निमेषको कथा -सुबिन भट्टराई

७ चैत्र २०६८, मंगलवार १९:५० मा प्रकाशित

निमेष अग्लो गोरो र खाइलाग्दो व्यक्तित्व भएको प्रभावशाली व्यक्ति थियो । उसको यस किसिमको व्यक्तित्वलाई उसको खानदानी रहनसहन, खानपान र चिकित्सकीय स्वास्थ्य सचेतताको परिणतिका रुपमा मूल्याङ्कन गरिन्थ्यो । कपाल सिल्की थियो । उसको कपालले उसको निधारको आधा भाग जहिले पनि छोपिरहेको हुन्थ्यो । म उसको कपालको ईष्र्या गर्थे । कत्तिपटक मैले उसको कपाल हातले जोरले बिगारिदिन खोजेको पनि थिएँ तर म हार खान्थें किनकि जतिपटक मैले बिगारिदिन खोजेको भए तापनि त्यो एकै छिनमा यथास्थितिमा आउँथ्यो । प्रतिक्रियामा ऊ एकपटक मुस्कुराउँथ्यो । म पराजित अनुभव गर्थें । मुस्कुराउँदा उसको दाहिने गालामा खोपिल्टा पर्थे । उसको दाहिने गालाको खोपिल्टो र सिल्की कपालको स्कूलभरि नै धेरैले प्रशंशा गर्दथे ।
उसको लूगापनि हरेक दिन धोइएको हुन्थ्यो । सर्ट पाइन्टमा धारिलो क्रिज बसेको हुन्थ्यो । उसको पोशाक देख्दा यस्तो लाग्थ्यो मानौ ऊ कुनै टेलिभिजनको लुगा धुने साबुन वा सर्फको बिज्ञापनबाट खुत्रुक्क ओर्लेर आएको हो । फेरि अचम्मको कुरा के भने दिनभरि स्कूलमा त्यत्रो बिघ्न खेलकुद हुन्थ्यो, तर घर फर्कने बेलासम्म कुनै पनि दिन उसको लुगामा एउटा स्यानो दागसम्म लागेको देखिएन ।
ऊ कम बोल्थ्यो कम हाँस्थ्यो । उसको सबभन्दा नजीकको साथी म । ऊ यति कम बोल्थ्यो मानौ हरेक शब्द पैसा खर्चेर बोलिरहेछ । जुन कुरा भन्न हामीले कम्तीमा तीन चार वटा वाक्य खर्चिनु पर्ने हुन्थ्यो ऊ एक वाक्य पनि नलगाइ पुरा गरिदिन्थ्यो ।
म कक्षाको अलिक पढ्ने कोटीको बिद्यार्थी भएकाले उसले अरुभन्दा मित्रताको प्राथमिकताको सूचीमा मलाई राखेको थियो । मपनि उसको पारिवारिक पृष्ठभूमिका अघिल्तिर नतमस्तक थिएँ । उसको घरमा भएका फर्निचर, गाडी अनि झ्याप्ले कुकुरका अघिल्तिर नतमस्तक थिएँ ।
कहिलेकाँही शनिबार उसको घर जान्थें । उसको बाबु बगैंचामा बेतका कुर्सीमा बसेर अखबार पढ्दै चिया पिइराखेका हुन्थे । तिनीहरूको मूल गेट खोल्दा ठूलै आवाज आउँथ्यो । निमेष आफ्नो छतमा भएको अवस्थामा त्यो आवाज सुनेर उही आफ्नो गालामा खाल्टो पार्दे मुस्काउँथ्यो र तलपट्टि हेथ्र्यो । तर त्यो अवस्थामा उसका बाबुले मलाई कहिल्यै देखेनन् । यस्तो लाग्थ्यो मानौ तिनले पढेको समाचार भन्दा महत्वपूर्ण संसारमा अरु केही छैन ।
अनि उसको घरमा मलाई किसिम किसिमका बिस्कुटहरू ख्वाउँथ्यो ऊ । मैले त्यस किसिमका बिस्कुट बिराटनगर त के जोगबनीमा समेत नदेखेको हुँदो हुँ । कहिलेकाँही किसिम किसिमका मिठाइहरू ख्वाउँथ्यो । कैले काजु किसमिस, छोहरा आदि ख्वाउँथ्यो ।
सायद म यी सबै कुरादेखि उसका अघिल्तिर नतमस्तक थिएँ ।
यसको मतलब यो होइन कि म मात्रै उसको घर जान्थें । ऊ पनि कहिलेकाँही मेरो घर आउँथ्यो । तर मेरो घरमा कहाँ पाउनु काजु, किसमिस र छोहरा ? कहाँ पाउनु किसिम किसिमका बिस्कुटहरू ? कहाँ पाउनु झ्याप्ले कुकुर, गाडी, आकर्षक फर्निचर अनि अखबार पढिरहने व्यस्त बाबु ? त्यसैले हुनसक्छ ऊ मकहाँ कमै आउँथ्यो ।
हामी साँझ साँझमा बाहिरफेर घुम्न डुल्न निस्किन्थ्यौँ । ऊ र म प्रायः साइकल लिएर बरगाँछी जान्थ्यौं । बरगाँछी उसलाई मन पर्ने ठाउँ । मलाई पनि त मन पथ्र्यो बरगाँछी । रंगेली रोडमा घुपचुप खान्थ्यौं । बैजुको दोकानमा पुडी जिलेबी खान्थ्यौं । तीन चारपल्ट उसले ख्वायो भने एकपल्ट म पनि उसलाई ख्वाउने हैसियत राख्थें ।
कैलेकाँही बरगाँछी जाने बेलामा ऊ भन्थ्यो, ‘आज साइकलमा हैन रिक्सामा जानें ।’
अनि रिक्सामै हामी बिराटनगरका गल्ली गल्ली हुँदै बरगाँछी जान्थ्यौं । सम्पूर्ण रिक्साभाडा उसैले तिथ्र्यो ।
एकदिन बरगाँछी नजीकैको एउटा दोकानमा बसेर कुल्फी खाइरहेका थियौं । उसले मलाई वरपर अरूले सुन्ला कि झैं गरी साउतीजस्तो स्वरमा आफुतिरै तानेर कानमा खुसुक्क भन्यो, ‘तँलाई सपना कस्ती लाग्छ हँ ?’
