कांग्रेसमा कति शक्तिशाली सिटौला

२१ मंसिर २०७८, मंगलवार २१:४० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि सिटौलाले कोइराला खेमामा ठाउँ नपाउदा उनी सभापतिमा उम्मेदवार बने । त्यसपछि उनले पार्टीमा छुट्टै गुट बनाए र महाधिवेशनमा नेतृत्वको दौडमा होमिए ।

तर, उनले सम्मानजनक मत पनि ल्याउन सकेनन् । उनको पक्षमा जम्मा ३२४ मत आएको थियो । कांग्रेसमा लोकप्रिय हुँदै गरेका युवा नेता गगन थापालाई सिटौलाले महामन्त्रीको उम्मेदवार बनाए । गगनले भने ५८४ मत पाएका थिए । सिटौला उम्मेदवार भएकै कारण पहिलो चरणमा कसैले सभापतिमा जीत निकाल्न सकेन । दोस्रो चरणमा उनले शेरबहादुर देउवालाई समर्थन गरे । सिटौला समूहकै समर्थनमा देउवाले १३ औं महाधिवेशन जित्न सफल भए ।

त्यसबेला, कोइराला परिवारको पक्षमा रहेको तर, रामचन्द्र पौडेललाई भोट दिन नमान्नेहरूले सिटौलालाई मत दिएको विश्लेषण हुने गरेको थियो । १३ औं महाधिवेशन अघिसम्म सिटौला कोइराला परिवारसँग निकट सम्बन्धमा थिए । १३ औं महाधिवेशनदेखि कांग्रेसमा सिटौलाले आफूलाई तेस्रो धारको शक्तिको रूपमा प्रस्तुत गर्दै आएका छन् । पार्टीभित्र निर्णय लिने बेलामा कहिले संस्थापनतिर, त कहिले संस्थापनइतर खेमामा लागेर उनले शक्ति आर्जनको प्रयास गर्दै आएका छन् ।

सिटौलालाई नजिकबाट चिन्ने कांग्रेसका एक नेता भन्छन्, ‘पार्टीमा सिटौला खेमाको कुनै शक्ति छैन । जुन खेमामा लाग्दा शक्ति आर्जन हुन्छ, त्यसैमा लाग्ने र राजनीतिक उपस्थिति देखाउने प्रयास गर्दै आएका छन् । १४ औं महाधिवेशनमा पनि त्यसैको प्रयासमा छन् ।’

आफूलाई फाइदा पुग्ने समूहमा लागेकै आधारमा सिटौलाले आफ्नो समूहबाट गगन थापालाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउन सफल भएका थिए । थापा मात्रै होइन, भीमसेनदास प्रधान रक्षामन्त्री र उमाकान्त चौधरी स्वास्थ्य मन्त्री बनेका थिए । उनै चौधरी अहिले देउवा क्याबिनेटमा खानेपानी मन्त्री छन् ।

त्यति मात्रै होइन, सिटौला समूहले पार्टीको क्रियाशील सदस्यता विवाद समाधान समितिमा पनि बलियो उपस्थिति देखाएको थियो । सिटौलाका तर्फबाट केन्द्रीय सदस्य प्रदीप पौडेल क्रियाशील सदस्यता विवाद समाधान समितिका सदस्य एवं प्रवक्ता भएका थिए । अहिले सिटौलाले संस्थापन समूहलाई सघाउन सक्ने अपेक्षासहित पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले उनलाई उच्चस्तरीय राजनीतिक संयन्त्रको सदस्य बनाएका छन ।

सिटौला समूहले संस्थापन समूहसँग मिलेर नेपाल विद्यार्थी संघ र नेपाल महिला संघमा आफ्नो उपस्थिति बलियो बनाएको कांग्रेसका नेताहरू बताउँछन् ।

सिटौला समूहको राजनीतिक मूभ नियाल्दै आएका एक केन्द्रीय सदस्य भन्छन्, ‘नेपाल शिक्षक संघ, लोकतान्त्रिक कानून व्यवसायी संघ (डीएलए) र ट्रेड युनियनको अधिवेशनमा सिटौला समूहले रामचन्द्र पौडेल समूहसँग मिलेर संस्थापन पक्षलाई पराजित गराउन भूमिका निर्वाह गरेको थियो । त्यसैले सिटौला समूहको राजनीतिक रङ यही हो भन्न सकिँदैन ।’ जुन खेमामा लाग्दा आफूलाई फाइदा हुन्छ, त्यतै लाग्ने सिटौलाको रणनीति नै हो ।

अधिवेशनमा क्रममा देशका विभिन्न ठाउँमा प्रतिनिधि जिताउन सिटौलाले संस्थापन पक्षसँग सहकार्य गरिरहेका छन् । उनले आफू पक्षका कार्यकर्तालाई जहाँ जोसँग मिल्दा आफ्नो पक्षको जित हुन्छ, त्यही उपाय अपनाउन निर्देशन दिने गरेको उनी निकट नेताहरू बताउँछन् ।

‘महाधिवेशनमा हाम्रो समूहको उम्मेदवार हुन्छ, त्यसलाई ख्याल गरेर प्रतिनिधि जिताउने उपाय लगाउनुहोस्, जहाँ जोसँग सहकार्य गर्दा फाइदा हुन्छ, त्यसैसँग सहकार्य गर्नुस् भन्ने उहाँको निर्देशन थियो’, एक नेताले भने ।

प्रदेश–१ को अधिवेशनमा सिटौला निकटका नेता उद्धव थापाले प्रदेश सभापतिमा जीत निकालेका छन् । तर, सिटौलाको गृहजिल्ला झापामा भने सिटौलाको निर्वाचन क्षेत्रबाहेक अन्यन्त्र उनको उपस्थिति साह्रै कमजोर देखिएको छ । बागमती प्रदेशमा सिटौला समूहकै सहयोगमा संस्थापन पक्षका इन्द्र बानियाँले प्रदेश सभापतिमा जीत निकालेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद्का साथै आफ्नो सचिवालयलाई पूर्णता दिने तयारीमा जुटेका छन् । केही दिनयता प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्

काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर १ प्रकाशमान सिंहले पछिल्लो ३ निर्वाचन जितेको क्षेत्र हो । विगतमा कृष्णप्रसाद भट्टराईदेखि लोकेश ढकाल

काठमाडौं । कांग्रेसमा सभापतिपछि सबैभन्दा शक्तिशाली पद हो– महामन्त्री । संगठन परिचालन गर्नेदेखि कार्यलय सञ्चालनसम्मको जिम्मेवारी महामन्त्रीको हो । गगन

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सय दिनमा गरेको कार्यप्रगति सार्वजनिक गरेका छन् । मन्त्रालयमा नै पत्रकार