एमालेको चियापानमा निम्तालुको भीड

१४ कार्तिक २०६९, मंगलवार २०:०६ मा प्रकाशित

काठमाडौं, १४ कात्तिक । एमालेले आयोजना गरेको चियापान कार्यक्रम अस्तव्यस्त रुपमा सम्पन्न भएको छ । कांग्रेसको चियापानभन्दा तुलनात्मक रुपमा एमालेको चियापान व्यवस्थित मान्न सकिए पनि विशिष्ट पाहुनाहरुको एकसाथ लर्को लाग्दा सत्कारमा खटिएकाहरुलाई हम्मेहम्मे परेको थियो । चिया खान पुग्ने निम्तालुको लाइन पार्टी कार्यालयदेखि माथि सडकसम्मै भएकोले निम्ता मान्न जानेहरुको भीडले कंलकी बल्खु सडकमा ट्राफिक जाम भयो । एमालेले दिउसो १२ देखि २ बजेसम्म आफ्ना कार्यकर्ताको लागि समय छुट्याएको थियो । त्यसै अनुसार २ बजेसम्मै कार्यकर्ताको लाइन लाग्यो । २ देखि ३ बजेसम्म बिभिन्न पेशागत संघसंस्था, उद्योगीव्यवसायी, पत्रकार, नागरिक समाजका अगुवा लगायतलाई बोलाइएको थियो । त्यसै अनुसार त्यो बेला पनि उनीहरुको भीड लाग्यो ।
३ बजेदेखिको वातावरण अकस्मात अस्तव्यस्त पार्ने खालको बन्न पुग्यो । एमालेले बिभिन्न दलका शीर्ष नेता, प्रधानमन्त्री, मन्त्री र कुटनीतिक नियोगका प्रतिनिधिलाई ३ बजेदेखि ४ बजेसम्मको छुट्याएको थियो । ३ बज्दा नबज्दै बोलाएका सबै भीआइपी एकैपटक बल्खु पुगे । कार्यकर्ता र भीआइपीको लागि स्वागत गर्ने ठाउँ बेग्लै बनाइएको थियो । भीआइपीहरुको ओइरो लाग्न थालेपछि अध्यक्ष झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम लगायतका शीर्ष नेताहरु कार्यकर्ता र अरु क्षेत्रका निम्तालुलाई छाडेर भीआइपीहरुको स्वागतमा व्यस्त भए । सबै भीआइपी एकै पटक पुगेकाले बस्ने ठाउँ समेत भएन । बिभिन्न देशका राजदूतलाई मजाले स्वागत गर्ने फुर्सद पनि नेताहरुले पाएनन् । प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, कांग्रेस सभापति सुशील कोइराला, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा(माओवादीका नेता मोहन वैद्य किरण लगायतका नेताहरु भीड छिचोलेर बल्लतल्ल एमालेका शीर्ष नेताहरुको छेऊमा पुग्नु परेको थियो ।
कांग्रेसको चियापानमा सबै नेताहरुको एकैपटक जमघट हुन सकेको थिएन । तर एमालेको चियापानमा भने सबै शीर्ष नेताहरु एकैपटक बल्खु पुगे र सँगै हार मिलाएर बसेका थिए । शुरुमा कांग्रेसका कोइराला बल्खु पुगे । खनाल र नेपालसँग हात मिलाएर बल्लतल्ल कुर्सीमा बस्न नपाउँदै प्रधानमन्त्री भट्टराई भीड छिचोल्दै त्यहाँ पुगे । उनी बसेको केही छिनमा नेकपा(माओवादीका वैद्य आफ्ना पार्टीका दलबल लाइन लगाएर त्यहाँ पुगे । बैद्यले अगाडि बस्ने ठाउँ पाए । बैद्य सहितका नेताहरु पुगे लगत्तै माओवादी अध्यक्ष प्रचण्ड पनि आफ्ना पार्टीका नेताहरुको साथमा बल्खु पुगे । सबै शीर्ष नेताहरु एकछिन हार मिलाएर बसे । भएका नेताहरु एक ठाउँमा भेटेपछि पत्रकारको पनि घुईंचो लाग्यो ।
यसरी कांग्रेसको चिया खाएको भोलिपल्टै आफ्नो तर्फबाट चियापान कार्यक्रम गरेको एमालेका निम्तालु पनि कांग्रेसमा गएकाहरु नै थिए । कार्यकर्ता बाहेक निम्तालु उही भएपनि कांग्रेसमा भन्दा एमालेको चियापानमा पाहुना बढी देखिन्थे । कांग्रेसको चियापानमा नगएका प्रधानमन्त्री, परराष्ट्रमन्त्री र मधेसी नेताहरु एमालेको चियापानमा पुगेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा।नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ ।

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा उम्मेदवारी शुल्क एक लाख रुपैयाँ तोकिएको छ। बुधबारबाट काठमाडौंमा सुरु भएको एकता महाधिवेशनले

सुर्खेत।नेपाली कांग्रेसको सुर्खेतमा सुरु भएको कर्णाली प्रदेशको पहिलो अधिवेशन वरिष्ठ नेता रामभन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ । कांग्रेस महामन्त्री

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

आजको प्रमुख समाचार