर आहत बनेको मुलुकमा प्रजातन्त्र तथा प्रजातान्त्रिक मूल्य र मान्यतालाई जीवन पद्धति बनाउन अनेकौँ प्रयास भइरहेकोमा मानवीय स्वतन्त्रता र कानुनी शासनको अवधारणालाई चुनौती दिँदै एकदलीय अधिनायकवाद स्थापनाको कोसिस विगत ६ वर्षयता विशेष किसिमबाट हुँदै छ । विश्वमा प्रचलित एवम् सर्वस्वीकृत बहुलवादमा आधारित प्रजातान्त्रिक प्रणालीलाई अस्वीकार गर्दै एकदलीय अधिनायकवादलाई स्वागत गर्नु वास्तवमा अग्रगमन हो कि प्रतिगमन ? कानुनी शासनतर्फ अग्रसर मुलुकलाई एक दल र एक विचारको गुलाम बनाउन जसरी खोजिँदै छ यसैलाई अग्रगमन भन्नुपर्ने हो भने त्यस्तो अग्रगमन चाहिएन, कसैले चाहना गर्नु पनि गलत हुनेछ ।
एकीकृत नेपालको निर्माणमा खास-खास जातिको विशेष भूमिका छ । राजा पृथ्वीनारायण शाहको नेतृत्व र मगर, गुरुङ, दलित, ब्राह्मण, क्षेत्री, ठकुरी तथा नेवारहरूको विशेष सहभागितामा नेपालको निर्माण भएको हो । पूर्वका राई, लिम्बू र उपत्यकाका नेवार समुदायले पनि एकीकरण प्रक्रियालाई विशिष्ट किसिमबाट सघाएका हुन् । त्यसताक तराईमा बस्तीभन्दा वन-जङ्गलको घनत्व ज्यादा भएकोले पहाडका मगरले जत्तिकै तराईका बसोबासीहरूले एकीकरण प्रक्रियामा सहयोगी भूमिका निर्वाह गरेका थिए भन्न मिल्दैन । तर, थारूहरूको विशेष र अन्यको केही सहयोग नेपाल निर्माणमा अवश्य भएको हो । एक सयभन्दा बढी जातजाति रहेको मुलुकमा स्थापनाकालदेखि नै रहेको जातीय, क्षेत्रीय र सामाजिक सद्भाव खलबल्याउनुलाई अग्रगमन भनेर कुन पुस्तकमा उल्लेख गरिएको छ, यो पढ्न पाइएको छैन । जातीय, क्षेत्रीय, भाषिक र धार्मिक सद्भावलाई खलबल्याउनु अग्रगमन र सद्भावपूर्ण सामाजिक सम्बन्धको वकालत गर्नुचाहिँ प्रतिगमन हो भने त्यस्तो अग्रगमनभन्दा यस्तो प्रतिगमन नै देशका लागि उपयुक्त हुन्छ भन्ने ठहर गर्न हिचकिचाउनु हुँदैन ।
नेपालको नाम वैदिक सभ्यतासँग सीधै गाँसिएको जानकारी हामी सबैलाई छ । ने मुनीले पालन गरेका कारण नेपाल नाम रहन गएको यथार्थलाई बिर्सेर हामीले हाम्रो परिचय पाउन सक्दैनौँ । शिव, पशुपतिनाथ र ऋषिमुनि तथा तिनले अवलम्बन गरेका मार्गदर्शन कण-कणमा भिजिसकेको मुलुकलाई प्रचलित धर्मबाट अलग गर्ने प्रयास २०६३ सालयता हुँदै आएको छ । नेपाललाई धर्मनिरपेक्ष तुल्याइनुको मुख्य कारण पनि यही नै रहेको देखिन्छ । सबै किसिमका धर्म-विचारप्रति समभाव राखी सत्व्यवहार गर्ने उदार वैदिक सनातन धर्मलाई विस्थापन गरी धनबलको आडमा मुलुकलाई इर्साईकरण गर्न पछिल्लो आधा दशकभित्र भएका कार्यले २०६३/०६५ को परिवर्तनको अवमूल्यन गराएको छ । आफ्नो मौलिक एवम् राष्ट्रिय धर्मलाई विस्थापित गर्दै इर्साईकरण गर्नु नै अग्रगमन हो भने यस्तो अग्रगमन निन्दनीय र त्याज्य हो कि होइन नेपाली मात्रले सोच्नुपर्ने बेला आएको छ ।
एउटा राजाको शासन सहन नसकेर परिवर्तन खोजियो, अहिले सहस्र राजा मनोमानी शासन गर्न अग्रसर देखिँदै छन् । नेपाल निर्माताको एउटा वंशलाई पन्छाएर किम इल सुङ र फिडेल क्यास्त्रोले झैं नयाँ राजतन्त्र स्थापना गर्नुलाई अग्रगमन भनिएको हो भने त्यस्तो अग्रगमनलाई स्वीकार गर्न कसरी सकिएला । अग्रगमन भनेको भ्रष्टाचारीहरूको हातमा देश सुम्पनु र राज्यको स्रोत-साधन पार्टी र खासखास नेताविशेषको सुखसुविधाको निम्ति उपयोग गर्नु हो भने नेपाली जनताले यसप्रकारको अग्रगमन खोजेका हुँदै होइनन् ।