यो उसले अलिक लजाउँदै मलाई सोधेको थियो । यो कुराको अर्थ बुझ्नलाई मलाई धेरै बेर लागेन । अर्थ स्पष्ट भैहाल्यो । ऊ सपनालाई मन पराउँछ, प्रेम गर्छ ।
र विवाह ?
त्यो म भन्न सतिmनँ किनकि हाम्रो उमेरका त्यसबेलाका केटाहरू बिहे गर्न भन्दा बिहेको भोज खान मात्र योग्य थिए ।
अतः मेरो सबभन्दा नजीकको साथी कक्षाकै सपना भन्ने केटीलाई मन पराउँछ भन्ने थाहा पाएपछि मेरो यो कर्तव्य हुन जान्थ्यो कि म उसलाई सपना उपलब्ध गराउनलाई सहायकको भूमिका खेलूँ । यसर्थ मैले त्यो सक्दो गरें ।
सपना हाम्रोभन्दा ठ्याक्कै पछाडिको बेन्चमा बस्थी । ऊ कक्षामा हरेकबखत कोल्टो फेरेर बसेको हुन्थ्यो । बेला बेलामा कुनै शिक्षक÷शिक्षिका उसलाई अगाडि फर्केर बस्ने आदेश दिन्थे । अनि पछाडिकी सपना एकपल्ट मसिनो आवाजमा हाँस्थी । त्यसपछि म उसलाई सपनाले देख्नेगरी चिमोटिदिन्थें । तर म बिचार गरिरहेको हुन्थेँ यो दृश्य चैँ ऊ नदेखे झैँक गर्दथी ।
त्यसपछिका दिनहरूमा निमेष र मबीच सपनाका मात्रै कुरा हुन लागे । जहाँ जाँदा पनि ‘सपनाले के सोच्ली ?’, ‘के उसले मेरो प्रेम स्वीकार्ली ?’ आदिजस्ता प्रश्नहरू गरेर मलाई वाक्क, दिक्क र रिस उठाउन थालिसकेको थियो । शुरुशुरुमा सहेँ । पछि त झर्कै लाग्न थाल्यो । यसै कारणले म उसको घर कम जान थालें–ऊ सपनाको कुरा ज्यादा गर्छ भनेर । तर ऊ मेरो घरमा ज्यादा आउन थालेको थियो–सपनाकै कुरा गर्न भनेर ।
एकदिन ऊ मेरै घरमा आएको बेलामा सपनाकै कुरा गरिरहेको थियो । मलाई यसै झोंक चल्यो । भन्दिएँ, ‘यसरी कुरा मात्र गरेर हुन्न साथी ! काम गर्नुप¥यो ।’
ऊ जुरुक्कै उठेर हिंड्यो त्यहाँबाट । रिसायो भन्ठान्या थिएँ । तर भोलिपल्ट स्कूलको प्राङ्गणमा ऊ आफ्नो गोजीबाट एउटा रङ्गीन खाम झिक्दै मलाई देखाइरहेको थियो । भन्दै थियो ‘यो ग्रिटिङ्ग कार्ड सपनाको लागि !’
ऊ नयाँ बेहुली झैँ लजाइरहेको थियो । मैले उसलाई थप उक्साएँ । भनेँ, ‘हो ठीक गरिस् । यो पो हो त मर्दाङ्गी । जा दिइहाल ।’
‘यत्तिचैँ तैले नै गर्देन प्लिज’
लौ अब परेन त फसाद । बेकारमा त्यसलाई उक्साएँछु झैँ लाग्यो । नगरौँ उसको मित्रताबाट च्यूत भइने डर । गरुँ त्यस कार्यका लागि सपनाका अगाडि कसरी उभिँदो हुँ ?
