राष्ट्रपति यादवले नयाँ प्रधानमन्त्री नियुक्त गर्न भूमिका खेल्नु पर्छ: नेपाल

९ कार्तिक २०६९, बिहीबार १९:४८ मा प्रकाशित

काठमाडौ, ९ कार्तिक । एमाले बरिष्ट नेता माधवकुमार नेपालले राष्ट्रपति डा रामवरण यादवले नयाँ प्रधानमन्त्री नियुक्त गर्न भूमिका खेल्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्लबले विहीबार नेपाल निवास कोटेश्वरमा आयोजना गरेको साक्षात्कारमा नेता नेपालले दलहरुको समर्थन बिना राष्ट्रपतिले केही गर्न नसक्ने स्पष्ट पार्दै आन्दोलन चर्किएपछि त्यसको जगमा प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई हटाएर नयाँ प्रधानमन्त्री नियुक्त गर्न सक्रियता देखाउनु पर्ने बताउनु भयो । संचारकर्मीहरुसंग नेता नेपालले भने आन्दोलन सशक्त भएपछि राष्ट्रपतिलाई कदम चाल्न अनुकूल वातावरण बन्छ । अहिले तत्कालै कदम चाल्न गाह्रो हुन्छ । दलहरुले सहमतिमा प्रधानमन्त्री दिन नसके बहुमतको सरकार बनाउनु पर्ने अवस्थामा अप्ठ्यारो पर्न सक्छ ।
नेता नेपालले दसैं तिहारपछि सरकारका लागि सजिलो दिन नभएको भन्दै त्यसपछि उत्पन्न हुने राजनीतिक, संवैधानिक संकट र आन्दोलनले सरकार अप्ठ्यारोमा पर्ने दाबी समेत गरे । नेपालले थपे, ‘हामी बजेट पनि ल्याउन दिँदैनौं । अबका दिन सरकारका लागि त्यति सहज छैन ।’
उनले मुलुकलाई निकास दिने बाटोमा माओवादी नै प्रमुख बाधक भएको आरोप लगाउँदै गतिरोध अन्त्यको विकल्प आन्दोलन र जनपरिचालनबाहेक अरू केही पनि नभएको स्पष्ट पारे । माओवादीलाई मुलुकको निकासभन्दा पनि सत्ता चाहिएको स्पष्ट पार्दै सहमति नगरी सत्ता लम्ब्याएर अगाडि बढ्ने निर्णय माओवादीले गत वैशाखमै गरेको दाबी गरे । उनले भने- प्रचण्डको एउटै लक्ष्य छ माओवादीलाई धनी पार्टी बनाउने पहिलो शिविरको नाममा समय लम्ब्याउँदै पैसा कमाउँदै गरे । अहिले पनि सत्ताको आडमा चन्दा आतंक मच्चाएका छन् । ठूला ठूला आयोजना कब्जा गरेर पैसा असुल्ने दाउमा मात्रै छन् । बालुवाटार भित्र त त्यस्तो ग्याङ नै छ ।
माओवादीलाई देशका लागि बोझको संज्ञा दिँदै उसलाई मुलुक भाँडभैलोमा गए पनि पैसा बाहेक केही वास्ता नभएको आरोप नेता नेपालले लगाए ।
माओवादी देश बनाउन भन्दा पनि मुलुकमा जातीय दंगा भड्काएर टुक्राउन आएको दाबी गर्दै माओवादीले पनि ज्ञानेन्द्रको जस्तै खाउँला भनेर सोचेको भए त्यो दिवास्वप्न मात्रै हुने उनले चेतावनी दिए ।
सहमतिको सरकारको नेतृत्वको विषयमा एमाले पूर्व सहमति अनुसार कांग्रेसको नेतृत्वमा गठन गर्न प्रतिबद्ध रहे पनि कांग्रेसमै झगडा परेर अप्ठ्यारो अवस्था आएको भन्दै एमालेलाई नेतृत्वको जिम्मा दिए एक मिनेटमै एमालेले उमेदवारी खडा गर्ने ठोकुवा गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार

चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधि, अतिथि र स्वयंसेवकलाई सौराहामा खान र बस्नको व्यवस्था गरिएको छ

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास मध्यरातमा असफल भएपछि सोमबारबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा प्रतिस्पर्धा हुने