कमल थापा अर्थात् ‘सारङ्गी दाइ’लाई रेड कार्ड

१९ मंसिर २०७८, आईतवार १०:४८ मा प्रकाशित

काठमाडौं । कमल थापा राप्रपाको मात्र होइन नेपाली राष्ट्रिय फुटबल टिमका राष्ट्रिय कप्तान पनि थिए कुनै बेला ।

राप्रपा राजनीतिमा लामो समय कप्तानी भूमिका निर्वाह गरेका थापाको त्यो कप्तानी एकता महाधिवशेनबाट झापाका राजेन्द्र लिङ्देनले खोसेका छन् ।

फुटबलदेखि टेबल टेसिनसम्मको खेलमा हम्मेसी रेड कार्ड नखाएका थापालाई राजनीतिक यात्रामा भने यसपटक राप्रपाका नेता लिङ्देनले राजनीतिक रेड कार्ड देखाइदिए ।

२०६२/०६३ मा राजाविरुद्ध तत्कालीन सात दल र अधिकांश जनता सडकमा हुँदा उनी राजा ज्ञानेन्द्रको क्याविनेटमा गृहमन्त्रीको हैसियतमा आन्दोलन दबाउन सक्रिय थिए ।

प्रतिकूल समयमा पनि राजतन्त्र र हिन्दु राष्ट्रको वकालत गरेर हिँडेका थापा अन्ततः उनको एजेण्डा राख्न अनुकुल समय बन्दै गएको बेला भने अध्यक्षबाट रिङ आउट भएका छन् ।

जनआन्दोलन सुरु भएपछि राप्रपाभित्र राजालाई हेर्ने दृष्टिकोणलाई लिएर तत्कालीन नेतृत्वसँग फरक मत राख्दै २८ पुस, २०६२ मा थापाले आफ्नै नेतृत्वमा राप्रपा नेपाल पार्टी गठन गरे ।

त्यसयता उनी सो पार्टीमा एकछत्र १७ वर्षसम्म नेतृत्वमै थिए । एकता महाधिवेशनपछि लिङ्देनले यो विरासत खोस्दा राप्रपाका अधिकांश परम्परागत शक्ति र हस्तीको साथ पाए ।

राजा र राजपरिवारलाई नजिकबाट साथ दिँदै आएका थापा यसपटक त्यहीँ राजपरिवार र आफैले लामो समय बोकेका पूर्वराजा ज्ञानेन्द्रको सद्भाव कम भएकै कारण नेतृत्वबाट बाहिरिन पुगेका छन् ।

२४ वर्षको उमेरमा अखिल नेपाल फुटबल संघको अध्यक्ष सम्हाले यता उनी राप्रपा नेपालमा निरन्तर १७ वर्ष अध्यक्ष भए ।

थापा इतरका राजावादी शक्ति गणतन्त्र र धर्म निरपेक्षतासँग सम्झौता गरेर अघि बढ्दै गर्दा राजतन्त्र भनेर हिड्ने ‘एक्ला बृहस्पति’ जस्तै थिए थापा । एक्लैको साहसले एकता महाधिवेशनसम्ममा आइपुग्दा उनले गणतन्त्रवादीसमेत अट्ने संवैधानिक राजतन्त्रको नयाँ मोडल ल्याए ।

तर यसको कार्यान्वयनको अभ्यास गराउने बेला भने उनको पार्टीको नेतृत्व ‘गैरहिन्दु’को काँधमा पुगेको छ ।  थापा यसलाई आफ्नो अस्वभाविक हार भएको बताएका छन् । तर आफ्नो एजेण्डा भने पार्टीले बोकेर हिँडेकोमा गर्व गर्छन् ।

चुनाव हारेर पनि पार्टीभित्र आफ्नो एजेण्डा जिताउन सफल भएका थापालाई राजनीतिले दिएको राजकीय जिम्मेवारी भने यस्तो छ :-