सभ्य र प्रजातान्त्रिक समाजमा योग्यता र क्षमताको विशेष कदर हुन्छ । कुनै पनि अधिनायकवादी शासनमा शासक सर्णोपरी हुन्छन्, तर प्रजातान्त्रिक मुलुकमा जनता सर्णोपरी हुन्छन् । त्यसैले त्यहाँ योग्यता र क्षमताका भन्दा भक्तिभाव प्रधान हुन पुग्छ । हरेकलाई राजनीतिक एवम् वैचारिक आस्था र आबद्धताका आधारमा मूल्याङ्कन गरिन्छ र सोहीअनुसार स्थान दिने काम अधिनायकवादमा हुन्छ । २०६३/०६५ को परिवर्तनपश्चात् मुलुकमा भागवण्डाका आधारमा निर्णय हुने गरेको छ । परीक्षा केन्द्रका सुपरीवेक्षकदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त र पियनदेखि प्राध्यापकसम्म योग्यता होइन राजनीतिक आबद्धता र आस्थाका आधारमा भागवण्डा गरेर चयन गर्ने गरिन्छ । योग्यता र क्षमताको आधारमा मूल्याङ्कन गरी निष्पक्ष किसिमबाट कसैलाई जिम्मेवारी या अवसर दिइनुचाहिँ प्रतिगामी सोच हो भने भागवण्डावादी अग्रगमनभन्दा त्यस्तो प्रतिगमन कैयन दृष्टिले उपयुक्त हुन्छ ।
सृष्टिमा स्थिर केही हुँदैन, गति नै सृष्टिको नियम हो । तर, गति सङ्घर्ष हो भने स्थिरता आनन्द हो । स्वतन्त्रताको स्थिरता, समृद्धि र सुखको स्थिरता, स्वाभिमान र सन्तृष्टिको स्थिरताले दिने आनन्दले प्राणी जीवनलाई अल्हादित बनाउँछ । अग्रगामी या परिवर्तनकामी बन्ने नाममा हामी शान्तिको विकल्प अशान्तिलाई अपनाउन सक्दैनौँ । सुखको विकल्प दु:ख रोज्न, समृद्धिको विकल्पमा दर्रि्री खोज्न, स्वाभिमानको सट्टा पराधीनता, प्रजातन्त्रको सट्टा अधिनायकवाद र कानुनी शासनको विकल्पमा अराजकता रोज्न-खोज्न सक्दैनौं । प्रजातन्त्र, स्वतन्त्रता, समृद्धि र शान्तिको चाहना परित्याग गरेर अधिनायकवाद, पराधीनता, भ्रान्तिको क्रान्ति र गरिबी रोज्दा मात्र अग्रगामी होइन्छ भने त्यस्ता अग्रगमनभन्दा यथास्थितिवाद नै उपयुक्त र उचित हुनसक्छ । विकसित मुलुकमा ‘अग्रगामी’ हुनुमा भन्दा परम्परावादी बन्नुमा गौरव महसुस गर्नेहरूको सङ्ख्या सानो हुँदैन । अमेरिका र युरोपका समृद्ध मुलुकमा परम्परावादी ९ऋयलकभचखबतष्खभ० सोचलाई सम्मानका दृष्टिले हेरिन्छ । सन् २००८ को निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपतिका उम्मेदवार जोन मकेनले आफूलाई रोनाल्ड रेगनको सच्चा अनुयायीका रूपमा मात्र प्रस्तुत गरेका थिएनन्, खाँटी परम्परावादी ९ऋयलकभचखबतष्खभ० भएकोमा गौरव गरौँ भन्ने उद्घोष पनि उनले गरेका थिए । परम्परावादमा विश्वास गर्नुलाई सायद यथास्थितिवाद भनिन्छ क्यार ! कम्युनिस्ट दृष्टिमा परम्परावाद घातक प्रवृत्ति र सोच हो । भलै माक्र्स, लेनिन र माओ त्से तुङका थोत्रा पुराना विचार-पद्धति जतिसुकै पुराना भए पनि कम्युनिस्ट दृष्टिमा ती सदा ‘नवीन’ र ‘स्तुत्य’ छन् । अन्य विचार-मान्यतालाई निषेध गर्ने सोचका कारण एउटा खाँटी कम्युनिस्टले आफूबाहेक कसैलाई सही देख्न सक्दैन, भलै ऊ बाँकी सबैको दृष्टिमा गलत किन नहोस् । परम्परा तोड्ने नाममा दिउँसो सुत्ने र राति जाग्ने या खुट्टाको सट्टा टाउकोले टेकेर हिँड्ने तरिका अवलम्बन गर्न सकिँदैन । राजनीतिक क्षेत्रमा घुसेका एकथरी मानिस यस्तै विपरीत मार्गको परिकल्पना गर्दै छन् र त्यसैलाई अग्रगमन भन्दै छन् । अराजकतामा पिल्सिएर स्वतन्त्रताविहीन, कष्टकर र अभावग्रस्त जीवन जिउनु नै अग्रगमन हो भने त्यस्तो अग्रगमन चाहिँदैन । राष्ट्र, सार्वभौमिकता, राष्ट्रियता, राष्ट्रिय एकता, प्रजातन्त्र, स्वतन्त्रता, शान्ति र समृद्धिलाई दुर्बल र कमजोर तुल्याउने अग्रगमन- मुर्दावाद ।

प्रतिक्रिया
सम्बन्धित खवर

समयको गति पनि कस्तो ? पच्छ्याउदा, पच्छ्याउदै हामी कतिबेला छुट्छौं थाहै हुन्न । आज हामी जुन गतिमा छौं । भोलि

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, भिएना, अस्ट्रिया: थोरै घाम लाग्ने युरोपमा घाम लागेको दिन मन फुरुंग हुन्छ।  केहि दिन अघि घाम लागेको

भक्त वाग्ले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एकिकरण हुंदाका दुई पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र मध्ये व्यवस्थित,अनुशासित र विधिमा