जबरजस्ती हिम्मत जुटाएर सपनालाई भेटेर उसको कार्ड थमाइदिएँ । अनि तुरुन्तै कुलेलाम ठोकेँ, उसको अनुहार पनि ठीकठाक नहेरी, कुनै खुंखार अपराधी झैँ ।
भोलिपल्ट सपनाले उसलाई बोलाएर एकातिर लगी र भनी, ‘तिमीबाट यस्तो आश थिएन निमेष । तिमीलाई त मैले मिल्ने साथीको रुपमा मात्र हेरेकी थिएँ ।’
तिनताक केटीहरु आफूलाई मन नपर्ने मान्छेको प्रेम प्रस्ताव आएमा यस्तै भन्ने गर्थे । एउटा रुटिन संवाद ।
यो सब मलाई निमेषले तुरुन्तै सुनायो । ऊ यस घटनाको केही दिनसम्म लोडसेडिङ्गको रातझैँ अनुहार लिएर हिँडिरह्यो । त्यसपछि पुनः यथास्थितिमै आयो ।
मलाई ढुक्क लागेको थियो । यसकारण कि अब उसले मसित सपनाको कुरा गर्न छाडिसकेको थियो ।

साकारको कथा
साकार पनि हाम्रै साथी थियो । शुरुमा ऊसित त्यति मित्रता थिएन । अर्थात् हामी नै उसित मित्रता गाँस्नबाट त्रसित भैरह्यौं । ऊ छन पनि त्यस्तै थियो । डरलाग्दो रिसउठ्दो अनुहार थियो उसको । कालो न कालो अनुहारमा भरखर लेख्न सिकेको बालकले कापीमा जथाभावी कोरे झैं उसका दाह्री जुँगाले उसको मूहार घीनलाग्दो पनि देखिन्थ्यो । शरीरपनि अजङ्गको थियो । लुगा लवाइ निमेषभन्दा पुरै भिन्न । उसले स्कूल पढुञ्जेल कुनै पनि दिन इस्त्री गरिएको लुगा लगाएन । सायद उसको घरमा इस्त्री थिएन पनि । कहिले पनि पुरै टाँक भएको सट उसले लगाएको देखिएन ।
अनि उसका स्वभावहरू पनि वर्णन गर्न लायकको थियो । त्यो स्कूल भरिमा हरेक दिन कम्तीमा एउटा बिद्यार्थी ऊबाट पिटिएकै हुन्थ्यो । प्रिन्सिपलले पनि दर्जनौपटक उसलाई रेस्टिकेट गर्दिन्छु भनेर धम्की दिइसकेको थियो । तर उसलाई रेस्टिकेट गर्दा उसका दुइजना बहिनीहरू पनि स्वतः जाने आशंकामा सायद उसले धम्की दिइरहनुमै आफ्नो भलो हुने ठानेर ठोस कदम चैं चालिहालेको थिएन ।
उसको आवाज पनि धोध्रो र ठूलो थियो । केटाहरूसित बोल्दा बातै पिच्छे एउटा अश्लील शब्द हालेको हुन्थ्यो, थेगो झैं । कहिलेकाँही त केटीहरूकै अगाडिपनि एकदुइटा आपत्तिजनक शब्दहरू उसले नबोलेको होइन । बिचरा केटीहरू उसको कुरा सुनेपश्चात नसुनेझैं अभिनय गर्थे । उसलाई कुनै कुराप्रतिपनि वास्ता थिएन । बेलुकी बेलुकी देवकोटा चोकमा कुनै रिक्सामा बसेर चुरोट तान्दै साइकलमा ओहोर दोहोर गरिरहेका केटीहरूलाई जिस्काइदिन्थ्यो । झालमुरी र घुपचुप बेच्ने भैयाहरू सधैंभरि उधारो खाइदिएकाले ऊसित आजीत थिए । कति रिक्सावालाहरूसित उसको मारामार परेको थियो, रिक्साभाडा नतिरेको आरोपमा ।
पुरै बिराटनगरबासीमा उसको आतङ्क थियो । यस्तो लाग्थ्यो कुनै दिन ऊ मरेको खण्डमा सारा बिराटनगरबासीहरू उत्सव मनाउँदा हुन् ।
उसले स्कूल पढुञ्जेल कहिल्यै टिफिन ल्याएन । अधिकांश अरुको मागेरै खान्थ्यो । माग्दा कसैले दिएनन् भने खोसेरै पनि खाइदिन्थ्यो । त्यस बिषयमा पनि धेरैले उसको कुटाइ नखाएका होइनन् ।
उसको बाबु भने एउटा मिल चलाउने साधारण व्यतिm थियो । तीनटोलियामा उसको मिल थियो । उनीहरूको परिवारको सम्पूर्ण आयश्रोत त्यै मिल थियो । उसको बाबुले उसका सबै कर्तुत थाहा नपाएको पनि होइन । तर बिचरो उसको बूढो बाबुले एकदिन छोरालाई गाली गर्दा उल्टै पिटाइ खाएर अगाडिका दुइटा दाँत गुमाउनु प¥यो । तीन महिनासम्म बाबुछोरा बोलेनन् । त्यसपछि उनीहरूबीच एकदमै थोरै र औपचारिक सम्बन्ध स्थापित भएको थियो । र छोराका जेजस्ता कर्तुत सुनेको भएता पनि मौन रहनु शिवाय उसले अरु केही गर्न जानेन ।
यस्तो फटाहा, लफङ्गा र आवारा चरित्र भएको साकारको विषयमा एउटा ताज्जूबको कुरा के भने, ऊ हरेक परीक्षामा पास हुँदै आइरहेको थियो । उसको दिमाग पनि तेज थियो । कुनै कुनै दिन कक्षामा पढाइमा मन लगाइदिन्थ्यो । त्यसबेला शिक्षकले दिएको हिसाब मिलाउने पहिलो व्यतिm उही हुन्थ्यो ।
हामी ऊदेखि जति नै त्रसित भएपनि ऊ भने हामीलाई राम्रो मान्थ्यो । क्लासमा हामीले नजानेका हिसाबहरू सिकाइदिन्थ्यो । चाहिने भन्दा बढी आत्मीयता देखाइदिन्थ्यो ।
कहिलेकाँही भन्थ्यो, ‘तिमीहरूलाई कसैले पनि छुन सक्दैन केटा हो !’
