क्रिकेटको सफलता ‘काकताली’ नबनोस्

१८ आश्विन २०६९, बिहीबार ०९:४२ मा प्रकाशित

श्रीविक्रम भण्डारी/ काठमाडौं । नेपालले डिभिजन फोरमा पाएको सफलता अहिले निकै चर्चाको विषय बनेको छ । राजनीतिक दलहरूको खादा लगाउने सम्मान होस् या खेलकुद मन्त्रालयको नगद दिने सबै ठाउंमा अहिले क्रिकेटका खेलाडीहरू छाएका छन् । खेलाडीहरूले यो सम्मानलाई निकै गौरव र पौरखको महसुस गरेका पनि छन् । सम्मान गर्नेले जसरी गरे पनि उनीहरूले कुनै गुनासो र दुखेसो प्रकट गरेका छैनन् । कहीं खादा लगाउंदै खाजाको पोको बोकेर हिंडेका छन त कहीं लाखौंको चेकलाई सुमसुम्याउंदै खुसी साट्ने मौका पाएका छन् । आफूले सुकाएको रगत र बगाएको पसिनाको विभिन्न सम्मान कार्यक्रममा विभिन्न मोल लागे पनि त्यसलाई मात्र सम्मानको रूपमा ग्रहण गरेका छन् । आफ्नो अभिव्यक्तिलाई भने सार्वजनिक गरेका छैनन् । आखिर किन त ? प्रश्न गम्भीर छ ।
क्रिकेटमा कल्पनाबाहिरको सफलतालाई सबैले स्वाभाविक मान्छन् । यसर्थमा कि ‘क्रिकेट इज फन्नी गेम’ । यो खेलमा जुनबेला जे पनि हुन सक्छ । जित्नेले हार्न सक्छ, हार्नेले जित्न । यो क्रिकेटको ‘खासियत’ पनि हो । डिभिजन फोरमा नेपाल अपराजित रही च्याम्पियन बन्नुलाई यसको ज्वलन्तको उदाहरणको रूपमा प्रस्तुत गर्न सकिन्छ । के नेपालले डिभिजन फोर खेल्नुअघि यस्तो कल्पना गरेको थियो ? थिएन नि । डिभिजन तीनमा पुग्ने लक्ष्य राखे पनि यस्तोखाले विजयको नेपाली खेलाडीहरूको कल्पनाबाहिरको कुरा थियो । आखिर नेपाल अपराजित रहेर च्याम्पियन बन्यो, क्रिकेटले आफ्नो छनक देखाइदियो, वास्तविकता यही हो । नेपालको भाग्यमा त्यसबेला ‘चार चांद’ लागेको थियो । क्रिकेटले पनि साथ दियो, नेपाली खेलाडीहरूलाई रातारात हिरो बनाइदियो । यही हो भाग्यमा भयो भने डोकामा दूध दुहियो भने पनि अट्छ भनेको । यसको अर्थ नेपाली खेलाडीले भाग्य बलियो भएर मात्रै च्याम्पियन बनेका हुन् कदापि भन्न खोजिएको होइन, उनीहरूले उत्कृष्ट प्रदर्शन पनि गरेका हुन् ।
कप्तान पारस खड्काले यो विजयबारे बोल्ने क्रममा विश्वकपमा नेपालमो ढोका बन्द नभएको स्मरण गराउंदै आएका छन् । यसको अर्थ अझै पनि नेपालले विश्वकप खेल्न सक्छ भन्ने उनको दाबी हो । त्यसका लागि ६ महिनापछि बर्मुडामा आयोजना