  • शेरबहादुर देउवा नेतृत्वको सरकारमा २७ भदौ ०५२ देखि २९ फागुन ०५३ सम्म कानुन न्याय तथा संसदीय व्यवस्था र स्थानीय विकासमन्त्री
  • शेरबहादुर देउवा नेतृत्वको सरकारमा २८ असोज ०७४ मा उपप्रधानमन्त्री नियुक्त
  • सूर्यबहादुर थापा नेतृत्वको सरकारमा २१ असोज ०५४ देखि २७ असोज ०५४ सम्म परराष्ट्र कृषिमन्त्री
  • लोकेन्द्र बहादुर चन्द नेतृत्वको सरकारमा १२ चैत ०५३ देखि २१ असोज ०५४ सम्म आवास तथा भौतिक योजना र परराष्ट्रमन्त्री
  • राजा ज्ञानेन्द्र नेतृत्वको सरकारमा २२ मंसिर ०६२ देखि १९ माघ ०६३ सम्म गृहमन्त्री
  • सूर्यबहादुर थापा नेतृत्वकै सरकारमा १८ मंसिर ०५४ देखि २ वैशाख ०५५ सम्म परराष्ट्रमन्त्री
  • केपी ओली नेतृत्वको सरकारमा २५ असोज ०७२ देखि २० साउन ०७३ उपप्रधानमन्त्री तथा परराष्ट्र स्थानीय विकासमन्त्री
  • सूर्यबहादुर थापा नेतृत्वकै सरकारमा २८ जेठ ०६० देखि २८ जेठ ०६१ सम्म सूचना तथा सञ्चार, स्थानीय विकास र स्वास्थ्यमन्त्री
  • पुष्पकमल दाहाल नेतृत्वको सरकारमा ४ फागुन ०७३ देखि २२ चैत ०७३ सम्म उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री

पटक पटक मन्त्री भएका थापा खेलाडी मात्र होइनन्, चर्चित गीतका रचनाकारसमेत हुन् । पार्टीको गीतदेखि लिएर उनले दर्जनौ गीत लेखिसकेका छन् ।

नायक राजेश हमालले अभिनय गरेको पहिलो चलचित्र ‘युगदेखि युगसम्म’को चर्चित गीत ‘तीन पाते डाँडा काटेर, कहाँ जान लाग्यौ सारङ्गी दाइ, पिरतीको भाका बोकेर’ बोलको गीत थापाले नै लेखेका हुन् ।

प्रकाश श्रेष्ठको स्वरमा रेकर्ड भएको ‘शुभकामना नयाँ वर्ष, नयाँ जीवनलाई’ गीत पनि थापाकै रचना हो । उनको गीतिसङ्ग्रह ‘मेरो प्यारो नेपाल’ सार्वजनिक भइसकेको छ । सो गीतिसंग्रहको ‘जहाँ म जन्मेँ, जहाँ हुर्की बढेँ, त्यही माटो… बोलको गीत सातवटा भन्दा वढी भाषामा रेकर्ड भएको छ ।

सेनामा भर्ती हुन खोज्दा तीन महिना उमेर नपुगेकै कारण नपाएका थापा अन्ततः पछिल्लो समय टेवलटेसिनसँगै राजनीतिमा जमे ।

टुक्रा टुक्रामा विभाजित भइसकेको राजावादी र हिन्दु राष्ट्रको पक्षपाती शक्तिलाई एक ठाउँमा ल्याइसकेपछि भने उनी नेतृत्वमा पराजित भएका छन् ।

थापाको खेल विरासत आफैँसँग भए पनि अबको चार वर्ष उनले राजनीतिक नेतृत्वको विरासतबाट बाहिर बस्नुपर्नेछ । एकता अधिवेशन उद्घाटनमा आफूले जिते पार्टी कहिल्यै फुट्न नदिने उद्घोष गरेका थापाको त्यो सपना अब लिङ्देनले कसरी पूरा गर्ला त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद्का साथै आफ्नो सचिवालयलाई पूर्णता दिने तयारीमा जुटेका छन् । केही दिनयता प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्

काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर १ प्रकाशमान सिंहले पछिल्लो ३ निर्वाचन जितेको क्षेत्र हो । विगतमा कृष्णप्रसाद भट्टराईदेखि लोकेश ढकाल

काठमाडौं । कांग्रेसमा सभापतिपछि सबैभन्दा शक्तिशाली पद हो– महामन्त्री । संगठन परिचालन गर्नेदेखि कार्यलय सञ्चालनसम्मको जिम्मेवारी महामन्त्रीको हो । गगन

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सय दिनमा गरेको कार्यप्रगति सार्वजनिक गरेका छन् । मन्त्रालयमा नै पत्रकार