वडा नागरिक मञ्चले ल्यायो परिर्वतन

१९ आश्विन २०६९, शुक्रबार १३:२० मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, १९ असोज । बौघागुम्वा गाविस–९ केरवादीकी भूमिकला पाण्डेको उमेर ८१ बर्ष पुग्यो । बुढ्यौलीले लठ्ठीको सहारा विना हिंडडुल गर्न नसक्ने भूमिकलालाई अहिले राम्ररी लेखपढ गर्ने हुन खुवै जांगर चलेको छ । यही लेखपढ गर्ने जांगरले उनी एक हातले लठ्ठी टेक्दै अर्को हातमा कापी, किताब र कलम बोकेर नवपरिर्वतनशिल रिफ्लेक्ट केन्द्र धाइरहेकी छन् ।
पहिले आफ्नो नाम भन्न अप्ठारो मान्ने र लेख्न नसक्ने भूमिकला अहिले सजिलै नाम लेख्न सक्छिन् । उमेर छउञ्जेल लेखपढ गर्न नपाएकोमा पछुताएकी उनलाई बुढेशकालमा अक्षर चिन्न पाएकोमा खुशी लागेको छ । गाविसमा बृद्धभत्ता बुझ्दा औंठाछाप लगाउने भूमिकला अहिले नाम लेखेर हस्ताक्षर गर्न सक्ने हुंदा उनको खुशीको सीमा छैन ।
रिफ्लेक्ट केन्द्रमा आउन थालेपछि धेरै सदस्यहरुले समस्या र सवालका बारेमा छलफल चलाए । वृद्ध भत्ता बुझ्दा औंठाछाप लगाउनुपर्दाको पीडाले उनलाई भने आफ्नो नाम लेख्न सक्ने हुनु नै ठूलो कुरा थियो । औंठाछाप हुनुपर्दाको पीडाले उनी अहिले नाम लेख्न सक्ने भएकी छन् । मनमा पीडा राखेर गरेको मिहिनेतले अहिले सफल भएकी छु, अरु धेरै गर्न नसकेपनि नाम लेख्न सक्ने भएकी छु–उनले भनिन् । खाना खाएपछि बालबच्चा हेर्ने उनको दिनचर्या अहिले फेरिएको छ । अहिले उनी घरमै बसेर पढ्ने लेख्ने अभ्यास गर्दैछिन् । रिफ्लेक्ट कक्षामा समयमै उपस्थित हुने उनको बानी छ । प्रत्येक छलफल वैठकमा सवै सदस्यहरु नियमित उपस्थित नहुंदा उनलाई नरमाइलो लाग्छ । नियमित नआएकाहरुले ठूलो अवसर गुमाएका छन्–भूमिकलाको ठम्याईं छ ।
वडा नागरिक मञ्च खानीगाउँ– ७ की संयोजक सविता गाहाले महिलाको पठनपाठनले चेतना बढाएको अनुभव सुनाइन् । ‘वडा भेला भन्ने हामीलाई थाहा नै हुदैनथ्यो । अघिल्ला वर्षहरुमा दुई चारजना पुरुषहरु मात्र वसेर वडा भेला गरिंदो रहेछ । अहिले वस्ती स्तरको आयोजना छनौट प्रक्रियाका क्रममा हामी धेरै महिला जुट्यौ, तीन वटा आयोजनालाई प्राथमिकिरण गरी पठायांै– उनले भनिन् । उनीहरुले छनौट गरेका मध्ये दुई आयोजना महिला सीप विकास तालिम र देउराली–कोलडांडा मोटरवाटोको आयोजना स्वीकृत भएको छ । प्राथमिकताको सूचीमा राखेका तीन मध्ये दुई आयोजना स्वीकृत भएकोमा उनीहरु उत्साहित छन् ।
जिल्लाको पैसट्ठी गाविसमा सबै क्षेत्रको प्रतिनिधित्व हुने गरि वडा नागरिक मञ्चहरु गठन भैसकेको जिल्ला विकास समिति पाल्पाले जनाएको छ । अहिले ती वडा नागरिक मञ्चहरुले प्रत्येक घर परिवारको विभिन्न सूचकहरुको आधारमा विपन्नता स्तरीकरण गरेको छ । सबैभन्दा धेरै विपन्न परिवारहरु रहेको वडा नागरिक मञ्चमा नागरिक सचेतना केन्द्रको स्थापना गरी त्यहाँका नागरिकलाई नागरिक अधिकार, शिक्षा र स्वास्थ्यका विषयमा छलफल गर्ने (रिफ्लेक्ट) केन्द्रको स्थापना गरी प्रत्येक हप्ताको एक दिन दुई घण्टा कक्षा सञ्चालन गरिंदै आएको छ । केन्द्रबाट विपन्न नागरिकहरुले आफ्ना समस्या र समाधानका उपायहरु तथा गाविसका योजनाहरु आफ्ना मागहरु समावेश गर्नका लागि विषयवस्तुमा छलफल गर्ने गर्दछन् । विपन्न तथा पिछडिएका वर्गका लागि क्षमता विकासका कार्यक्रम एवं रिफ्लेक्ट कक्षा सञ्चालन गरिएको हो । सरकारले शक्ति संरचनालाई रुपान्तरण गर्ने र विपन्न महिला, दलित, मधेसी र जनजाती लगायतका वञ्चित समूहलाई अनुकूल हुने आर्थिक नीति तर्जुमा गर्ने लक्ष्य राखेको हुँदा नागरिक अधिकार सबै विकास कार्यक्रम मूल प्राथमिकता भएकोले मञ्चलाई सक्रिय बनाउने कार्य गरिरहेको बताएको छ ।
