पुनः सभापतीमा दोहोरिएलान् देउवा, के छ हिसाब

२० मंसिर २०७८, सोमबार १८:०१ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सभापती समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश २ का आठवटै जिल्लामा पकड जमाएका छन् । उपसभापति विमलेन्द्र निधिले पनि यहीबाट प्रतिनिधित्व गर्छन् । निधिलाई विश्वासमा लिएर अघि बढ्न सके देउवाले प्रदेश २ मा पनि आफूलाई बलियो बनाउन सक्नेछन् ।

३२ वटा निर्वाचन क्षेत्र भएको प्रदेश २ महाधिवेशनमा निर्णायक हुने देखिन्छ । यी जिल्लामा पौडेल पक्ष निक्कै कमजोर छ । यस्तोमा निधिलाई विश्वासमा लिन सक्दा देउवाले प्रदेश २ मा बलियो पकड बनाउन सक्नेछन् ।

अन्तिममा देउवासँग निधि भड्किए पनि पौडेल पक्षलेसमेत प्रदेश २ बाट फाइदा उठाउने देखिन्छ । यद्यपि, प्रधानमन्त्री रहेका देउवासँगै कांग्रेस प्रदेश २ को मूलधार रहेको बताइन्छ । प्रदेश २ का ३२ निर्वाचन क्षेत्रबाट ८ सय महाधिवेशन प्रतिनिधि छानिन्छन् । अहिलेसम्म ३२ मध्ये २७ क्षेत्रमा अधिवेशन भइसकेको छ । ४ प्रदेशमा जितेको संस्थापनले प्रदेश २ मा पनि जित्यो भने महाधिवेशनमा आफू निक्कै बलियो रहेको प्रष्टै सन्देश दिनेछ । प्रदेश अधिवेशनलगत्तै अब एक हप्तामा महाधिवेशन हुँदा यसको फाइदा देउवाले उठाउन सक्नेछन् ।

सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीभित्रको सबैको भावनालाई प्रतिनिधित्व गर्न सक्दा नै सभापतिले प्रदेशमा बलियो उपस्थिति देखाएको बताए । ‘सभापति देउवाको पक्षमा सकारात्मक नतिजा देखिएको छ । पार्टीलाई एक बनाएर लानुपर्छ भन्ने सन्देश यी नतिजामा देखिन्छन्’ महतले भने, ‘राष्ट्रिय रुपमा देउवालाई गठबन्धनको प्रधानमन्त्रीको रुपमा सबैले स्वीकार्ने देखियो । पार्टीमा पनि सभापतिले सबैलाई मिलाएर अघि बढ्न खोज्दाको परिणाम आएको छ ।’

यो पक्ष त्यो पक्ष नभनी सबैलाई मिलाएर लान सक्ने क्षमता नै देउवाको ‘स्ट्रेन्थ’ भएको महत बताउँछन् । ‘पार्टी एक बनाएर लानुभएको छ, आफूले प्रतिक्रिया नदिने तर अरुको कुरा सुन्ने, मान्दिने स्वभाव देउवाको छ’ महत भन्छन्, ‘यस्तो खालेको नेतृत्व पार्टीलाई चाहिएको छ । उहाँको स्ट्रेन्थ उदार हुने सबैलाई मिलाउने, आफू वाद विवादमा नउत्रिने, कुरा सुन्ने हो । यसकै नतिजा जिल्लादेखि प्रदेशसम्मको अधिवेशनमा आएको छ ।’

गुटबन्दीबाट माथि उठेको सन्देश देउवाले दिएको पनि महतले बताए । ‘प्रदेश १ र वाग्मतीमा धेरै मेहनत गरेका छौं । सबैलाई समेटेर लाने प्रयत्न गरेका हौं । किनकि, कांग्रेस अर्को पार्टी होइन । आन्तरिक प्रतिस्पर्धा भए पनि सबैलाई जोड्यौं यो पक्ष त्यो पक्ष भनेनौं’ महतले भने, ‘हाम्रो टिममा नभएका भनेर बेवास्ता गरेनौं । सबैलाई जोड्यौं । कसैलाई पनि उपेक्षा गरेनौं । यसैको नतिजा हामीले पाएको छौं । प्रदेश २ बाँकी छ । यो त झन् हाम्रो राम्रो र बलियो पकड भएको क्षेत्र हो । यहाँ हामी झनै शक्तिशाली भएर आउँछौं । महाधिवेशनमा सफल हुन्छौं ।’

यस्तै १३ औं महाधिवेशनमा पहिलो चरणमा ३१४८ मत खसेको थियो । विधानअनुसार खसेको मतको ५० प्रतिशत नआएपछि पुनः मतदान भएको थियो । पहिलो चरणमा देउवाले १५६४, पौडेलले ११६० मत प्राप्त गरेका थिए । तेस्रो समूहबाट कृष्ण सिटौलाले ३२४ मत ल्याएका थिए ।

कसैको पनि बहुमत नपुगेपछि २०७२ फागुन २४ मा देउवा र पौडेलबीच पुनः सभापतिको लागि प्रतिस्पर्धा भएको थियो । जसमा सिटौला नै निर्णायक देखिँदा देउवा १८८२ मत ल्याएर विजयी भएका थिए । पराजित पौडेलले १२९६ मत पाएका थिए ।

पहिलो चरणमा जम्मा ११ मतले सभापतिमा चुकेका देउवाले दोस्रो चरणमा ३१८ मत बढाएका थिए । दोस्रो चरणमा पौडेललाई ५८६ पराजित गरेका थिए । पौडेलले भने जम्मा १३६ मत मात्रै बढाउन सकेका थिए ।

१३ औं महाधिवेशनमा सिटौलामा सभापतिमा, गगन थापा महामन्त्री र उमाकान्त चौधरी कोषाध्यक्षमा उठेका थिए । केन्द्रीय सदस्यमा भने सिटौला पक्षले उम्मेदवारी दिएको थिएन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद्का साथै आफ्नो सचिवालयलाई पूर्णता दिने तयारीमा जुटेका छन् । केही दिनयता प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्

काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर १ प्रकाशमान सिंहले पछिल्लो ३ निर्वाचन जितेको क्षेत्र हो । विगतमा कृष्णप्रसाद भट्टराईदेखि लोकेश ढकाल

काठमाडौं । कांग्रेसमा सभापतिपछि सबैभन्दा शक्तिशाली पद हो– महामन्त्री । संगठन परिचालन गर्नेदेखि कार्यलय सञ्चालनसम्मको जिम्मेवारी महामन्त्रीको हो । गगन

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सय दिनमा गरेको कार्यप्रगति सार्वजनिक गरेका छन् । मन्त्रालयमा नै पत्रकार