हामी पनि उसका त्यस किसिमका आश्वाशनका लागि केही कृतज्ञता देखाइदिन्थ्यौं ।
पछिपछि त ऊ हामीसित यति घुलमिल भैसकेको थियो कि उसित हामीलाई डर आदि लाग्न छाडिसकेको थियो । हामीहरु स्कूल बाहिर पनि भेट्न थालेका थियौं । केटी जिस्क्याउने हिम्मत गर्न नसके पनि, चुरोट नखाएपनि, देवकोटा चोकमा ऊसित बसेर गफ गथ्र्यौं । बरगाँछी जान्थ्यौँ । गोपाल गार्डेन जान्थ्यौँ । र जोगबनी पनि ।
बरगाँछी गएकै दिन थियो त्यो । तीनैजना एउटा जामुनको रुखमुन्तिरको कल्भर्टमा बसेर गफ गरिरहेका थियौं । कुनै एउटा विषयमा भइरहेको गफलाई फ्याट्ट रोकेर केही सम्झेझैं गरी उसले सोध्यो, ‘बरगाँछीमै होइन सपनाको घर ? तिमीहरूले देखेका छौ ?’ यो उसले हामी दुबै जना तर्फ पालैपालो गरी हेरिसकेपछि सोधेको थियो ।
हामी एक आपसमा मुखममुखझैं गर्न थाल्यौं, केही सतर्क भएर । म त त्यसरी कुरा एक्कासी मोडिएकोमा र त्यसमाथि पनि सपनाको नाम लिइएकोमा त्रसित झैं भएछु ।
तर हामी दुइमध्ये कसैले पनि सपनाको घर नदेखेकाले यथार्थ कुरा बताइदियौँ ।
‘तिमीहरूलाई सपना कस्ती लाग्छ हँ ?’ उसले यो संबाद उसैगरि भनेको थियो जसरी केही महिना अगाडि निमेषले मसित भनेको थियो । दुबैको मुहारको रङ्ग र आकारमा केही फरक थिएन, दुरुस्तै ।
निमेषको र मेरो दुइजोडी आश्चर्यमिश्रित आँखा ठोक्किए ।
हाम्रो त्यसकिसिमको आश्चर्यमिश्रित हेराइको अन्त्य नभइसक्दै उसले त्यसै बिषयमा फेरि बोल्यो, ‘मोरी साह्रै राम्री छे । तिमीहरूले मेरा लागि केही गर्दिनुप¥यो ।’
निमेषले पुनः मतिर हे¥यो । म अर्थ लगाउन सक्थें उसको त्यस किसिमको हेराइको । तर उता साकारलाई पनि आवश्यक प्रेमाश्वाशन दिनु उत्तिकै जरुरी थियो त्यसबेला । निमेष केही भन्ला बोल्ला जस्तो स्थितिमा थिएन । यसर्थ मैले नै अघि सरेर बोल्न जरुरी थियो ।
भनें, ‘तँ भन् मात्र न, हामीले के गर्नु प¥यो ?’
यसो भनिसकेर मैले एकपल्ट निमेषको मुहारमा हेरेँ । ऊ मलाई आँखा तरेर हेरिरहेको थियो । उता साकार भनिरहेको थियो, ‘यस यल सी सकिने बित्तिकै म सपनासित बिहा गर्छु ।’
मलाई मनमनै हाँस उठिरहेको थियो । तर सक्दो हाँसोलाई थिचिरहेको थिएँ । यतिमात्र भन्न सकें, ‘हामी छौं नि तँ आँट मात्र न !’
तर यसपाली निमेषको अनुहारमा हेर्ने हिम्मत भने गर्न सकिनँ ।

तर हामीले साकारका लागि मिहिनेत गर्दिन परेन । एकदिन उसले आफैंले सपनालाई भेटेर सबै कुरा भनेछ । तर सपनाले उसलाई निमेषलाई झैं ‘तिमी त मेरो मिल्ने साथी पो’ जस्तो कुटनैतिक संबादले पन्छाइन सिधै प्रिन्सिपलकहाँ गएर कम्प्लेन गर्दिइ । प्रिन्सिपलले अफिसमा बोलाएर उसलाई सम्झाउन थाल्यो । तर त्यस्तो ढीट मान्छे प्रिन्सिपलको सम्झाइ बुझाइमा कहाँ फस्नेवाला थियो र ? उल्टै पे्रमसम्बन्धी हिन्दी सिनेमाका सस्ता संबादहरू चिच्याइ चिच्याइ बोल्दै गरेको अफिसबाहिर कन्सुत्ली लागेझैं गरेर बसिरहेका हामीले सुनिरहेका थियौं र सक्दो हाँसिरहेका थियौं ।
हामीसित संगत हुनुभन्दा अगाडि ऊ सपना बसेको बेन्चभन्दा ठीक पछिल्तिरको बेन्चमा बस्थ्यो । सपनाले थाहा नपाउनेगरी पछाडिबाट उसको कपाल खेलाइरहन्थ्यो । कैलेकाँही सपनाको कपालबाट रबर ब्यान्ड तानेर लुकाइदिन्थ्यो । सपनाले धेरै बिन्तीभाउ गरेपछि मात्र त्यो ऊ फिर्ता दिन तयार हुन्थ्यो । एकदिन त कपालबाट रबरब्यान्ड तान्दा तान्दै चुँडिएको थियो । त्यो दिन सपना ऊसँग कम्ती रिसाएकी थिइन । तर भोलिपल्ट उसले सपनालाई एउटा प्याजी रङ्गको रबरब्यान्ड किनेर ल्याइदिएको थियो । त्यो सपनालाई दिंदै उसले ‘सरी’ भनेको थियो ।
सपनाले पनि त्यो सहर्ष स्वीकार्दै ‘इट्स ओके’ भनेकी थिइ ।
त्यसपछिका दिनमा साकार निकै भावुक हुन थालेको थियो । बिस्तारै बिस्तारै ऊ हाम्रो सान्निध्यबाट हराउन थालेको थियो । स्कूल पनि कम आउँथ्यो । यस यल सी पनि नजीकै थियो । सब कुरा बिर्सेर सबैजना आ–आफ्नो पढाइमै जुट्न थाल्यौँ ।
मेरो कथा
मेरो कथा शुरु हुन्छ निमेष र साकारको कथाको अन्त्यपछि । विशेषतः साकारको कथा पछि ।
त्यसपछि हामी यस यल सी परीक्षाका लागि व्यस्त भयौँ । साकार पूर्णतयाः भूमिगत झैँ भयो । निमेषसँग कहिलेकाँही भेटघाट हुन्थ्यो उसैको घरमा ।
अतः यस यल सी दिइयो । त्यसपछि म कम्प्युटर कोर्स गर्न थालेँ जहदा रोडमा । ‘ऊँ साइराम इन्स्टिच्युट ।’ सपना पनि त्यहीँ कम्प्युटर सिक्न आउँथी । स्पष्ट भनूँ न–सपना त्यहाँ गएको थाहा पाएर नै म पनि त्यहीँ गएको थिएँ ।
‘माइ गड ! तिमी पनि यहाँ ?’ यो ऊँ साइराम इन्स्टिच्युटमा पहिलो दिन भेट्दा सपनाले छक्क परेर मेरो दाहिने पाखुरामा समाउँदै भनेकी थिइ ।
सपनाका कुराहरूबाट स्पष्ट हुन्थ्यो ऊ मलाई आफुसँग त्यस स्थितिमा पाएकोमा निक्कै खुशी थिइ । तीन चार दिन कोर्स छुटेको थियो, त्यो मलाई उसले नै रिकभर गराइदिइ । ऊ मजस्तो प्रतिभाशाली सहपाठीलाई आफूले जानेको कम्प्युटरका कुराहरू सिकाउन पाउँदा निक्कै रोमान्चित अनुभव गर्थी ।
म पनि उसको त्यस किसिमको रोमान्चलाई थप उद्दीपन गराउने हेतुले भन्दिरहेको हुन्थें, ‘बाफ रे ! कत्ति जान्ने भैसकेकी रैछ्यौ ?’
