राष्ट्रपतिबाट मुर्खतापूर्ण कदम चालिने छैन भन्नेमा हामी विश्वस्त छौँ : अग्निप्रसाद सापकोटा, (प्रवक्ता, एनेकपा माओवादी)

११ कार्तिक २०६९, शनिबार ०८:१६ मा प्रकाशित

० मुलुकको उल्झिएको राजनीतिमा दशैंपछि सहमतिको किरण देखापर्ने दाबी तपाईंहरु गर्नुहुन्थ्यो, दशैं त सकियो, सहमतिको कुराचाहिँ कहाँ पुग्यो होला ?
– दशैंलगत्तै सहमति भइहाल्छ भन्ने दाबी कसैले गरे होलान्, हामीले त त्यस्तो दाबी गरेका थिएनौँ । तर, सहमतिको प्रयत्न जारी नै छ ।
० कहिलेसम्म जारी रहने हो तपाईंहरुको प्रयत्न ?
– सहमति नबनेसम्म त प्रयत्न भइरहनु परयो नि, होइन र ? तर, धेरै ढिला गर्नुहुन्न, रात रहे अग्राख पलाउँछ भन्ने ज्ञान छ हामीलाई । मलाई लाग्छ– कात्तिक मसान्तभित्रमै सहमति भईसक्नुपर्छ ।
० कात्तिक मसान्तभित्रै सहमति जुटाउन सहमतिको रोडम्याप तपाईंको पार्टीसँग छ त ?
– हाम्रो पार्टीले त्यो प्रस्तुत गरिसकेको छ ।
० के हो त त्यो रोडम्याप ? एकचोटी दोहोरयाईदिनुहोस न ।
– अहिलेसम्म प्राप्त गरेका उपलब्धिहरुलाई रक्षा गर्ने, यसका लागि छोटो समयका लागि संविधानसभा पुनःस्थापन गर्ने र प्राप्त उपलब्धिहरुका आधारमा संविधान घोषणा गर्ने भन्ने हाम्रो पार्टीको रोडम्याप हो । चुनावका लागि कांग्रेस–एमालेहरु तयार हुँदैनन् भने केही न केहीमा सहमति त गर्नै परयो नि ।
० संविधानसभा पुनःस्थापना केका आधारमा गर्ने नि ?
– कांग्रेस–एमालेलगायत सबै दलहरु सहमत भएको विषय के छ भने संविधान निर्माणमा नब्बे प्रतिशतभन्दा बढी काम संविधानसभाबाट भइसकेको छ । यो राष्ट्रको ठूलो सम्पत्ति हो । यो सम्पत्तिको जगेर्ना गर्नु अहिले राष्ट्रको अहम दायित्व हो । यसो गरिनु राजनीतिक दलहरुको बुद्धिमत्ता ठहरिनेछ । कांग्रेस–एमालेका पनि अलिक बुद्धि र विवेक भएका नेताहरुले संविधानसभा पुनःस्थापनाकै पक्षमा आफ्नो मत जाहेर गरेका छन् । संविधानसभा ब्युँताएर मात्र त्यो उपलब्धिको रुक्षा गर्न सकिन्छ । यसलाई इन्कार गरेर एकोहोरो चुनावको रट लगाउनेहरु देश भँड्खालोमै जाओस् भनी ठान्नेहरु हुन् ।
० संविधानसभा पुनःस्थापनाको कुरा त माओवादीले प्रचण्डलाई प्रधानमन्त्री बनाउन मात्र उठाएको दाबी गरेका छन् नि कांग्रेसका नेताहरुले, यसमा के भन्नुहुन्छ तपाईं ?
– यो कांग्रेसका नेताहरुको मनोगत कुरा हो । म के स्पष्ट पार्न चाहन्छु भने नयाँ निर्वाचन नभइकन प्रचण्ड प्रधानमन्त्री बन्नुहुने छैन । यो हाम्रो पार्टीको आधिकारिक निर्णय नै हो भन्ने बुझ्नुहोस् । प्रचण्डले पनि अहिले प्रधानमन्त्री हुन चाहिरहनुभएको छैन । सहमतिको वातावरण बनाउन भूमिका खेल्नुपर्ने नेताले प्रधानमन्त्री पदका लागि पछि लाग्ने कुरै आउँदैन, त्यस्तो सोच्ने कुरै आउँदैन । संविधानसभा पुनःस्थापनपछि पनि हाम्रै पार्टीको नेतृत्वमा सरकार बन्ने स्थिति आउँछ भने त अलरेडी बाबुराम भट्टराई प्रधानमन्त्री हुँदैहुनुहुन्छ नि ।
० तपाईं यसो भन्नुहुन्छ तर कम्युनिस्टहरुमा नैतिकता नहुने भएकोले अहिले भनेको कुरा बिर्सिएर पछि अर्कै निर्णय गर्छन् भन्ने उनीहरुको आरोप छ ?
– हलो अड्काएर गोरु चुट्ने व्यवहार गर्ने कांग्रेस–एमालेका नेताहरुले नैतिकताको कुरा गर्नु पनि हास्यास्पद छ । सरकारले चुनाव घोषणा गरेको छ तर उहाँहरु जनतामाझ जान हिच्किचाईरहनुभएको छ ।
० कामचलाउ सरकार देशमा कहिलेसम्म रहने, यो पनि एउटा नैतिकताको प्रश्न होइन र ?