हुने डिभिजन तीनको तयारीको रणनीति के त ? यसबारेमा सम्बन्धित निकाय क्यान र राज्यको महत्वपूर्ण भूमिका हुनुपर्नेछ । विश्वकपमा पुग्नका लागि डिभिजन तीन नेपालको लागि ठूलो ‘खड्को’ अर्थात् चुनौती बन्ने पक्का छ । यो खड्को पार गरेर डिभिजन दुईमा पुग्न नेपालले फलामको चिउरा चपाउनुपर्ने प्रायः निश्चित छ । यसर्थमा कि डिभिजन तीनमा नेपालको प्रतिस्पर्धा डिभिजन चारको जस्तो सजिलो कदापि हुने छैन । वास्तविक अर्थात् तुलनात्मक रूपमा भन्नुपर्दा डिभिजन चारमा नेपाल नै अन्य सहभागी टिमभन्दा उत्कृष्ट टिम थियो । अमेरिका, मलेसिया र हङकङलाई नेपालपछि बलियो मानिए पनि अन्य सहभागी टिमको प्रदर्शनलाई मध्यनजर गर्दा को कति पानीमा थिए स्वतः अनुमान लगााउन सकिन्थ्यो । यसमा खरो उत्रिंदै नेपालले आफ्नो उत्कृष्टता सावित गरे पनि डिभिजन तीन भने नेपालमा नेपालको अग्निपरीक्षाहरू प्रायः निश्चित छ ।
सोही कुरालाई आत्मसात् गर्दै नेपाल क्रिकेट टिमका विदेशी प्रशिक्षक पुबुदु दासानायकेले सफलतामा मात्र रमाउनुभन्दा निश्चित योजना बनाएर अगाडि बढ्नुपर्ने प्रस्ट पारेका छन् । नेपालले विश्वकप खेल्नेछ भन्दा पनि कहिले खेल्नेछ भन्ने कुराको निर्धारण गर्नुपर्छ । यसको अर्थ नेपाल विश्वकपका लागि उत्कृष्ट टिम भएको र यसका लागि सम्बन्धित निकाय क्यान र राज्यले क्रिकेटलाई पहिलो प्राथमिकतामा राखेर त्यसका लागि तयारीमा जुट्नुपर्ने सन्देश हो । नेपाल डिभिजन फोर होइन, डिभिजन तीनभन्दा माथिको टिम हो । तसर्थ विश्वकपमा पुग्नका लागि डिभिजन तीन अवश्य तगारो बन्नेछ । यसका लागि अहिल्यैदेखि उचित प्रशिक्षण नेपाली टोलीलाई प्रदान गरिएन भने डिभिजन चारको विजय ओझेलमा पर्ने प्रायः निश्चित छ । यतिबेला खेलाडीहरूलाई सर्वपक्षीय सन्तुलनको आवश्यकता रहेकोले खेलाडीलाई कसरी प्रोत्साहन गर्न सकिन्छ त्यसबारेमा सोच्नुपर्ने जरुरी भइसकेको प्रशिक्षक पुदुबुको स्पष्ट सोच छ । साथै उनले यदि नेपालले डिभिजन तीनबाट फड्को मार्न सकेन भने आफ्नो नेपाल बसाइ पनि अर्थहीन हुने प्रस्ट पारेका छन । नेपालले एकदिवसीय मान्यता नपाएसम्म आफू ढुक्क नहुने पनि पुदुवुले बताएका छन् ।
यो अवस्थामा नेपालको डिभिजन तीनको यात्रा ‘काकताली’ मात्रै थियो भन्ने कुरालाई गलत सावित गर्नुपरेको छ । खेलाडीले मुलुकलाई ऐतिहासिक सफलता दिलाएको बेलामा अर्को यस्तै सफलता हासिल गर्न पे्ररित गर्नुपरेको छ । जसका लागि खेलाडीले मात्र नभई अन्य निकायले पनि सोच्नुपर्ने बाध्यता भएकोे छ । खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्न र राष्ट्र र खेलप्रेमीले कल्पना गरेको गन्तव्यमा पु¥याउन सबैको सहयोगको जरुरत भएको छ । यसका लागि सम्मान एउटा पाटो बने पनि राष्ट्रको खेलकुदलाई अन्तर्राष्ट्रिय मानचित्रमा पदार्पण गराउन यसलाई कदापि पर्याप्त मान्न सकिंदैन । तसर्थ खेलाडीले देखेको सपना र क्रिकेटप्रेमीले गरेको कामनालाई सार्थकताको मूर्तरूप दिन सबैले होस्टेमा हैंसे गर्नुपर्ने भइसकेको छ । यसका लागि राज्यले क्रिकेटलाई विशेष प्राथमिकतामा राखेर भविष्यमा क्रिकेटले दिने प्रभावकारितालाई आत्मसात् गर्नुपर्ने समय भइसकेको छ । अन्यथा आज डिभिजन तीनमा पुगेको नेपाली क्रिकेट भोलि पुनः चारमा नझर्ला भन्न सकिंदैन ।
विश्वकप खेल्ने सबै खेलाडीको चाहना हुन्छ भने आफ्नो टिमले विश्वकपमा खेलेको हेर्ने खेलप्रेमीको धोको हुन्छ । विगतमा नेपालले गरेको प्रदर्शनको विश्लेषण गर्दा अहिलेसम्म विश्वकपमा नेपालको उपस्थिति जनाइसक्नुपर्ने थियो । तर विडम्बना, देशको सङ्क्रमणकालीन राजनीतिक अवस्था र क्रिकेटभित्र चलेको आन्तरिक कहलले गर्दा नेपालले त्यो लक्ष्य भेदन गर्न नपाएको जगजाहेर छ । यसरी लामो समय अवाकको स्थितिको सामना गर्नुपरेको नेपालको क्रिकेटले आफ्नो आधारलाई समेत गुमाउनुपरेको थियो । उमेर समूहका खेलमा एकलौटी राज गर्दै आएको नेपालले आफ्नो स्थान गुमाउनुपरेको थियो भने राष्ट्रिय टोलीको प्रदर्शनसमेत फितलो भएको थियो । जसको कारणले अपेक्षा गरेअनुरूप नेपालले क्रिकेटमा जुन उपलब्धि हासिल गर्नुपर्ने थियो त्यसमा खरो उत्रिन नसकेको कुरा सबैलाई ज्ञात भएकै कुरा हो । हालै सम्पन्न अन्डर– १९ विश्वकपमा नेपालले फितलो प्रदर्शन गरे पनि राष्ट्रिय टिमले भने विश्वकपमा पुग्ने आशा देखाएको छ । यो तथ्यलाई कप्तान पारस खड्काले बारम्बार दोहो¥याउंदै आएका छन् पनि । विश्वकपको बाटो पहिल्याउनमा डिभिजन चार जुनेली रात बनेर आएको अवस्थामा डिभिजन तीनलाई गोरेटो बनाउन अहिले चुनौतीपूर्ण बनेको छ । जसलाई सार्थकताको सांचोमा ढाल्न सबैले ऐक्यबद्धता खांचो टड्कारो रूपमा देखिएको छ । हेरौं, विश्वकपमा पुग्ने सपना देखेको नेपालका लागि कसले कस्तो प्रयास गर्छ त्यो अहिले गम्भीर विषय बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । एएफसी यू- २३ एसियन कप छनोटको पहिलो खेलमा नेपाल बलियो इराकसँग पराजित भएको छ । ताजकिस्तानको दुसन्बेमा भएको

काठमाडौं । अफगानिस्तानले टी-२० विश्वकपको सुपर-१२ अन्तर्गत पहिलो खेलमा स्कटल्यान्डलाई पराजित गरेकाे छ ।सोमबार शारजाहमा भएको खेलमा स्पीनरद्वय मुजिब उर

काठमाडौँ । आइसीसी टि२० विश्वकपमा पाकिस्तानले सानदार विजयी सुरुवात गरेको छ । दुबईमा आइतबार राति भएको खेलमा भारतमाथि १० विकेटको

एजेन्सी । टी–२० विश्वकपपछि विराट कोहलीले भारतको टी–२० टोलीको कप्तानी छाड्ने भएका छन् । यो संगै उनको नौ बर्ष लामो