‘माइ गड !’ ओठमा केही हाँसो र रीस एकसाथ मिसिएको थियो । अनि छड्के आँखाले हेर्दै भनी, ‘बिल्ला गरेको ?’
बदलामा एकपल्ट ङिच्च हाँसे मात्र म ।
कम्प्युटर क्लासबाट हामी सँगसँगै निस्कन्थ्यौँ । हाम्रो क्लास बेलुकी छ बजेदेखि सात बजेसम्म थियो । आ–आफ्नै साइकलमा समानान्तर गफ गर्दै जान्थ्यौं । त्यस क्रियाकलापका लागि गति सिमित पार्नुपर्ने हुन्थ्यो । तर पछाडिबाट अरु साइकलवाला र रिक्सावालाहरूको आदेशात्मक ‘किर्लिङ किर्लिङ’ घण्टीले हाम्रो क्रियाकलाप भङ्ग हुन्थ्यो ।
एकदिन सपनाले आजीद भएको स्वरमा आफैँ भनी, ‘माइ गड ! बोल्न पनि पाइँदैन भन्या ।’ अनि आफ्नो चोरी औँलाले मलाई आफूभन्दा जुनियरलाई आदेश दिए झैँ गरेर भनी, ‘भोलिदेखि तिमीले साइकल नल्याउनू ! मेरैले काम चलाउँला ।’
मेरो घर सपनाको घर र कम्प्युटर इन्स्टिच्युटको बीचमा पथ्र्यो । यसर्थ यो जानकारी भएकै अवस्थामा उसले यसो भनेकी थिई ।
त्यसपछि हामी एउटै साइकलमा आवतजावत गर्न थाल्यौँ । ऊ मेरो घर बाहिरको गेटमा आइपुग्नासाथ एकपल्ट घण्टी बजाउँथी । अनि म उसका अघिल्तिर उपस्थित हुनासाथ साइकलबाट खुत्रुक्क ओर्लन्थी र भन्थी, ‘लु तिमी चलाउ अब ! यत्रो लर्दुलाई म कहाँ सक्छु ?’
त्यसपछि म उसलाई साइकलमा हालेर जहदा रोड पुग्थेँ । फर्कंदा पनि उसैगरी मेरो घरसम्म मैले नै हाँक्नुपथ्र्यो ।
कैलेकाँही फर्कंदा बीच बाटोमा रोक्न लगाउँथी र झालमुरी, घुपचुप, कुल्फी आदि ख्वाउन लगाउँथी । उसले आफुले कहिल्यै पैसा तिरेर खाइन । मलाई झन् के ख्वाउँथी ।
तर मलाई उसले त्यसरी फर्माइस गरेका खानेकुराहरू ख्वाउन मन पथ्र्यो ।
एकदिन यसै जिस्कँदै भनेको थिएँ, ‘आज पैसा छैन त सपना ।’
‘माइ गड ! कस्तो कन्जुस् तिमी त ? नाइँ ख्वाउनै पर्छ । साइकलको भाडा तिर्न परेन ?’
त्यसपछि खुशी खुशी उसले फर्माइस गरेको खानेकुरा ख्वाइदिन्थेँ । खानेकुरा आधाउधी सकिएपछि ऊ मलाई सोध्थी, ‘तिमी खाँदैनौ ?’