– विपक्षीहरु चुनाव हुनै नदिने कुरा गर्छन् त हामीले के गर्ने ? कांग्रेस–एमालेकै कारणले चुनाव हुन नसकेको हो । उनीहरुलाई राम्रोसँग के थाहा छ भने चुनावमा जनताले बचेखुचेको अस्तित्व पनि सखाप हुनेगरी बढारिदिने छन् । यसैले सरकारले घोषणा गरेको चुनावको बर्खिलाप गएका हुन् उनीहरु । यस्तो अवस्थामा अर्को व्यवस्था नभएसम्म सरकारले लत्तो छोडेर बाहिरिन कसरी मिल्छ ?
० चुनाव नचाहने त तपाईंहरु नै हो पनि भनेका छन् विपक्षी दलहरुले त ?
– राष्ट्रपतिलाई उचालेर सरकार हात पार्न चाहनेहरुको कुरा विश्वास गर्नुभयो भने तपाईंहरु नै भ्रममा पर्नुहुनेछ ।
० विपक्षीहरुले फेरि सरकारविरुद्ध आन्दोलन गर्ने कुरा गरेका छन्, प्रतिवादको तयारी के गर्दैहुनुहुन्छ तपाईंहरु ?
– आन्दोलनको प्रकृति नहेरि के प्रतिवादको कुरा गर्नु ? उहाँहरुले धेरैपटक आन्दोलनको हुंकार गरिसक्नुभएकै हो र उहााहरुको आन्दोलनको तुक पनि देखिएकै हो । झलनाथजीको आन्दोलनको सुनामी पनि देखियो माधवजीले आन्दोलन गरेर सरकार बढारेको पनि हेरियो । वास्तवमा जनता उहाँहरुको पक्षमा छँदैछैनन् । नेपाली जनता त पार्टीहरु मिलुन् र मिलेर अहिलेसम्म प्राप्त भएका उलब्धिहरुको रक्षा गरुन् भन्ने नै चाहन्छन् । बाबुरामजीको ठाउँमा रामचन्द्र या अर्को कोही आउनेवित्तिकै समस्या सबै फूःमन्तर भइहाल्ने ग्यारेन्टी कसले दिन सक्छ र ?
० जनताको यो चाहना पूरा हुन नदिएको त दलहरु र तपाईं नेताहरुले नै त हो, होइन र ?
– जनताको चाहना पूरा हुन नदिएको कस–कसले हो भन्ने कुरा नेताले भन्दा जनताहरुले राम्रोसँग बुझेका छन् । हाम्रो पार्टीलाई त देश बरबाद हुन लागेकोमा अत्यन्त चिन्ता छ ।
० यत्रो चिन्ता छ भने कुर्सी छोडिदिए हुन्छ नि, यत्तिका विरोध झेलेर किन टाँस्सिनु परेको ?
– संविधानसभाबाट बनेको सिरकारले कसलाई ट्यास्स छोडिदिने भनेको ? झन् अस्तव्यस्त हालत हुन्छ भन्ने किन नबुझेका यी विपक्षी दलका नेता भन्नेहरुले ? मलाई त ताजुव लाग्छ । विकल्प तयार नभईकन सडकमा सरकार छोड्दा मुलुक त झन् अराजकतातिर जान्छ नि । विगतबाट पाठ सिक्नु पर्दैन ? विकल्प तयार नभई सरकार छोड्नु भनेको गैरजिम्मेवार र अपरिपक्वता ठहरिनेछ । राष्ट्रका लागि धोका पो हुन्छ त त्यो ।
० प्रधानमन्त्रीले सरकारबाट राजनीनामा दिएर छोड्नुभएन भने राष्ट्रपतिले हटाउने गृहकार्य सुरु गर्नुभयो भन्ने पनि सुनिन्छ नि ?
– विल्कुल यसो हुन सक्दैन । राष्ट्रपतिलाई प्रधानमन्त्री हटाउने अधिकार पनि छैन र उहाँ यस्तो कसरतमा हुनुहुन्छ भन्ने विश्वास पनि हामी गर्दैनौँ । राजनीतिक दलहरुको सहमतिबिना म कुनै कदम चाल्दिनँ भनेर उहाँले पटक–पटक भन्नुभएको छ । देशलाई दुर्घटनामा पुरयाउने मुर्खतापूर्ण कदम उहाँले चाल्नुहुने छैन भन्ने उहाँका अहिलेसम्मका अभिव्यक्ति र व्यवहारले दर्शाइरहेका छन् । त्यसैले राष्ट्रपतिप्रति शंका गरिरहनु पनि आवश्यक छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ, १९ बैशाख । विश्वमा कोरोना माहामारीका कारण नेपाल लकडाउन भएको १ महिना भन्दा बढी भइसक्यो । यो एक महिनाको

निरोज कुमार थापा, काठमाडौँ, १० असार । सबै मानिसहरु आफ्नो कर्ममा सफल हुन्छन् भन्ने छैन । तर निरन्तरको लगाव, कामप्रतिको

पर्यटन प्रवद्र्धनका लागि सन् २०१७ बाट हरेक वर्ष हिमालय ट्राभल मार्ट आयोजना हुँदै आएको छ । यसवर्ष पनि जुन ६

निरोज कुमार थापा, काठमाडौँ, ६ बैशाख ।  नेपालमा होमस्टेको इतिहाँस लामो छैन। यो अभियानले गति लिएको एक दशक पनि भएको