खानीगाउँ गाविसमा १७ पौष २०६८ मा एकिकृत योजना तर्जुमा समितिको वैठक सम्पन्न भयो । बैठकले वस्ती तथा वडाका साझा र धेरैलाई फाईदा पुग्ने खालका आयोजना, प्रमुख समस्याका रुपमा रहेका आयोजना, गरिव तथा विपन्न वर्गलाई समेट्ने खालका आयोजना, वढी जनश्रमदान जुट्ने साथै कम लागतमा धेरैलाई फाईदा पुग्ने र दिगो आयोजनालाई पहिलो प्राथमिकता दिने आधार तयार गर्दै प्रस्तावित आयोजनाहरु खोलिएको गाविस सचिव भरतराज घिमिरेले बताए ।
गाविसमा पेश भएका आयोजनाहरु निकै ठूलो राशीका भएकाले गाविसले सवैलाई सम्बोधन गर्न सक्ने अवस्था थिएन । प्रस्तावित आयोजनाको रकम भन्दा केहि प्रतिशत कम रकम घटाएर धेरै आयोजनालाई समेट्ने तर्फ एकिकृत योजना तर्जुमा समिति अगाडि बढ्यो । खानेपानी, विद्युत, सुचना केन्द्र भवन निर्माण, मोटरवाटो, लिफ्टिङ्ग आयोजना, कुलो निर्माण, उपस्वास्थ्य चौकीमा फर्निचर खरिद, अम्रिसो रोपण, महिला सशक्तिकरण, दलितहरुका लागि सरसफाई कार्यक्रम, युवाहरुका लागि खेलकुद र सीप विकास कार्यक्रम लगायतका आयोजनाहरु मार्फत् विकास निर्माण अगाडि बढेको छ । गाविसका योजनाका लागि योजना तर्जुमा गर्दा बजेटका लागि आन्तरिक स्रोत, जिविस, आन्तरिक कर, केन्द्रीय सरकारले पठाउने १५ लाख देखि ३० लाख रुपैंयासम्मको एकमुष्ट अनुदान, वित्तिय तथा अर्ध सरकारी निकायहरु, ऋण, व्यक्ति तथा संस्थाहरुबाट पाउने सहयोगमा निर्भर गर्नुपर्दछ ।
यतिबेला आगामी आर्थिक वर्षमा हुने गाउँ परिषद्का लागि योजनाहरुको प्राथमिकीकरणका विषयमा प्रत्येक गाविसका रिफ्लेक्ट केन्द्रहरुमा छलफल हुँदै आएको छ । अघिल्लो आर्थिक वर्ष २०६८।०६९ मा ३८ वटा गाविसमा वडा नागरिक मञ्चहरु स्थापना गरिएका थिए । अहिले जिल्लाको ६५ वटै गाविसमा मञ्चहरु स्थापना गरी रिफ्लेक्ट कक्षाहरु सञ्चालन हुँदैछन् ।
हेक्लाङ्ग गाविसकी सामाजिक परिचालिका नविना देवकोटाका अनुसार आर्थिक वर्ष २०६९।०७० को गाउँ परिषद् मंसिरमा नै सम्पन्न भएको थियो । त्यसबेला गाविसमा वडा नागरिक मञ्च गठन भएको थिएन । अहिले वडा नागरिक मञ्च स्थापना भएको छ । अति विपन्न २५ घरपरिवारलाई लक्षित गरेर सचेतनाका लागि रिफ्लेक्ट कक्षा सञ्चालन गरिएको छ । ‘आगामी वर्ष वडा नागरिक मञ्चले गाउँ विकासका योजनामा सक्रिय भूमिका खेल्ने आशा छ’– उनले भनिन् ।
स्थानीय विकास मन्त्रालयले स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तर्गत सामाजिक परिचालन कार्यक्रमले सन् २०१२ मा कार्यक्रमको अन्त्यभन्दा अघि सबै गाविस र नगरपालिकाका वडाहरुमा वडा नागरिक मञ्च स्थापना गर्ने लक्ष्य राखेको एलजीसिडीपि कार्यक्रम पाल्पाका जिल्ला सहजकर्ता प्रकाश न्यौपानेले बताए । समुदाय स्तरका विपन्न नागरिकलाई योजना तर्जुमामा सहभागी गराउन र सचेतना तथा क्षमता अभिवृद्धि गर्नका लागि वडा नागरिक मञ्चहरु स्थापना गरिएको उनको भनाइ छ । मञ्चबाट जीवनलाई प्रत्यक्ष प्रभाव पार्ने मुद्दा पहिचान, विश्लेषण तथा कार्य गर्न हरेक १५ दिनमा दुई घण्टा छलफल गरिने गरिन्छ । यसले विपन्न समुदायलाई स्थानीय कार्यक्रम, सेवा र विकास कोषमा पहुँच पुरयाउनका लागि आवश्यक सम्बोधन गर्न सहयोग गर्दछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले

  काठमाडौँ – दशैं मनाउन व्यस्त भएका जनतालाई दशैं पुरा मनाउन नपाउँदै दु.खले छोप्यो । विशेषगरी कृषकलाई भोकमरीको चिन्ताले सताउन

यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर र छजना