म उसको भागबाट झिकेर अलिकति खाइदिन्थेँ ।
यसरी म सपनासँग नजिकिउँला भन्ने लागेको थिएन । तर मलाई त्यस अवस्था अगाडिसम्म मित्रताका कर्तव्य र निष्ठाले पत्तै नपाउनेगरी अँठ्याइरहेको रहेछ । म त मित्रताको निःसासिँदो परिवेशभित्र एउटा अज्ञात भय र ऐँठनद्वारा प्रताडित रहेछु भन्ने बोध भरखर मात्र भएको थियो । अनि त्यो भय र ऐँठनहरूको मोचन शनैः शनैः यसरी सपनासितको साहचर्य मोहमा लिप्त हुनुले त झन् मलार्ई आफ्नो पूर्व मित्रता भयानक सम्बन्धको रूपमा परिभाषित गर्न कर लगाउँछन् । मैले आफूलाई त्यसरी फुकाउँदा मभित्रको मान्छेले एउटा ठोस आकार निर्धारण गर्छ । कति तरल रहेछु म बिगतमा–अर्काले निर्धारण गरेको आकारमा रहेको मानिस थिएँ । मूर्तिजस्तै ।
एकदिन हामी रामजानकी मन्दिर अगाडिको बाटो भएर गुज्रिदैँ थियौँ । मन्दिरको गेट अगाडि नै पुगिसकेपछि बेहुली अन्माउँदै गरेको दृश्य देखियो ।
हामी साइकल एउटा कुनोतिर साइड लगाएर यो दृश्य हेरिरहेका थियौँ । सपना खिन्न हाउभाउमा यो दृश्य हेरिरहेकी थिई । बेहुली कार चढिसकेपछि कार त्यहाँबाट गयो । हामी पनि आफ्नो बाटो लाग्यौँ । बाटामा उसले मलाई भनी, ‘कस्तो हृदयबिदारक दृश्य ! मैले पनि त्यसैगरि रुँदै अर्काको घर जानुपर्छ । नचिनेको मान्छेको घर जाँदा कस्तो हुँदो हो ? माइ गड !’
हावा चलिरहेको थियो । मैले बोलेको कुरा हावाको तेज गतिका कारणले सपनासम्म नपुग्ला भनेर साइकलको गति केही घटाउँदै ठूलो स्वरले सोधेँ, ‘तर चिनेको मान्छेको घर जान पाए नि ?’
ठूलै स्वरले भनेझैँ लाग्थ्यो, कमसेकम उसले सुन्नेगरी । तर जोरले चलेको हावाले गर्दा उसले सुनिन कि झैँ लाग्यो । किनकि त्यसबेला प्रतिक्रियामा ऊ मौन रही ।
त्यसपछिका दिनहरूमा सपना अलिक खिन्न खिन्न रहन लागी । मभित्र पनि यौटा नजानिदो त्रासजस्तो भाव उद्भिद हुन थालेको थियो । एकदिन त साह्रा कुरा बिर्सेर उसलाई सोझै, बिना कुनै अभिव्यञ्जनाका साथ भन्दिएँ, –‘सपना ! म तिमीलाई प्रेम गर्छु ।’
यो त्यतिबेला भनेको थिएँ जुनबेला हामी कम्प्युटर क्लास सकेर घर फर्कने क्रममा एउटा कल्भर्टमा बसेर झालमुरी खाँदै थियौँ । खाँदै थियौँ के भन्नु ? ऊ खाँदै थिइ भन्नुपर्ला । त्यही कल्भर्टमा झालमुरी बेचिरहेको भैया भने अलिक पर एउटा भीड देखेर त्यतैतर्फ आकृष्ट भइ गैसकेको थियो । एकदम उचित मौका लागेको थियो मलाई ।
उसले झालमुरी चपाउँदै गरेको कृयाकलापलाई एक्कासी रोकी र ठूल्ठूलो आँखा पार्दै आश्चर्यचकित मुद्रामा भनी, ‘माइ गड ! तिमी पनि ?’
म सास पनि राम्ररी नफेरी उसको अनुहार पढिरहेको थिएँ । ऊ भन्दै थिई, ‘तिमी आठौँ व्यतिm भैसक्यौ किशोर !’
त्यसपछि ऊ आफ्नो साइकल लिएर हिँड्न लागी । पाइडल चलाउनुभन्दा अगाडि एकपटक स्पष्टसित मेरो अनुहारमा हेरेर भनी, ‘सरी किशोर ! मेरो जवाफ नो ।’
म उसलाई हेरेको हे¥यैँ भएँ । एकैछिनमा आँखाभरि अटाएको दृश्य धमिलिएर पूर्णतयाः अदृश्य भयो ।
र त्यसपछि हाम्रो भेट कहिल्यै भएन ।

र अन्त्यमा
यस यल सीको रिजल्ट भयो । सबै पास भयौँ । सपना सेकेण्ड डिभिजनमा पास भई । निमेष, साकार र म फस्ट डिभिजनमा । साकार भागेर इण्डियातिर गयो रे भन्ने सुन्नमा आयो । निमेष बिराटनगरमै बसेर प्लस टु पढ्न थाल्यो । मैले भने काठमाण्डौलाई आफ्नो अध्ययनक्षेत्र बनाएँ ।
छ्यास्स एउटा खबर सुन्नमा आयो । त्यो के भो सपनाको बिहे भएछ । बाह्र पढ्दा पढ्दै एउटा धनाढ्य व्यक्तिसँग उसको बिहे भएछ । एकछिनलाई सुन्दाखेरि कता च्वास्स बिझेजस्तै त भयो तर त्यो बिझिरहन भने पाएन । झन् त्यहाँमाथि काठमाण्डौको हावा लागिसकेको थियो । यतै रमझम थियो । त्यस्ता सपना पाइलै पिच्छे भेटिन्थे ।

धेरै बर्षहरू बिते । पढाइ सकेर म बैंकमा जागिरे भैसकेको थिएँ । बिराटनगर छाडेदेखि कोहीपनि साथीसित सम्पर्क थिएन । सम्पर्क राख्न चाहे त्यो असम्भव थिएन । जोसुकै जता जाउन् बाल मतलब । तर आफ्नो खोजी पनि त कसैले गरेन । यत्तिका बर्षमा एकचोटी पनि बिराटनगर जाने अवसर मिलेको थिएन । कारण–परिवार नै पुरै काठमाण्डौमा सेटल भैसकेको थियो । उता पाँच सात कठ्ठा खेत बाहेक रहेको पनि केही थिएन ।
तर एकदिन बैंकको काजमा मलाई एक हप्ताका लागि बिराटनगर खटाइयो । यत्रो बर्षमा जाने मौका नमिलेको, त्यो पनि आफ्नो सम्पूर्ण बाल्यावस्था बितेको ठाउँमा जान पाउनुलाई मैले आफ्नो अहोभाग्य ठानेँ ।
यसर्थ यात्राभरि पनि अनेक तरहका बिचारहरू मनभित्र प्रविष्ट भइरहे । बाल्यकाल मस्तिष्कभरि रोटेपिङ झैं फनफनी घुम्न थाल्यो । म पति त्यो घुमाइमै रिङ्गिदै गएँ । एकएक दृश्यहरू मस्तिष्कको कष्टद्वारा आँखै अगाडि अवतरण भैरहेको प्रतीत भयो । कैले तीतो कैले मीठो । अनि एउटा अर्थहीन कल्पना गरेँ–फर्केर अतीतमा गइ आफूले गरेका जीवनका तमाम गल्तीहरू सम्पादन गरेको । अनि आफ्नै सोचाइ अनुरुपको अवस्था सिर्जित भयो । कल्पना न हो ?
बिहीबारको दिन त्यहाँ पुगेको हुनाले पहिला अफिसका कामहरू सबै सिद्याएँ अनि बेलुकीतिर निमेषको घरमा गएँ । उसको घर खालीखाली देखिन्थ्यो बाहिरैबाट । उसको घरको गेट खोलेर छिर्दा त्यहाँ भएको बेतको कुर्सी एक्लो र असहाय लाग्यो । उसको बाबु एफ.आर.सि.यस गर्न एडिनबर्ग गएको उसले बतायो । उसले आफ्नो बार्दलीमा बसाएर मलाई कफी ख्वायो । त्यसदिन ऊ ढिपी गर्दैथियो उसैकोमा बस्नलाई तर बेलुकी काकाकोमा बोलाएकाले त्यतै जानु थियो । भोलिपल्ट गुड फ्राइडे मनाउने शर्तमा उसले मलाई छाडिदियो ।
भोलिपल्ट साँच्चै नै उसले गुड फ्राइडेका लागि निक्कै तयारी गरेको देखियो । बार्दलीमा एउटा सिसाको कभर भएको गोलो टेबल थियो र त्यसको वरपर दुइटा आरामदायक कुर्सी । म गएर बस्नासाथ काम गर्ने केटोले एउटा किस्तीमा रेड लेभलको बोतल, दुइटा सिसाको गिलास र आइस क्युबको भाँडा लिएर आयो ।
‘आज सेलिब्रेट हैन त ?’ निमेष मुस्कुराउँदै यसो भनिरहेको थियो । रेड लेभलको बोतलले ममा पनि एउटा नजानिदो उर्जा भरेको थियो । नखाइकनै लागेजस्तो भएको थियो ।
काम गर्ने केटोसँगसँगै निमेष पनि सितनहरू वसार पसार गर्न थाल्यो । म उसको बार्दलीको वालमा आफ्ना दुबै हातको आड लगाएर केही झुक्दै तलपट्टि रहेको उसको बगैँचामा हेरिरहेको थिएँ जहाँ उसका बा कुनै बेला बेतको कुर्सीमा बसेर अखबार पढिरहेका हुन्थे । मन्द मन्द चीसो हावा चलिरहेको थियो ।
अनि हामी पिउन थाल्यौँ । उसको काम गर्ने केटो तबसम्म पनि प्लेटमा खानेकुराहरू ओसारी रह्यो । कैले भुटेका काजु ल्याउँथ्यो, कैले प्राउन, कैले फ्राइड चिकेन, कैले हरिनको सुकुटी ।
पिउँदै जान थालेपछि लाग्दै जान थाल्यो । त्यसपछि अलिक मज्जैले लाग्न थालेपछि सपनाका कुरा निस्कन लागे ।
एकैचोटी झसङ्ग पार्नेगरी उसले सपनाको विषयमा यसरी भन्दियो, ‘बेश्या हो त्यो !’
मलाई त सिरिङ्ग नै भयो त्यस क्षण–‘के भनेको त्यस्तो ?’ सोधिहालेँ ।
‘पैसाका लागि बिक्नेहरू बेश्या नभए के त ?’ उसले मेरो प्रश्नको उत्तर यसरी दियो ।
‘त्यसो नभन् यार’ मेरो बोली आफैँलाई अलिक लरबरिएको जस्तो लाग्यो, भनेँ, ‘त्यसलाई कुनै बेला मैले पनि प्रेम गरेको थिएँ ।’
‘ह्वाट ?’ ऊ एकदमै तर्सेजस्तो देखियो । अनुहारै भिन्न देखियो ।
‘हो यार’ म अब भावुक हुन लागेँ । त्यसपछि मैले त्यतिबेलाका सबै घटनाको बेलीबिस्तार लगाइदिएँ ।
ऊ एकदमै सक भएको थियो । अन्तिममा एकपल्ट रिसायो र भन्यो, ‘साले गद्दार !’ अनि भुइँमा ‘थुइय्य’ गरेर थुक्यो र फेरि भन्यो, ‘मलाई भन्न सक्तिनथिइस् !’
म केही भन्न खोज्दै थिएँ क्यार त्यति नै बेला तल गेट बाहिरैबाट ठूलो स्वरमा ‘निमेष’ भनेर बोलाएको सुनियो ।
यो आवाज थियो उही साकारको । निमेष तलै गएर उसलाई लिएर आयो । टाइसुट लगाएको, कपाल पनि एकदम राम्रोसित विन्यास गरिएको थियो । जुत्तापनि टिलिक्क टल्किएको ।
‘यत्रो वर्ष कहाँ हराइराथिइस् ?’ यो निमेषले सोधेको थियो ।
यसको मतलब उनीहरू दुइबीचमा पनि उतिबेलादेखि भेट भएको रहेनछ ।
म पनि छक्क परेर एकटकले उसैलाई हेरिरहेको थिएँ ।
‘म इण्डिया गएको थिएँ दोस्त । एम.बि.बि.यस सकेँ । अब सत्ताइस तारीखमा अमेरिका जाँदै छु एम डि गर्न । भरखरै मात्र आएको हुँ घर ।’
उसको यो जानकारी पाइसकेपछि निमेषले काम गर्ने केटोलाई भनेर अर्को गिलास मगायो । तर साकारले आफू रक्सी नपिउने बतायो । हामी मुखामुख गर्दै उसले दश क्लासमै भोड्का पिएको घटना स्मरण गर्न लाग्यौँ ।
‘एउटा कुरा तिमीहरू मलाई बताउन सक्छौ दोस्त ?’ उसले पालैपालो हामी दुइनजाको मुख हेर्दै सोध्यो ।
मैले एकपटक रक्सी घुटुक्क निलेँ । अनि उसको प्रश्न सुन्न आतुर भएँ ।
उसले सोध्यो, ‘सपनाको के छ आजकाल ? कहाँ छिन् उनी ?’
‘सपनाको त बिहे भइसक्यो त, दुइटी छोरी छन् ।’ निमेषले निमेषभरमै यो भन्दियो । रक्सीले अधिक छोइसकेको थियो उसलाई ।
त्यसपछि हामीले सोच्दै नसोचेको घटना त्यहाँ घट्यो । साकार एकैचोटी डाको छोडेर रुन लाग्यो । हामी त्रसित मुद्रामा एक आपसका अनुहार हेर्न लाग्यौँ । ऊ टोलै थर्कनेगरी केटाकेटी झैँ बलिन्द्र धारा आँशुका साथ रोइरहेको थियो । छिमेकी नै आउलान् जस्तो पारेर । केहीबेरसम्म त हामी केही छक्क, केही त्रसित, केही अन्यौलग्रस्त मुद्रामा स्थिर नै रहिरह्यौँ । रक्सीको सम्पूर्ण डोज पनि ममा प्रभावहीन बन्दै गैरहेको झैँ प्रतीत हुन थाल्यो ।
केहीबेरपछि निमेष नै अघि सरेर उसलाई सम्झाइ बुझाइ गर्न थाल्यो । उसको घरमा आएको पाहुना उसैको कर्तव्य हुन जान्थ्यो उसलाई सम्झाउने ।
निमेषले उसलाई सम्झाउन दुनिया कुरा ग¥यो । ‘संसार यस्तै हो, वा सब स्वार्थी हुन्छन्’ देखि लिएर ‘चाहेको सबै कहाँ पाइन्छ र, त्यस्तो भए संसार अर्कै हुन्थ्यो’ सम्मका संवादहरू सुनायो । तर जब ‘सपना सुखी छे, के ऊ सुखी हुनु तेरो सुख होइन ?’ भनेपछि मात्र रुन छाड्यो र गोजीबाट रुमाल झिकेर आँशु पुछ्न थाल्यो ।
रुन पुगेपछि उसले फेरि अघिकै झैँ पालैपालो हाम्रो अनुहारमा हे¥यो र भन्यो, ‘सपनालाई भेट्यौ भने मैले सम्झेको छुँ भनेर सुनाइदिनु दोस्त । यो जुनीमा म उसको हुन सकिनँ तर उसको सुखले मलाई पनि सुख दिन्छ ।’
यसपछि ऊ बिस्तारै बसेको ठाउँबाट उठ्यो । हामीले कत्तिपटक भन्दापनि बस्न मानेन र गइहाल्यो ।
ऊ गएपछि हामी पुनः आफ्नै माहौलमा गाँसिन चाह्यौँ । तर त्यो हाम्रा लागि सम्भव भैरहेको थिएन ।
कस्तो प्रेम रैछ साकार भित्र सपनाका प्रति ? एकछिन अगाडि आफुले चाहेकी सपना नपाउँदा निमेष उसलाई ‘वेश्या’ भनिरहेको थियो । म पनि उसले मलाई ‘तँ आठौँ नम्बरको व्यक्ति होस्’ भन्दा कैयौँ दिनसम्म मनमनै उसलाई सक्दो सरापिरहेको थिएँ । तर साकार यत्रो बर्षपछिसम्म दुइ थान बच्चा जन्माएर बुढ्यौली र घर व्यबहारमा फसेकी जवानीमै अधबैँशे झैँ बनेकी सपनाप्रति अनुराग राखिरहेछ । यो कस्तो प्रेम ? म विश्लेषण गरिरहेको छुँ, के प्रेम फूलमा मात्र हुन सक्छ ? के काँडामा प्रेम हुँदैन ? मलाई फूल र काँडाका बिम्बहरूको औचित्य नै व्यर्थ लाग्न थाल्यो ।
म मातेर टिल्ल भएको छु । निमेष कुर्सीमै निदाए झैँ अढेश लागेर उँघिरहेको थियो । म एकपल्ट आकाशतिर उँभोमुन्टो लगाएर सेतो टल्किने चन्द्रमातिर हेर्दै आफैँलाई सोध्छु, ‘के अर्काको सुखःदुखःले आफ्नो सुखःदुखःसित प्रत्यक्ष सरोकार राख्छ ?’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी

काठमाडौं । साहित्यकार डा वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा

काठमाडौं । संयुक्त राज्य अमेरिकामा बसेर साहित्य लेखनमा सक्रिय नेपाली स्रष्टा सुकृति शर्माले नयाँ कथासंग्रह ‘सत्र पुष्प पत्रहरु’बाट ५ हजार